नेपालमा धान, गहुँ, मकै, कोदो प्रमुख खाद्यबालीको खेती भए पनि दैनिक खाद्य वस्तुमा चामलको मात्रा अत्यधिक छ । विगतमा आत्मनिर्भर भए पनि अहिले नेपालले धानचामल आयात गर्नुको विकल्प देखिँदैन । खाने बानीमा परिवर्तन गर्ने हो भने केही आयात घटाउन सकिएला अन्यथा उत्पादन बढाउनुको विकल्प छैन । अहिले भारतले चामल, कनिका निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको सीधा असर नेपालीको भान्छामा पर्ने देखिएको छ ।
नेपाल चामलका लागि भारत निर्भर रहेकाले कर बढ्ने बित्तिकै मूल्य पनि बढ्छ । भारतले कर बढाएकाले अब नेपालीको भान्सा महँगो बन्ने निश्चित छ । चामल आयातको तथ्यांक उकालो लाग्दै पनि उत्पादन बढाउन सरकारी प्रयास देखावटीजस्तो मात्रै देखिन्छ । अनुदान दिएर मख्ख पर्ने सरकार किसानलाई समयमा मल उपलब्ध गराउन भने उदासीन देखिन्छ । मलविना उत्पादन कसरी बढ्छ ? उत्पादन नबढे किसानले कसरी लाभ लिन सक्छन् ? दु:ख गरेर उत्पादन गरेको धानविक्रीबाट घाटा भए को खेतीकिसानीमा लाग्छ ? अनि खेतीकिसानीमा लाग्नेको संख्या घट्दै गएको छ तर यन्त्रको प्रयोग बढेको छैन । अनि कृषि उत्पादन कसरी बढ्छ ? खाने मुखको दाँजोमा कृषि उत्पादन नबढेपछि आयात गर्नैपर्ने हुन्छ । तर, आयात गर्न पाइएन भने जनतालाई के खुवाउने ? अहिले विश्वका धेरैजसो मुलुकहरूले खाद्यसंकटको आशंकामा खाद्यान्न निर्यात रोकेका छन् । यसरी निर्यात रोकिएपछि नेपालजस्तो देशले खाद्यपदार्थका जोहो कसरी गर्ला ? त्यसैले यस्तो गम्भीर समस्यामा बौद्धिक बहस गर्नुभन्दा व्यावहारिक धरातलमा रहेर समाधान खोज्न ढिला भइसकेको छ ।
दिनेश कार्की
मण्डिखाटार, काठमाडौं ।