ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मर्जर तथा प्राप्ति : बढीमा १५ दिन शेयर कारोबार रोक्ने टुंगोमा पुग्दै बोर्ड

२०७९ भदौ, ३०  
लगानी
Jagdamba Supershine Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । मर्जर तथा प्राप्तिका लागि बढीमा १५ कार्यदिन मात्र शेयर कारोबार रोक्का राख्ने विषय नेपाल धितोपत्र बोर्डले यसै साता टुंगो लगाउने भएको छ । बोर्डले गत साउन २६ गते नै संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को प्रारम्भिक मस्यौदामार्फत उक्त व्यवस्था गरेको हो । 

बोर्डले सरोकारवालासँगको रायसुझावका आधारमा निर्देशिका लागू गर्ने जानकारी दिएको थियो । सरोकारवाला निकायबाट सुझाव प्राप्त हुन ढिला भएकाले निर्देशिका लागू गर्न ढिलाइ भएको बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए । अध्यक्ष हमालले नेपाल राष्ट्र बैंक र बीमा समितिसँग निर्देशिकाका सम्बन्धमा थप रायसुझाव मागेकोमा हालसम्म प्राप्त नभएको बताए । लामो समय रायसुझावका लागि पर्खेको भन्दै यसै साताभित्र बस्ने बोर्ड सञ्चालक समिति बैठकले यो विषय टुंगो लगाउने अध्यक्ष हमालले जानकारी दिए । 

केही अघिसम्म बैंक, वित्तीय क्षेत्रमा सीमित मर्जर तथा प्राप्ति प्रक्रिया पछिल्लो समय बीमा क्षेत्रमा समेत देखिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा पूँजी वृद्धि गर्नुपर्ने बाध्यताका कारण शुरू भएको मर्जर तथा प्राप्ति प्रक्रिया बीमा क्षेत्रमा पनि सोही कारण शुरू भएको हो । बजारमा आम लगानीकर्ताको आकर्षण बढी देखिने क्षेत्रका कम्पनीकै शेयर कारोबार लामो समय रोक्का रहँदा यसले नकारात्मक असर पर्ने लगानीकर्ताको तर्क छ । उनीहरूले यसको निकास छिटो निकाल्न बोर्डको ध्यानाकर्षण गराउँदै आएका छन् । अहिले मर्जर तथा प्राप्तिका कारण धितोपत्रको दोस्रो बजारमा २७ कम्पनीको शेयर कारोबार रोक्का छ । ६ वाणिज्य बैंक, ५ लघुवित्त, ८ निर्जीवन बीमा र ८ जीवन बीमा कम्पनीको शेयर कारोबार मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का भएको हो ।

मर्जर तथा प्राप्तिको नाममा लामो समय लगानीकर्ताको सम्पत्ति बन्धक बन्न थालेपछि बोर्डका अध्यक्ष हमालको पहलमा यो समस्या समाधान हुन लागेको हो । धितोपत्र बजारमा सूचीकृत कम्पनीमध्ये बैंक वित्तीय संस्थाको बाहेक अन्य समूहका कम्पनीको मर्जर तथा प्राप्ति कार्यका लागि शेयर कारोबार रोक्का राख्नुपर्ने स्पष्ट व्यवस्था नभएपछि बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकसँग छलफल गरेका थिए । राष्ट्र बैंकले शेयर कारोबार लामो समय रोक्का राख्न नहुनेमा सकारात्मक भई त्यससम्बन्धी निर्णय लिने अधिकार बोर्डलाई नै दिएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने विद्यमान प्रावधान खारेज गरी नेपाल धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था गरेको हो ।

बोर्डले उक्त अधिकार प्रयोग गरी तयार गरेको मस्यौदा निर्देशिकामा एकीकृत कारोबार भएको मितिदेखि गाभिने संस्था वा प्राप्त गर्ने संस्थाको शेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायत कामका लागि बढीमा १५ कार्यदिन शेयर करोबार रोक्का राख्ने व्यवस्था गरेको हो । प्राप्त गर्ने संस्थाको शेयर कारोबार रोक्न नपर्ने व्यवस्थासमेत बोर्डले तयार गरेको प्रारम्भिक निर्देशिकामा छ । 

बोर्डले लागू गर्न लागेको उक्त निर्देशिकामा प्रारम्भिक सम्झौता गरेको ६ महीनाभित्र मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । पछिल्लो समय कतिपय कम्पनीले छोटो समयमै मर्जर तथा प्राप्ति प्रक्रिया सम्पन्न गरेको उदाहरणसमेत छ ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक प्राप्त गर्ने प्रक्रिया ६ महीनाभित्र सम्पन्न गरेको थियो । गत पुस २९ गते प्राप्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका यी दुई बैंकले असार २७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । 

निर्जीवन बीमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्स गाभिने प्रक्रिया ३ महीनाभन्दा कम अवधिमा सम्पन्न भएको थियो । यी दुई कम्पनीले वैशाख २२ गते प्रारम्भिक मर्जर सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । प्रारम्भिक सहमतिको साढे २ महीना पनि पूरा नहुँदै यी दुई कम्पनी गाभिएर साउन १ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)