मोरङ । राष्ट्रिय औद्योगिक सर्वेक्षणको प्रदेशस्तरीय नतीजा सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधवार विराटनगरमा प्रदेश १ स्तरीय नतीजा सार्वजनिक गरेको हो । नतीजा सार्वजनिक गर्दै विभागका निर्देशक विनोदशरण आचार्यले प्रदेश १ मा १२ हजार २२५ उद्योग प्रतिष्ठान रहेको जानकारी दिए । उनका अनुसार देशभर ६० हजार १८५ औद्योगिक प्रतिष्ठान छन् । विभागका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १८ हजार ३३३, लुम्बिनी प्रदेशमा १० हजार ५०८, मधेश प्रदेशमा ७ हजार २७९, गण्डकी प्रदेशमा ६ हजार ८१८, सुदूरपश्चिममा ३ हजार ३८७ र कर्णाली प्रदेशमा १ हजार ६३५ ओटा उद्योग प्रतिष्ठान छन् ।
देशभरका उद्योग प्रतिष्ठानले ३ लाख ८१ हजार ६८७ जनालाई प्रत्यक्ष रोजगारी दिएको सर्वेक्षणले देखाएको छ । यी उद्योग प्रतिष्ठानले तलब भत्ताबापत वार्षिक रू. १ खर्ब ७ अर्ब ८९ करोड २६ लाख ३३ हजार भुक्तानी गरिरहेको सर्वेक्षणले देखाएको छ । रासस