न्यूयोर्क (अमेरिका) । विश्व बजारमा सुनको भाउ घटेर दुई वर्षयताकै न्यून स्तरमा ओर्लिएको छ । शुक्रवारको कारोबारमा एक विन्दुमा सुनको भाउ घटेर प्रतिऔंस सुनको भाउ १ हजार ६ सय ५५ डलरसम्म आएको थियो । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा उच्च वृद्धि गर्नु पर्ने अपेक्षा बलियो बनेसँगै सुनको भाउ घटेको हो । सुनसँग विपरित सह–सम्बन्ध ठानिएको डलर मजबूत हुँदा पनि सुनको भाउ दबाबमा आएको हो ।
ऋणपत्रको प्रतिफल थप बढ्ने अपेक्षाबीच लानीकर्ताहरूले सुनमा आफूले गरेको लगानी धमाधम बेचेर डलरमा आधारित अन्य सम्पत्तिमा लगानी गर्न थालेकोले पनि सुनको भाउ ओरालो लागेको हो । हालसालै सुनले केही टेको पाइरहेको थियो । तर, हालैका दिनमा भने यो तलतिर ओर्लिएको अनि यसमा टेक्निकल ट्रेडिङको पनि भूमिका रहेको विश्लेषकहरूले बताएका छन् ।
अमेरिकामा उपभोक्ता मनोबल सूचक लगायतका नकारात्मक आर्थिक समाचारहरूले अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा उच्च वृद्धि गर्ने अपेक्षा थप बलियो बनाएको छ । शुक्रवार एउटा विन्दुमा सुनको भाउ घटेर प्रतिऔंस १ हजार ६५४ डलरसम्म आएको थियो । यो मार्चको उच्च विन्दुको तुलनामा शुक्रवार सुनको भाउ १९ प्रतिशत तल हो भने यो वर्षको शुरुको तुलनामा भने यो ८ प्रतिशत कम हो ।
शुक्रवार बजार बन्द हुँदा भने स्पट गोल्डको भाउ केही सुध्रिएर प्रतिऔंस १ हजार ६७५ डलर २२ सेन्टमा आएको थियो । यो अघिल्लो दिन बजार हुँदाको तुलनामा १ दशमलव ३२ प्रतिशत कम हो । अन्य कमोडिटिजको भाउ भौतिक मागका आधारमा तलमाथि हुने गरेको छ । तर, सुनको भाउ भने आर्थिक प्रवृत्तिहरूका आधारमा परिवर्तन हुने गर्दछ ।
अमेरिकाको उपभोक्ता मूल्य सूचक, सुस्त रोजगारी सृजना र ब्याजदर वृद्धिको प्रक्षेपणले सुन बजारमा दबाब सृजना गरिरहेको छ । लगानीकर्ताहरूले अहिले ऋणपत्र र डलरमा आधारित सम्पत्तिको अवस्था हेर्दै यी दुईबीच सन्तुलन बनाएर लगानी गरिरहेको विश्व स्वर्ण परिषद्का प्रमुख बजार रणनीतिज्ञ जोसेफ काभाटोनी बताउँछन् । मूल्य प्रदर्शनको आधारमा सुन बजारमा यो हप्ता तीव्र कमी आएको छ ।
डलर बलियो बन्दा डलर बाहेकका अन्य मुद्रा बोक्नेहरूका लागि डलरमै किनबेच हुने सुन, तेललगायत अन्य कमोडिटिज थप महँगो बनेको छ । सुन बजारले सामाना गरिरहेको अवरोध र चुनौतीहरू यति धेरै हुँदा पनि यसको भाउले राम्रै टेवा पाएको बताउँछन् बीएमओ क्यापिटल मार्केट्समा कमोडिटिज विश्लेषक कोलिन ह्यामिल्टन ।
सुनलाई परम्परागतरूपमा दीर्घकालीन मुद्रास्फीति विरुद्ध हेजिङको रूपमा लिने गरिन्छ । तर, अल्पकालीन अवधिमा यस्तो नहुन पनि सक्छ । यो वर्षको सुन बजारको अवस्था दोस्रो खालको छ । अमेरिकाको सरकारी ऋणपत्रको प्रतिफलमा भइरहेको वृद्धिका कारण सुनको भाउ प्रभावित भइरहेको छ ।
अहिले सबै सूचकांकहरू सुनको लागि सकारात्मक नरहेको क्यानाक्कोर्ड जेन्यूनिटीमा माइनिङ विश्लेषक अलेक्स बेडवानी भन्छन् । आर्थिक सुस्ती र उच्च स्तरमा उक्लिएको मुद्रास्फीतिको प्रभावका कारण आगामी वर्षहरूमा भने सुन सञ्चिति गरेर राख्न सुरक्षित हुने तर्क अर्काथरी विश्लेषकहरूले गरिरहेका छन् । एजेन्सी