काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राले एमडीएमएस लागू भएकोमा खुसी व्यक्त गर्दै याे अवसरमा ५० हजार मोबाइल व्यवसायीहरूले दीपावली गर्ने बताएका छन् ।
बिहीवार मोबाइल डिभाइस म्यानेजमेण्ट सिष्टमको शुभारम्भ कार्यक्रममा उनले यस्ताे बताएका हुन् । साथै उनले मोबाइल फोनको आयातमा लगाइएको प्रतिबन्ध पनि तत्काल खोल्नुपर्ने बताए । सरकारले हचुवाको भरमा मोबाइल फोन आयात रोकेको उनकाे भनाइ छ ।
उनले मोबाइल फोन आयात बन्द हुँदा बजारमा मोबाइल आयातमा ठूलो विकृति बढेको बताए। अध्यक्ष मलहोत्राले नेपालमा ५० प्रतिशतभन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट नेपाल भित्रिने गरेको भन्दै धेरै लामो समयको प्रयासपछि मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु भएकाले अवैधरूपमा भित्र्याएका मोबाइल बन्द हुने बताए ।
अध्यक्ष मलहोत्राले सरकारले मोबाइल फोनको आयात बन्द गर्दा अवैध आयात बढेको बताए । उनले नेपालमा वार्षिक ५५ अर्बभन्दा बढीको आयात हुने भए पनि यो वर्ष २७ अर्ब रूपैयाँको मोबाइल फोन आयात हुने गरेको उल्लेख गरे। वैधानिकरूपमा मोबाइल आयात बन्द गर्दा अवैधरूपमा नेपालमा आयात २८ अर्बको हुने दाबी गरे। मलहोत्राले सरकारलाई मोबाइल फोन आयात गर्दा २५ प्रतिशत अर्थात् ७ अर्ब रूपैयाँ बराबरको राजश्व गुमेको बताए ।
नेपालमा ७० प्रतिशत वैधानिकरूपमा र ३० प्रतिशत अवैधरूपमा मोबाइल फोन आयात हुने गरेको छ । उनले मोबाइल फोन आयात खोल्नको लागि सरकारलाई बारम्बार ध्यानाकर्षण गर्दा समेत व्यवसायीहरूको कुरा नसुनेको उनको भनाइ थियो । अवैधरूपमा नेपालमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडीएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरूले एक दिन दीपावली बनाउने घोषणा गरे । मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडीएमएस लागू हुनु मोबाइल व्यवसायीहरूको जित भएको उनको तर्क छ ।
‘अहिले तीन सय डलरभन्दा माथिका मोबाइल फोन आयात बन्द छ । यो फोन बन्द हुँदा मोबाइलमा ठूलो विकृति थियो । ५० प्रतिशतभन्दा बढी मोबाइल फोनहरू चोरी पैठारीबाट मोबाइल फोनहरू नेपाल भित्रिने गरेका थिए । आजबाट अवैधरूपमा नेपाल भित्रिएका मोबाइलहरू बन्द हुन्छन् । मोबाइल फोन विलासिताको वस्तु होइन । मोबाइल फोन आयात खोल्नुपर्छ । नेपालमा वार्षिकरूपमा ५५ अर्ब बराबरको माेबाइल आयात हुन्छ । सन् २०२१ मा कानूनीरूपमा ३८ अर्ब रूपैयाँको माेबाइल आयात भएको थियो भने करिव १७ अर्बकाे अवैध रूपमा आयात भएको देखिन्छ ।
नेपालमा ७० प्रतिशत वैधानिकरूपमा र ३० प्रतिशत अवैधरूपमा आयात हुने गरेको छ । मोबाइल फोन आयात बन्द गर्दा २७ अर्बको मात्रै आयात हुने रहेछ । २८ अर्ब रूपैयाँको अवैध मोबाइल फोन आयात हुने रहेछ । अवैध मोबाइल आयात गर्दा राज्यले २५ प्रतिशत अर्थात् ७ अर्ब रूपैयाँको राजश्व गुमाएको देखिन्छ । डलरमा करिव २२ करोड डलर आयात रोकिएको देखिन्छ । सरकारले दीर्घकालीन असर नहेरी हचुवाको भरमा मोबाइल फोन आयात बन्द गरेको छ । राज्यलाई धेरै पटक ध्यानाकर्षण गर्यौं । तर, सरकारले व्यवसायीहरूका कुरा सुन्ने गरेको छैन । यो खुशीयालीमा ५० हजार मोबाइल व्यवसायीहरुले दीपावली मनाउँछौं,’ उनले भने ।
चार वर्षको लामो समयको प्रयासपछि सरकारले बिहीवारदेखि अवैधरूपमा आयात भएका मोबाइल सेटहरूमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस शुरु गरेको छ । नेपालमा चोरी पैठारी तथा अवैधरूपमा भित्रिने मोबाइल सेटहरूको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट प्रणाली कार्यान्वयनमा ल्याएको हो । यो प्रणाली लागू भएसँगै नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने भएको छ । दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन् । यो प्रणाली लागू हुनुअघिका मोबाइल स्वतः चल्नेछन् भने प्रणाली लागू भएपछिका सबै मोबाइल दर्ता गर्नुपर्ने भएको छ ।