शहरी सौन्दर्य भनेको ठूला सडक मात्रै होइन, फैदलयात्री मैत्री पनि हो । तर, काठमाडौंका सडक फैदलयात्री मैत्री छैनन् । सडक विस्तार गर्ने नाममा भएका फुटपाथ मासियो या सानो बनाइयो । त्यही फुटपाथमा पनि नेपाल विद्युत् प्राधिकरणले पोल र क्याबिनेट राखेर हिँड्न नमिल्ने बनाएको छ । तर, सडकमा गाडी मात्रै गुदाउने सोच भएका नीति निर्माताहरूले फैदलयात्रीलाई बढी सहज बनाउनुपर्छ भनेर सोचेको समेत पाइँदैन । यूरोपतिर सडक मासेर फैदलयात्री र साइकलयात्रीका लागि सहज बनाइँदै छ । तर, हामीकहाँ भने सडक ठूला बनाएर फुटपाथ मास्ने काम भइरहेको छ ।
साँघुरो फुटपाथ छ, त्यही माथि फुटपाथमा क्याबिनेट बक्सको अवरोध छ । ओहोरदोहोर गर्नुपर्यो भने पनि पर्खेर जानुपर्ने बाध्यता छ । फुटपाथबाट सडकमा झरेर पुन: फुटपाथमा उक्लिनुपर्ने बाध्यता छ ।
बिजुलीको तार भूमिगत गर्दा प्राधिकरणले ठाउँठाउँमा बिजुलीको लाइन वितरण गर्न राखेका बक्स अहिले काठमाडौंका अधिकांश ठाउँमा छन् । यसले फैदलयात्रीलाई धेरै ठूलो समस्या दिने गरेको छ । अर्को, सडक खनेर हिलाम्य र धूलाम्य पारिएको छ । सडक खनिसकेपछि त्यसलाई तत्काल पीच गर्नुपर्नेमा महीनौंसम्म बेवास्ता गर्ने गरिएको छ । यो अचाक्ली हो । तर, यसविरुद्ध कसैले आवाज उठाएको पाइँदैन ।
प्राधिकरणले भूमिगत तारको विस्तार गर्ने भनेर काम अगाडि बढाएको थियो । तारको व्यवस्थापन हुन नसक्दा अहिले सडकको छेउमा नै अव्यवस्थित खुला तार पनि छरपस्ट अवस्थामा छन् । त्यसैले सडकमा फैदलयात्रीलाई सहज ढंगले मिल्ने व्यवस्था गरिनुपर्छ । सवारीसाधनलाई मात्र होइन, फैदलयात्रीलाई पनि प्राथिमकतामा राखेर काम गर्नुपर्छ ।
मोहन महर्जन
घट्टेकुला, काठमाडौं ।