ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्यटनमा आयाम थप्दै बन्दीपुर

२०७९ भदौ, २९  
गण्डकी प्रदेश
Jagdamba Supershine NA

दमौली । बाह्रै महीना शीतल हावापानी । आँखैअगाडि सेताम्मे हिमाल । सूर्योदय र सूर्यास्तको मोहक दृश्य । समुद्री सतहबाट एक हजार ३० मीटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो ।  

कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमीटर डुम्रे हुँदै ८ किलोमीटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जोसुकैको मन लोभिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको रोजाइ बन्छन् ।

सुन्दर हिशृंखला अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएकोले पर्यटकको रोजाइमा पर्छ बन्दीपुर । अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यको खोजी भइरहेको र पर्यटकलाई होमस्टे (घरबास) र सुविधासम्पन्न होटेलको व्यवस्था गरेको बन्दीपुरे बताउँछन् ।

बन्दीपुरमा सुविधासम्पन्न होटेल छन् । बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउँछन् ।

‘२–३ दिनमात्रै बस्ने गरेर आएका पर्यटक पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन्,’ उनले भने, बन्दीपुर घुम्न मात्रै आउनेमध्ये अधिकांश कम्तीमा एक रात बास बस्ने गरेको प्रधानको भनाइ छ । बन्दीपुर पर्यटन विकास समितिले बन्दीपुरको प्रचारका लागि बेलाबेला महोत्सवको समेत आयोजना गर्दै आइरहेको छ । कोभिड–१९ को बन्दाबन्दीका बेला सुस्ताएको बन्दीपुरको पर्यटन अहिले तंग्र्रिने प्रयासमा छ । कोभिडका बेला बन्दीपुर ठप्पै भयो । विदेशी पर्यटकको पनि बाक्लो उपस्थिति रहने यहाँ त्यसबेला विदेशी त के नेपाली पनि देखिएन । ‘कोभिडले पर्यटन व्यवसाय र यहाँका व्यवसायीलाई नराम्ररी प्रभावित बनायो, अहिले बिस्तारै तंग्रिने प्रयास गरिरहेको छ,’ उनले भने, ‘अहिले फाट्टफुट्ट मात्रै पर्यटक छन्, बिस्तारै राम्रो होला ।’

अब सिजन शुरू हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन् । जाडो मौसम शुरू भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्छ । बन्दीपुर आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलबारे जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घर भएकाले पनि विदेशी आकर्षित हुने गरेका छन् ।

मौलिकताको नमूना शहर
बन्दीपुरमा रहेका परम्परागत घरका कारण यहाँको पर्यटनमा टेवा मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउँछन् । काठका बुटा कँुदिएका झ्याल–ढोका, बाहिर इँट्टा देखिने प्यागोडा शैलीका घर बन्दीपुरको मुख्य आकर्षणका रूपमा रहेको थापाको भनाइ छ ।

अठारौं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुंगा बिछ्याइएको बाटो निर्माण गरेको स्थानीय बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको उनले जानकारी दिए ।

गाउँपालिकाले बन्दीपुर रिङरोडभित्र र रिङरोडबाहिर पाँच सय मीटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने थापाले बताए ।
बन्दीपुरको प्राचीनकला तथा संस्कृति झल्किने घरको कारणले नै बन्दीपुर विश्वभर प्रख्यात भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)