ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंकाे अग्रिम टिकट बुकिङ : नयाँ बसपार्कमा अघिल्ला वर्षहरूजस्तो देखिएन चहलपहल [फोटो फिचर] 

२०७९ असोज, १  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रकाश केसी

काठमाडौं । दशैंलाई लक्षित गरी आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला भएको छ । तर, अग्रिम टिकट बुकिङ खुलाएको पहिलो दिन काठमाडौं, गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिन आउनेहरूको चहलपहल अघिल्लो वर्षजस्तो देखिएको छैन । 

अग्रिम टिकट बुकिङ गर्न आउनेहरू अघिल्ला वर्षहरूभन्दा ह्वात्तै घटेको नयाँ बसपार्कको टिकट काउन्टरमा खटिएका कर्मचारीहरू बताउँछन् । सुदूरपश्चिम यातायात व्यवसायी संघको नयाँ बसपार्क इन्चार्ज मीन पनेरू अग्रिम टिकट बुकिङ गर्न आउनेहरू अघिल्ला वर्षहरूभन्दा ४० प्रतिशत घटेको बताउँछन् । ‘पहिले अग्रिम टिकट बुकिङ खुलेकै दिन नयाँ बसपार्कमा निकै भिडभाड हुन्थ्यो । अहिले पहिलेको तुलनामा ६० प्रतिशत मान्छेहरू मात्रै टिकट बुकिङ गर्न आएका छन्,’ उनी भन्छन् । 

बिग्रिएका सडक, हवाई यात्रामा बढ्दो पहुँचलगायत कारण अग्रिम टिकट बुकिङ गर्न आउनेहरू घटेको हुन सक्ने उनको भनाइ छ । ‘सडकमा जताततै खाल्डाखुल्डी छन्, जसका कारण यात्रा असहज हुने गरेको छ,’ उनी भन्छन्, ‘अर्काेतर्फ हवाई यात्राको पनि पहुँच बढेको छ ।’ पछिल्लो समय निजी गाडीमा ओहोरदोहोर गर्ने बढेको र दोहोरो घर भएकाले पनि अग्रिम टिकट बुकिङ गर्नेहरू कम आएको हुन सक्ने उनको भनाइ छ । यद्यपि, केही दिनपछि टिकट बुकिङ गर्न आउनेहरू बढ्न सक्ने उनी अनुमान गर्छन् । 

यातायात व्यवस्था विभागले नयाँ बसपार्कसँगै सुनधारा बस काउन्टरबाट दशैंका लागि अग्रिम टिकट बुकिङ गर्न सकिने जनाएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो । 

दशैंका लागि उपत्यकाबाट २० लाखभन्दा बढी मानिस बाहिरिने गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)