ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

भदौ चौथो साता पूर्वाधार सम्मेलन

२०७९ साउन, ३०  
विकास
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं (अस) । कोरोना भाइरस (कोभिड–१९) र रूस–युक्रेन तनावका कारण तरलता र मूल्य वृद्धिले वित्तीय स्रोतमा चाप परेका बेला पूर्वाधारमा लगानी भित्र्यायाउने उपाय खोज्न पूर्वाधार सम्मेलन–२०२२ आयोजना हुने भएको छ । कोभिडपछिको प्रोत्साहन र उच्च अंकको आर्थिक वृद्धि प्राप्त गर्न पूर्वाधारमा लगानी जरुरी भएको भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) ले वित्तीय स्रोत जुटाउन सघाउने सहितका उद्देश्य राखेर सम्मेलन गर्न लागेको हो ।

काठमाडौंमा हुने सम्मेलन २ दिन (भदौ २३ र २४ गते) चल्नेछ । यो परिसंघको चौथो संस्करणको पूर्वाधार सम्मेलन हो । यसअघि सन् २०१४, सन् २०१७ र सन् २०१९ मा उसले यस्तै सम्मेलन गरेको थियो । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी परिसंघले भारतसहित २५ देशका ६०० जनाभन्दा बढीको सहभागितामा चौथो सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएको हो । स्वदेशीसमेत गरेर सम्मेलनमा १ हजारभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

उक्त अवसरमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सन् २०१९ मा गरिएको समीक्षाले पूर्वाधारमा ठूलो लगानीको खाडल रहेको देखाएको बताए । त्यसको पूर्ति नहुँदै कोरोना, मूल्य वृद्धिजस्ता चुनौती देखिएको भन्दै उनले ठूलो लगानी जुटाउने सम्बन्धमा खोजी हुने बताए । ‘अहिले पनि तरलता अभाव र मूल्य वृद्धिले लगानी चुनौतीपूर्ण देखिएको छ,’ अग्रवालले भने, ‘यो खाडल पूरा गर्न निजीक्षेत्रको सहभागिता, सरकार तथा विदेशी लगानीजस्ता स्रोतका लागि गहन छलफल हुनेछ ।’

विगतका तीनओटा संस्करणबाट पूर्वाधार विकासमा सचेतना, पूर्वाधारको बजेटमा बढोत्तरी, प्रोजेक्ट बैंक, नेपाल पूर्वाधार बैंकका साथसाथै सार्वजनिक–निजी साझेदारी (पीपीपी) जस्ता अवधारणा स्थापित भएको अग्रवालको भनाइ छ । यी उपलब्धिलाई बलियो बनाउँदै दिगो पूर्वाधार विकासका साथै हरित पूर्वाधार निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले चौथो संस्करणको सम्मेलन आयोजना हुन लागेको उनले बताए ।

उद्योग, ट्रान्समिशन लाइन, कृषिसम्मका लागि पूर्वाधार जरुरी भएकाले दिगो पूर्वाधार निजीक्षेत्रको माग रहेको उल्लेख गरिएको छ । त्यस अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकरसिंह धामीले कार्गाे र ठूला यातायातमा लगानी कम भएको बताए । परिसंघले आयोजना गरेको सम्मेलनलाई सरकारले सघाउने पनि उनले बताए ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्यहरू र सरकारले विकास निर्माणमा लिएको नीतिलाई सम्मेलनले सघाउने बताए ।

‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ’ नाराका साथ आयोजना गर्न लागिएको सम्मेलन आर्थिक वृद्धिका लागि क्षेत्रीय कनेक्टिभिटीतर्फ पनि केन्द्रित हुने पाण्डेले बताए । सम्मेलनमा लगानी, गुणस्तर, क्षेत्रीय कनेक्टिभिटी, प्रविधिलगायत विषयमा सम्बद्ध क्षेत्रका विज्ञको सहभागितामा शीर्षकगत सत्रहरू पनि सञ्चालन हुनेछन् ।

‘पूर्वाधारमा आगामी ३० वर्षसम्म के के गर्ने, के कति लगानी आवश्यक छ र क्षेत्रहरू पनि छुट्ट्याएर गुरुयोजना पनि बनाउने योजना छ,’ पाण्डेले भने, ‘यसका लागि सरकार, नेपाल लगानी बोर्डसहित अन्य निकायहरूसँग गहन छलफल हुनेछ ।’

नेपालले अहिले पनि २०/३० वर्ष पुरानो प्रविधि विकास निर्माणमा अपनाएको भन्दै नयाँनयाँ पूर्वाधार प्रविधिका विषयमा पनि सम्मेलनमा गहन छलफल हुने उल्लेख गरिएको छ ।

परिसंघको पूर्वाधार कमिटीका अध्यक्ष आशिष गर्गले सरकार र निजीक्षेत्रको सहकार्यमा ठूला पूर्वाधारहरूमा लगानी आवश्यक भएको बताए । सम्मेलनले स्थानीय र अन्तरराष्ट्रिय लगानीकर्तालाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा संवाद केन्द्रित गर्ने र स्रोत परिचालनको चुनौतीलाई कम गर्ने उल्लेख गरिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हुने परिसंघले जानकारी दिएको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement