ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

सामसङ टेलिभिजनको एसेम्बलिङ नेपालमै, नवलपरासीमा टेलिभिजन उत्पादन प्लान्ट खोलिँदै

२०७९ भदौ, ९  
समाचार प्रविधि विकास
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको टेलिभिजन अब नेपालमै एसेम्बलिङ हुने भएको छ । दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र नेपालको व्यावसायिक घराना गोल्छा ग्रूपको लगानीमा नवलपरासीको भूमहीमा टेलिभिजन उत्पादन प्लान्ट स्थापना हुन लागेको हो । 

उक्त प्लान्टमा सामसङ र गोल्छा ग्रूपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको संयुक्त लगानी हुनेछ । एसेम्बलिङ प्लान्टको पूर्वाधार निर्माणको तयारी शुरू गरिएको छ ।

बुधवार आयोजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्लान्ट शिलान्यास गरेका छन् । उक्त प्लान्टबाट शुरूमा टेलिभिजनमात्रै उत्पादन गर्ने लक्ष्य छ । पछि आवश्यकताका आधारमा उत्पादन बढाउने योजना छ । सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने गरी शुरू गरिएको प्लान्टको पूर्वाधार र प्रविधिमा गरी ५० करोड रुपैयाँ लगानी हुनेछ । उक्त प्लान्टबाट दैनिक विभिन्न आकारका हजार थान टेलिभिजन र त्यसको प्यानलसमेत उत्पादन हुने बताइएको छ । केही दिनमै प्लान्टको फिटिङ शुरू हुने बताइएको छ । 

शिलान्यासपछि मन्त्री बडूले नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको र यसको उदाहरण सामसङको प्लान्ट रहेको बताए । विदेशी लगानी भिœयाउन नेपालले नीतिगत रूपमा सहजीकरण गरेको भन्दै सरकारको होस्टेमा हैंसे गर्न उनले उद्योगीलाई आग्रह गरे ।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका गोल्छा ग्रूपका अध्यक्ष शेखर गोल्छाले सामसङ इलेक्ट्रोनिक्ससँगको २२ वर्ष लामो  व्यापार साझेदारीले नेपालमै टेलिभिजन उत्पादन गर्ने वातावरण बनेको बताए । 

कम्पनीका दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवम् सीईओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेरगर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरुप्रति उपभोक्ताहरुले देखाएको बढ्दो विश्वास एवम् मायाको प्रतिक भएको बताए । उक्त अवसरमा ग्लोबल अध्यक्ष तथा चीफ फाइनान्सिएल अफिसर (सीएफओ) एचके पार्कलगायतको उपस्थिति थियो ।

गोल्छा समूहले नेपालमा सामसङ टेलिभिजनको आयात र विक्रीवितरण गर्दै आएको छ । सामसङ दक्षिण कोरियाका प्राविधिकहरूको सुपरिवेक्षणमा सञ्चालनमा आउने उक्त प्लान्टमा तत्काल १५० जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । 

कम्पनीले विगत लामो समयदेखि नेपाली साझेदारमार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेब र स्मार्टफोनहरु विक्रीवितरण गर्दै आइरहेको छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement