भदौं ७, बुडापेष्ट (हंगेरी) । मौसम विभागको भविष्यवाणी सधैं सही हुन्छ भन्ने हुन्न । कहिलेकाँही मुसलधारे पानी पर्छ भन्ने भविष्यवाणी गरिएको भएपनि टन्टलापुर घाम लाग्छ अनि कहिले ठिक उल्टो । यस्तो खालको गलत भविष्यवाणीका कारण कसैको जागिर नै चैट भएको घटना विरलै हुन्छ ।
तर हङ्गेरीमा भने मौसमसम्बन्धी भविष्यवाणी गलत भएपछि दुई जना शीर्ष मौसम विज्ञहरुको जागिर गुमेको छ । सो प्रक्षेपणका कारण रजानीतिक रुपमै हंगामा मच्चिएपछि दुई शिर्ष अधिकारीहरुको जागिर चैट भएको हो ।
हङ्गेरीको राष्ट्रिय बिदा स्टेफन्स डे मनाउनका लागि शनिवार साँझ यूरोपको सबैभन्दा ठूलो आतिशबाजी गरिँदै थियो । मौसम विभागले विषम मौसम चेतावनी जारी गरेपछि सो कार्यक्रम शुरु हुनु भन्दा ७ घन्टा अगाडि सरकारले कार्यक्रम स्थगित गर्यो । तर विभागको प्रक्षेपणको ठिक उल्टो मौसम शान्त रह्यो ।
यो घटनापछि मौसम विभागका दुई शीर्ष अधिकारीहरु विभागका प्रमुख र उप–प्रमुखलाई बर्खास्त गरिएको छ । मध्य बुडापेष्टमा दानुबे नदीमा शनिबार भन्डै ५ केमी लम्बाई समेटिने गरी २४० ओटा विन्दुबाट करीब ४० हजार ओटा फायरवर्क प्रक्षेपण गर्न ठिक पारिएको थियो । हरेक वर्ष सो कार्यक्रमलाई २० लाख जनासम्मले हेर्थे ।
आफूले मौसम विभागबाट पाएको विषम मौसमी अवस्थालाई उद्धृत गर्दै सरकारले सो कार्यक्रम एक हप्ताका लागि स्थगित गर्यो । तर राष्ट्रिय मौसम सेवाले प्रक्षेपण गरेको वर्षा र आँधीले आफ्नो दिशा परिवर्तन गर्यो । राजधानीको सट्टा पूर्वी हंगेरीमा वर्षा भयो र आँधी आयो ।
प्रक्षेपण गलत भएपछि मौसम विभागले आइतवार आफ्नो फेसबुक पेजमा सभावना ज्यादै कम भएको कुरा भएको र मौसमसम्बन्धी प्रक्षेपणमा कहिलेकाँही अनपेक्षित चिज हुने अनि यो प्रक्षेपणको हिस्सा भएको भन्दै एउटा पोष्टमा माफी पनि माग्यो । सो पोष्ट राख्न निकै ढिला भइसकेको थियो । सोमवार नवप्रवर्तन मन्त्री लोस्ज्लो पाल्कोभिक्सले विभागका प्रमुखहरुलाई तत्कालै लागू हुने गरी बर्खास्त गरे ।
यस घटनाप्रति देशभरबाट मिश्रीत प्रतिक्रिया आइरहेको छ । छिमेकी देश युक्रेनमा युद्ध चलिरहेको अनि घरेलु स्तरमै पनि खर्च कटौती र मितव्ययिताको उपायहरु अपनाइरहेको समयमा सो आतिशबाजी रद्द गर्न भन्दै करीब १० हजार मानिसहरुले एउटा याचिकामा हस्ताक्षर गरेका थिए । तर मौसम अधिकारीहरुको अयोग्यताप्रति सरकारका समर्थकहरु क्रुद्ध छन् । एजेन्सी