भदौ २, काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले शुक्रवार (भाेलि) १४ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भाेलि बिहान ११ बजे साधारणसभा गर्ने जनाएकाे छ ।
साधारणसभाले गत आर्थिक वर्षकाे वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभामा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित चार जना सञ्चालकहरूको निर्वाचनसमेत हुनेछ ।
साधारणसभाको विशेष प्रस्तावमा पूँजी वृद्धिको विषय रहेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार साधारणसभाले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा साउन १७ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।