ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागलुङ बजारमा पुसभित्रै शुद्ध खानेपानी

२०७९ भदौ, ३०  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

बागलुङ । खानेपानी अभावको समस्या भोग्दै आएका बागलुङ बजारवासीले आगामी पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा धमिलो पानी वितरण गरिएको भन्दै आन्दोलन गरेपछि यहाँका बासिन्दाले आगामी पुसभित्रै शुद्ध खानेपानी पाउने भएका हुन् ।

दूषित पानी वितरण भइरहेको अवस्थामा यहाँका नागरिकले खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थामा तालाबन्दी गरेका थिए । अहिले बागलुङ बजारमा मागको आधा मात्र पानी जिल्लाको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइएको छ । तर टाढाबाट पानी ल्याउँदा पहिरोका कारण पानीको वितरण अनियमित हुने र बर्खाको समयमा हप्तौंसम्म वितरण नहुँदा समस्या भइरहेको छ ।

अहिले वितरण भइरहेको खानेपानीको प्रशोधन गृह भएकाले सोझै मुहानको पानी वितरण भइरहेको छ । उक्त पानी परीक्षणको क्रममा कोलिफर्म भेटिएको थियो । बागलुङ बजारको खानेपानी समस्या वर्षौं पहिलेदेखिको हो । ठूलो लिफ्ट आयोजना २०७५ असारदेखि निर्माण थालिएको हो । आयोजनाले बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धीकरण गरेर वितरण गर्ने योजना छ ।

ढिलोगरी निर्माण भइरहेको लिफ्ट खानेपानी आयोजनाको काम पछिल्लो समय दु्रत गतिमा छ । बागलुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्न भएसँगै शुद्धीकरण गरिएको पानी वितरणको तयारीमा नगर खानेपानी छ । परीक्षण गरिएको पानी पुसभित्रै बागलुङ बजारमा पुर्‍याउने निर्माण व्यवसायीको लक्ष्य छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भइसकेको र मोटर जडानका लागि विद्युतीकरण गर्ने काम भइरहेको इन्जिनीयर विक्रम अधिकारीले बताए । मोटर सञ्चालनका लागि ६३० केभीएको  ट्रान्सफर्मर जडान समेत भइसकेको छ । काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम अन्तिम चरणमा छ ।

निर्माण व्यवसायीका अनुसार योजनाको प्रगति ८५ प्रतिशत  भएको छ । खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ता पानी ल्याउन उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । अधिकतम प्रयास गर्दासमेत बागलुङ बजारवासीलाई वितरण गरेको पानीमा केही सुधार आए पनि शुद्धीकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदासम्म खुवाउन समस्या हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा बताउँछन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)