साउन ३०, चितवन । चौधरी ग्रूपको भरतपुरमा रहेको सिजी ल्याण्डमार्कले तेस्रो वार्षिकोत्सव मनाएको छ ।
आइतवार चौधरी ग्रूपका सञ्चालक राहुल चौधरीले वार्षिकोत्सवको अवसरमा बोल्दै सिजी ल्याण्डमार्कलाई उपभोक्ताको भरपर्दो बजार बनाइने बताए । उनले चितवनका नागरिकका लागि सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउनुका साथै किनमेल तथा मनोरञ्जनका लागि बजार घुमिरहनुपर्ने बाध्यता सिजी मलले हटाएको दाबी पनि गरे ।
कोभिड महामारीका बेलामा समेत सिजी मलमा उपभोक्ताको चाप सन्तोषजनक रहेकाले आगामी दिनमा समेत अझ बढी विश्वास जित्दै जाने पनि उनले बताए । चौधरी ग्रुपका बरिष्ठ प्रबन्धक नारायण श्रेष्ठले चितवन तथा आसपासका जिल्लाका स्थानीयलाई सिजी ल्याण्डमार्क साथी सरह बनेको बताए ।
उनले शहरभित्रको पनि शहरका रुपमा सिजी ल्याण्डमार्कले अलग्गै पहिचान बनाउन सफल भएको बताए । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले सिजी ल्याण्डमार्कले भरतपुरको गरिमा व्यवसायिक हबको रुपमा चितवनलाई चिनाएको बताए ।
भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले सिजी ल्याण्डमार्कलाई विपन्न देखि उच्च वर्गलाई समेत सेवा दिंदै आएको भन्दै आगामी दिनमा थप सेवा सुविधा दिने विश्वास व्यक्त गरे ।
सिजी ल्याण्डमार्कका निर्देशक इञ्चार्ज राजेन्द्र अर्यालले कोभिडका कारण विगत दुई वर्ष वार्षिकोत्सव मनाउन नपाएपनि पहिलो पटक वार्षिकोत्सव मनाइएको बताए । ल्याण्डमार्कका प्रमुख कार्यकारी अधिकृत उज्वल केसीले वार्षिकोत्सवका अवसर पारेर मनसुन फेष्टिभ अन्र्तगत ५ देखि ४० प्रतिशत छूटको व्यवस्था गरिएको जानकारी दिए ।
सिजी ल्याण्डमार्कमा दैनिक सरदर २ हजार जनाले सेवा लिंदै आएका छन् । सिजी ल्याण्डमार्क १० तले अत्याधुनिक सुविधासम्पन्न अन्तरराष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स हो । अन्तरराष्ट्रिय तथा स्वदेशी उच्चस्तरका ब्राण्डका सामानहरु किनमेल गर्न सकिनेछ । सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभाहल, गेम जोनलगायतका सुविधाहरु यहाँ रहेका छन् ।