भदौ २९, काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आज (बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त शेयरमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिएको छ भने बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा असोज १२ गतेसम्म समय थप हुनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले आईपीओमा मेरो शेयर एप र वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिका वडा न. १, २ र ३ मा मढक्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको विद्युत् आयोजनाको कुल लागत रू.२ अर्ब ३१ करोड रहेको छ भने प्रतिमेगावाट उत्पादन लागत लगभग रु. १७ करोड ८२ लाख रहेको छ ।