ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपालमा औद्योगिक विकास सही ढंगले अघि बढ्न सकेन

२०७९ असोज, १  
अन्तरवार्ता
Image Not Found

करीब ४० वर्षअघि स्थापित लक्की ग्रूप विभिन्न उद्योग व्यवसायमा संलग्न छ । व्यापारबाट शुरू भएको यो समूह औद्योगिक गतिविधिमा विशिष्टीकृत बन्दै गएको छ । साथै अन्य व्यावसायिक घरानाहरूसँगको सहकार्यमा समेत कम्पनीका उद्योग व्यवसाय सञ्चालनमा छन् । प्रस्तुत छ, यस समूहका अध्यक्ष सतीशकुमार मोरसँग उनको व्यावसायिक पृष्ठभूमि, समूहले गर्दै आएका उद्योग व्यवसायको अवस्था, नेपालमा उद्योग क्षेत्रका चुनौती, अवसरलगायत विषयमा आर्थिक अभियानले गरेको कुराकानीको सार :


तपाईंको पारिवारिक तथा व्यावसायिक पृष्ठभूमिका बारेमा बताइदिनुस् न । 
मेरो बुवाको नाम मुरलीधर अग्रवाल हो । हामी चार दाजुभाइ र दुई दिदीबहिनीहरू छौं । बुवाआमाको स्वर्गारोहण भइसकेको छ । मैले वीरगञ्जको त्रिभुवन विद्यालयबाटै एसएसलसी उत्तीर्ण गरेँ । ठाकुरराम बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेँ । केही वर्ष भारतको बनारस हिन्दू विश्वविद्यालयमा पनि अध्ययन गरेँ । व्यावसायिक पृष्ठभूमिको कुरा गर्नुपर्दा वीरगञ्जमा इन्टरनेशनल ट्रेड हाउस नाममा हाम्रो विदेशी सामानको व्यापार थियो । त्यो नै हाम्रो व्यावसायिक यात्राको पहिलो खुड्किलो थियो । त्यसपछि काकासँग मिलेर बाराको परवानीपुरमा चारओटा उद्योग (रजत राइस मिल, स्वर्ण दाल मिल, नारायणी पोलिथिन उद्योग र कञ्चनजंघा छाला उद्योग) स्थापना गरेका थियौं । तर, यतिमै मात्र म सन्तुष्ट थिइनँ । यसैबीच सन् १९८० मा मेरो विवाह भयो । त्यसपछि बेग्लै व्यवसाय गर्ने निधो गरेँ, अनि बुवाआमाको सल्लाह अनुसार नै काठमाडौं आएर शुरूमा टायरको पसल खोलेँ ।

टायरकै व्यापार रोज्नुको कारण चाहिं के थियो ? 
भारतमा त्यतिखेर डनलप इन्डिया भन्ने बेलायतको सब्सिडियरी कम्पनी थियो । उसले त्यतिबेला आफ्ना उत्पादनहरू विक्रीका लागि काठमाडौंमा राम्रो र बलियोे वितरक खोजिरहेको थियो । सोही समयमा वीरगञ्जमा पनि मेरो बुवाको साथीले टायरको व्यवसाय गरिरहनु भएको थियो । अनि उहाँसँग सल्लाह लिएर सन् १९८१ को मार्चदेखि काठमाडौंको टेकुमा डनलपको डिलरशिप लिएर टायरको व्यापार शुरू गरेको हो । 

त्यसपछि कसरी अघि बढ्यो त व्यवसाय ?
म र मेरो भाई श्रवणकुमार मोर मिलेर टायरको पसल खोल्यौं । आज पनि मलाई यसको व्यापार गर्दाको समय ताजा स्मरण हुन्छ । किनभने त्यस समयमा पसल खोलेको १५ दिनसम्म पनि कोही कसैले यो पसल के को हो ? के व्यापार गर्छ ? भन्ने बारेमा सोधपुछ समेत गरेन । यसबाट हामी हतोत्साही पनि भएका थियौं । पछि विस्तारै व्यापार बढ्न थाल्यो । त्यो समयमा हामी स्थानीय व्यापारीबाटै माल किनेर बेच्थ्यौं । सन् १९८३ मा म चीनको खासा गएको थिएँ । त्यसपछि अब आयातको व्यापार शुरू गर्नुपर्छ भन्ने लाग्यो । सन् १९८६ देखि आयात व्यापार पनि शुरू गर्‍यौं । म र मेरो साथी रमेश गुप्ता मिलेर लक्की ग्रूप स्थापना गर्‍यौं । त्यसपछि टायरमात्र होइन, विभिन्न किसिमका विद्युतीय सामानका साथै घरायसी उपकरण आयात गरेर विक्री गर्न थाल्यौैं ।

 

देशमा औद्योगिकीकरणको प्रक्रियालाई जुन दिशा दिनुपर्दथ्यो, त्यो निरन्तरता कायम हुन सकेन । 
 

पछि तपाईंहरूको सक्रियता उत्पादन क्षेत्रतर्फ बढेको देखिन्छ । यो कसरी सम्भव भयो ?
एकपटक हामी चीन गएका थियौं । त्यहाँ कमल बेगानीलगायत साथीहरूबीच नेपालमा उद्योग स्थापना गर्नुपर्छ भन्नेबारे छलफल भयो । नेपालमा आयातकर्ताको इज्जत छैन भन्ने लागिरहेको थियो । सन् १९९४ तिर नन्दन वनस्पति घ्यू उद्योग स्थापना गर्‍यौं । त्यसपछि सन् १९९६ मा नेपाल र भारतबीच व्यापार सम्झौता भयो । त्यो सम्झौताको कारण हामीलाई केही सहज भयो । तर उद्योग सञ्चालनमा भने समस्या भयो । उद्योगको कुन काम कसले सम्हाल्ने भन्ने निर्णय भएको थियो । तर निर्णय गर्ने सवालमा उत्पन्न विरोधासले कम्पनी घाटामा जान थाल्यो । कम्पनीमा कुनै एउटा जिम्मेवार व्यक्ति भएन भने व्यवसायमा ठूलो असर पर्ने रहेछ । नोक्सानी बढ्न थालेपछि छलफल हुँदा मलाई नै कम्पनी चलाउने जिम्मेवारी आयो । नेपाल भारत व्यापार सम्झौता भएकाले भारततर्फ निर्यात पनि हुन थाल्यो । तर पछि अब यसरी पनि हुँदैन भन्ने लाग्यो । उद्योग एक जनाले मात्र कसरी चलाउने भन्ने बारेमा छलफल हुँदा मैले र रमेश गुप्ताजीले कम्पनीको शेयर विक्री गर्‍यौं र कमल बेगानीजीले एकल लगानीमा त्यो कम्पनी सञ्चालन गर्न थाल्नुभयो ।

 

त्यसपछि कुन व्यवसायमा लाग्नुभयो ? 
त्यो उद्योग (वनस्पति घ्यू उद्योग) विक्री गर्ने निर्णय हामीले २०–२५ मिनेटमै गरेका थियौं । सन् १९९८ मा हामीले नयाँ सोच र मेहनतका साथ गणपति वनस्पति उद्योग स्थापना गर्‍यौंं । यो उद्योग अहिले पनि सञ्चालनमा छ । लगत्तै बुटवलमा लुम्बिनी विद्युत् उद्योग विक्रीमा रहेको खबर पायौं र खरीद गर्‍यौं । त्यो एकदम पुरानो उद्योग थियो । त्यो उद्योग पनि चालू नै छ । यो उद्योगबाट अल्मुनियम वायर उत्पादन हुन्थ्यो । पछि इनामेल वायरको पनि उत्पादन थालियो ।


सिमेन्ट उद्योगमा चाहिं कसरी आउनुभयो ?
मेरो नजिकका एकजना साथीले विराटनगरमा ग्राइन्डिङ युनिट चलाएका थिए । त्यसमा विराटनगरका अन्य साथीहरूको पनि लगानी थियो । अलग अलग विचारधारा भएका व्यक्तिको लगानी भएकाले उद्योग सहज रूपमा चल्न  सकेको थिएन । लगानीकर्ताबीच नै वैमनस्य थियो । त्यस क्रममा मलाई नै उहाँहरूले ‘तपाईं आइदिनु पर्‍यो’ भनेर आग्रह गर्नुभयो । त्यस समयमा त्यो उद्योगको उत्पादन क्षमता दैनिक १०० टन थियो । त्यो नै सिमेन्टतर्फको मेरो पहिलो पाइला थियो । त्यसपछि सुरेन्द्र गोयलसँग मिलेर सिमेन्टतर्फ केही गर्नुपर्छ भनेर अगाडि बढ्यौं । उद्योगको क्षमता बढाएर दैनिक ५०० टन पुर्‍याउने हाम्रो सोच थियो । यो काम गर्न मलाई परिवारको पनि साथ÷सहयोग थियो । कालान्तरमा १२ सय टन क्षमतामा विस्तार गर्‍यौं । यसमा अन्य व्यापारिक समूहलाई पनि सहभागी गरायौं । उहाँहरू  शिवरतन शारदा र रघुनन्दन मारू हुनुहुन्थ्यो । उहाँहरूको सोच पनि सिमेन्टमै लगानी गर्ने भन्ने थियो । उहाँहरूले जग्गा हाम्रै छेउमा सिमेन्टकै लागि भनेर खरीद गर्नुभएको रहेछ । त्यसैकारण सबै मिलाएर १२ सय टन क्षमतामा उद्योग विस्तार गरेका हौं । त्यो बेलामा चारओटा व्यापारिक घराना संलग्न थिेए, जसमा मेरो लक्की ग्रूप, मारू ग्रूप (रघुनन्दन मारू), शारदा ग्रूप (शिवरतन शारदा) र गोयल ग्रूप (सुरेन्द्र गोयल) थिए । यो नै शिवम् सिमेन्टको शुरुआत थियो ।


शिवम् सिमेन्टको बारेमा थप प्रष्ट पारिदिनुस् न । कहिलेदेखि शुरू भयो ? अहिले कुन अवस्थामा छ ?
यो उद्योग सन् २००३–२००४ देखि सञ्चालनमा आएको हो । त्यो समयमा उद्योगको ग्राइन्डिङ गर्ने क्षमता दैनिक ७०० टन र क्लिङ्कर उत्पादनको क्षमता १२ सय टन थियो । मैले प्रडक्शनको जिम्मेवारी लिएपछि क्लिंकर उत्पादन क्षमता दैनिक १९ सय टन पुर्‍याएँ । र, ३ हजार टन ग्राइन्डिङ क्षमतामा स्तरोन्नति गरेँ । आजसम्म सोही क्षमतामा चलिरहेको छ ।

अब स्वदेशमा सिमेन्टको खपत पनि बढाउनुपर्छ । साथै, निर्यात बढाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ ।
 

तपाईं पछि होङ्सी सिमेन्टमा पनि जोडिनुभयो । यसबारे पनि बताइदिनुस् न ।
चीनभरि होङ्सी ग्रूपका ४२ ओटा उद्योग सञ्चालनमा छन् । उनीहरूले आफ्नो देश बाहिर पनि लगानी विस्तार गर्न खोजिरहेका थिए । त्यसबेला त्यहाँको नियामकले सो कम्पनीलाई अन्य सिमेन्ट उद्योग चलााउन लाइसेन्स नदिने निर्णय गरेको थाहा भयो । चीनमा थप उद्योग स्थापना गर्न नपाइने भएकाले उनीहरूले कसरी बाहिरी मुलुकमा जाने भन्ने अध्ययन गरिरहेका थिए । त्यही क्रममा नेपालका उद्योगीहरूसँग उनीहरूले छलफल शुरू गरेका रहेछन् । हामीसँग पनि कुराकानी भयो र अन्ततः उनीहरूले शिवम् सिमेन्टलाई नै छनोट गरे । त्यो बेला कसरी काम गर्ने, कति लगानी गर्ने, कतिओटा प्लान्ट लगाउने, कसले कति लगानी गने भन्ने बारेमा विभिन्न चरणमा वार्ता र छलफल भए । यो विषयमा उनीहरूले आन्तरिक रूपमा पनि छलफल गरे । विभिन्न वार्ता र छलफलको चरणपछि नेपालमा होङ्सी शिवम् सिमेन्ट उद्योग शुरू भयो । 


होङ्सी शिवमको स्वामित्व संरचना अहिले कस्तो छ ?
शिवम् सिमेन्ट कम्पनी स्थापना गर्दा हामी चार ग्रूप मात्र थियौं । उत्पादन शुरू गरिसकेपछि मुन्दडा ग्रूपलाई पनि लगानीका लागि बोलायौंं । उहाँहरूलाई देवनारा ग्रूप पनि भनिन्छ । पछि हामीले केही शेयर बेचेर भिमसरिया ग्रूपलाई पनि सामेल गरायौं । भनाइको अर्थ शिवम् सिमेन्ट उद्योग ६ ओटा ग्रूपबाट सञ्चालन भइरहेको छ । त्यही कम्पनीबाट होङ्सी शिवम्मा ३० प्रतिशत लगानी गर्‍यौं भने बाँकी ७० प्रतिशत लगानी होङ्सी ग्रूप (चाइना) को छ । ३० प्रतिशतमा पनि शिवम् कम्पनीको करीब २६ हो कि २८ प्रतिशत शेयर स्वामित्व छ । बाँकी चाहिँ विनोद श्रेष्ठ र दीपक झाको रहेको छ । 

नेपालका ६ ओटा व्यावसायिक समूह र चीनको समेत गरी सात ओटाको लगानी भएको देखियो । नेपालमा संयुक्त लगानीको संस्कृति नै नभएको अवस्थामा कम्पनीको अवस्थाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यसको प्रारम्भमा सक्रिय रूपमा लागेको थिएँ । तर विगत एक वर्षदेखि सञ्चालक समितिमा छैन । सञ्चालक समितिमा हामीहरूको तर्फबाट दुईजना डाइरेक्टरहरू विश्वनाथ गोयल र शिवरतन शारदाले प्रतिनिधित्व गर्नुहुन्छ । होङ्सीको बोर्डले बोल्ड निर्णय गर्नुपर्दा हामी उहाँहरूसँग छलफल बस्छौं र निष्कर्षमा पुग्छौं । स्थानीय समस्याको समाधान वा अन्य प्रकारका निर्णय हाम्रै संलग्नतामा हुन्छ । उत्पादन, व्यवस्थापन तथा दैनिक कार्य वा उद्योग सञ्चालनमा उहाँहरू पनि हुनुहुन्छ । यसमा हामीलाई कुनै पनि समस्या छैन । 


भिन्न संस्कृति र व्यापारिक माहोल पनि नभएको नेपालमा उनीहरूलाई ज्वाइन्ट भेन्चरमा नेपाल भित्र्याउन कत्तिको सहज थियो ? यहाँसम्म आइपुग्न कसरी सम्भव भयो ?
जबसम्म तपाईं हाम्रो विचार र उद्देश्य समान हुन्छन्, तबसम्म कुनै समस्या हुँदैन ।  हामी सोचविचार नगरी यो उद्योगमा हाम्फालेका होइनौं । उनीहरू पनि नेपालमा लगानीका सम्भावना र अवसर छन् भन्ने देखेरै आएका हुन् । हामीले पनि होङ्सीको बारेमा राम्ररी बुझिसकेका थियौं । मुख्यतः हाम्रो विचार, सिद्धान्त र उद्देश्य मिलेरै सहकार्य सम्भव भएको हो । त्यसो हुँदा बीचमा खासै समस्या पनि आउँदैन । आयो भने पनि सँगै बसेर, छलफल गरेर टुंगोमा पुग्छौं, पुगेका पनि छौं ।
 
शिवम् सिमेन्ट स्थापनाअघि कुन - कुन कम्पनी सञ्चालनमा ल्याउनु भएको थियो ? त्यो बेलाको व्यावसायिक यात्रा कस्तो थियो ?
शिवम् सिमेन्ट उद्योगको स्थापनाअघि हामीले न्यू प्लाष्ट इन्डष्ट्रिज नामक प्लाष्टिक उद्योग सञ्चालनमा ल्याएका थियौं । यो अहिले पनि सञ्चालनमा छ । त्यसबाहेक बैंकमा पनि मेरो लगानी विस्तार भयो । केही साथीहरू मिलेर बैंक अफ एशिया स्थापना गर्‍यौं । त्यसमा म संस्थापक थिएं । बैंकमा मैले पनि सञ्चालकको हैसियतमा पाँचवर्षे कार्यकाल पूरा गरेँ । त्यसपछि बैंक अफ एशिया र एनआईसी बैंक मर्ज भएपछि म सञ्चालक समितिबाट बाहिरिएँ । 

विकेन्द्रित संरचना भएकै कारण हाम्रो प्रगति विस्तार भएको हो ।
 


शिवम् सिमेन्ट उद्योग सन् २००३ मा शुरू भयो । उत्पादन भने २०११ देखि भएको देखिन्छ । यो बीचमा के कस्ता चुनौती थिए ?

चुनौती त भइहाल्छन् । तर सकारात्मक सोच लिएर कुनै काम गर्ने हो भने जस्तोसुकै चुनौती पनि चिर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । यो त हामीले पहिले नै प्रमाणित गरिसकेका छौं । कुनै कामलाई चुनौतीको रूपमा लिएर काम गर्ने वातावरण बनाएकै कारण हामीले आज उत्पादन तथा सेवा क्षेत्रमा सफलता प्राप्त गरेका हौं । 


तपाईंले नेपाल उद्योग परिसंघ (सीएनआई) को नेतृत्व पनि गर्नुभयो ? परिसंघको नेतृत्व चाहिं किन गर्नुभयो ?
सीएनआईभन्दा अगाडिको कुरा जानकारी गराउँछु ।  म काठमाडौं आएदेखि नै कुनै न कुनै रूपमा नेतृत्वदायी भूमिकामा थिएँ । शुरूमा म टायर एशोसिएशनको पदाधिकारी थिएँ । त्यसपछि नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएशनमा पनि आबद्ध भएँ । नेपाल फरेन ट्रेड एशोसिएशनको विभिन्न पदाधिकारी भएर पनि काम गरेँ । पछि अध्यक्ष नै भएँ । लियो र लायन्स क्लबमा पनि अध्यक्ष भएर काम गरेँ । नेतृत्व लिएर केही काम गरौं भन्ने भावना भएकै कारण धेरै संस्थामा काम गर्ने मौका पाएँ । सीएनआई स्थापना हुँदा पनि मैले विभिन्न पदमा रहेर काम गरेँ । पछि अध्यक्ष भएर पनि सक्रियताका साथ काम गरेँ । सीएनआईको अध्यक्षको कार्यकाल तीन वर्षको थियो । मेरै कार्यकालमा साथीहरूसँग छलफल गरेर विधान नै परिवर्तन गरेर सीएनआईमा अध्यक्षको कार्यकाल दुई वर्षको बनाएको हो ।


सीएनआईमा अध्यक्षको रूपमा आफ्नो भूमिका निर्वाहलाई कसरी लिनुभएको छ ?
मेरो कार्यकालमा विश्वभर नै कोरोना महामारी आयो । यसबाट नेपाल पनि बच्न सकेन । तर हामीले रत्ति पनि खुट्टा कमाएनौं । बरु यो अवधिमा हामीले के भूमिका निर्वाह गर्नुपथ्र्यो, त्यो गर्‍यौं । आफ्ना काम कर्तव्यहरू सामाजिक उत्तरदायित्व (सीएसआर) को आधारमा होस् वा सामाजिक सेवा अन्तर्गत सातओटै प्रदेशमा पूरा गर्‍यौं । त्यो समयमा सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय गरेर न्यूनतम आधारभूत सेवाको आवश्यकता रहेका क्षेत्रमा के कसरी सहयोग गर्न सकिन्छ भनेर काम गर्‍यौं । त्यो समयमा नेपालमा अक्सिजन सिलिण्डरको एकदमै आवश्यकता थियो । मानवीय आधारभूत आवश्यकता पूरा गर्न पनि हामीले चीनमा होङ्सी ग्रूपका अध्यक्षलाई फोन गरेर अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्न अनुरोध गर्‍यौं । लगत्तै हामीलाई २ करोड रुपैयाँ बराबरको कन्सन्ट्रेटर प्राप्त भयो । यसबाहेक नेपालको अर्थतन्त्र निर्माणको क्षेत्रमा पनि सीएनआईले केही न केही काम गरेको छ भन्ने लाग्छ । नेपालको अर्थतन्त्रको नीति कस्तो हुनुपर्छ भन्ने बारेमा सरकारलाई बारम्बार सुझाव दियौं । अर्थतन्त्रका समस्या मात्र देखाएनौं, समाधानका उपाय पनि बतायौं । यसका लागिका सीएनआईले रिसर्च टिम नै बनाएर काम गर्‍यो । हामीले गरेको रिसर्चका आधारमा समय समयमा सरकार, अर्थमन्त्री र गभर्नरलाई सल्लाह/ सुझाव दियौं, जुन अनुसन्धानबाट प्रमाणित तथ्यमा आधारित थियो । यो सुझाव र सल्लाह अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायत निकायबाट कार्यान्वयनमा पनि आएका छन् । हामीले निजीक्षेत्रको तर्फबाट यस्ता सुझाव र सल्लाह दिने क्रम अहिले पनि कायमै छ ।

तपाईंले निजीक्षेत्रको अग्रपंक्तिमा रहेर काम पनि गर्नुभयो । यो हिसाबले नेपालको म्यानुफ्याक्चरिङ क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?
यसको बारेमा बताउन पछाडि फर्कनुपर्ने हुन्छ । नेपालमा एउटा समय यस्तो आएको थियो, जसमा हामीले आयात गथ्र्यौं, राजस्व सृजना हुन्थ्यो, त्यसबाट खर्चहरू गरिन्थ्यो र उत्पादित माल अन्ततोगत्वा भारतमै जान्थ्यो । त्यसपछि २०५२ सालमा नेपालमा भ्याट (मूल्य अभिवृद्धि कर) लागू भयो । अब जति माल नेपालमा खपत हुन्छ, त्यति मात्र विदेशबाट मगाउने भन्ने सोच पनि विकास भयो । मुलुकमा औद्योगिकीकरणको विकास गर्नुपर्छ भन्ने भावना जागृत भयो । वास्तवमा यही समयमा नेपालको धेरैजसो स्थानमा औद्योगिक विकास र विस्तार भएको छ । रोजगारी सृजना भएका छन् । तर पछि गएर देशमा औद्योगिकीकरणको प्रक्रियालाई जुन दिशा दिनुपर्दथ्यो, त्यो निरन्तरता कायम हुन सकेन । यसमा कहीँ न कहीँ चुकेको हो जस्तो लाग्छ । औद्योगिक विकास र विस्तार नै अवरुद्ध जस्तो भयो । भन्नुको अर्थ, त्यो बेलाको नीति निर्माताले यसलाई प्राथमिकतामा राखेनन् । जसले गर्दा त्यो बेला कामका लागि विदेशिने क्रम शुरू भयो । अहिले पनि विदेशमा रोजगारीका लागि जान तँछाडमछाड नै भइरहेको अवस्था छ । यसले मुलुकमा दिगोरूपमा बेरोजगारीको समस्या समाधान गर्दैन । मुुलुकको दिगो विकासका लागि धेरै काम गर्नुपर्ने अवस्था छ । सीएनआईमा म अध्यक्ष भएका बेला साथीहरूसँगको छलफलपछि ‘मेक इन नेपाल’ को अवधारणा विकास गरेका थियौं । रेमिट्यान्सले मात्र मुलुक दिगो रूपमा कहिल्यै अघि बढ्न सक्दैन, चल्दैन पनि । अब मुलुकमै काम गर्ने वातावरण बनाऔं, रोजगारीका अवसर यहीँ सृजना गरौं, विस्तार गरौं भन्ने नै यो अभियानको अवधारणा हो । ‘मेक इन नेपाल’ मुलुकलाई समृद्ध बनाउने अभियान पनि हो । यो अवधारणा लागू गर्न के कस्ता अप्ठ्यारा छन्, के गर्दा स्वदेशमै काम गर्ने वातावरण बन्छ, कुन कुन नियमकानून वा प्रणालीले अवरोध सृजना गरिरहेको छ भन्नेबारे हामीले समाधानका उपायसहित प्रधानमन्त्री, मन्त्री, सचिव, राष्ट्रिय योजना आयोग लगायतलाई बुझाएका छौं । मेक इन नेपालका सुझाव समेटर तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आर्थिक वर्षको बजेट पनि ल्याउनुभएको थियो । अहिलेका अर्थमन्त्री जनार्दन शर्माले पनि चालू आवको बजेटमा हाम्रा सुझाव समेट्नुभएको छ । यद्यपि केही विवादास्पद कुरा पनि छन्, जसमा म अहिले जान चाहन्न ।


नेपालमा सिमेन्ट उद्योगको भविष्य कस्तो देख्नुहुन्छ ? सिमेन्ट उद्योगीले गरेका अपेक्षा के के हुन् ?
तीन/ चारओटा कुराबाट नेपाल आत्मनिर्भर बन्न सक्ने मैले देखेको छु । यी उपायहरू सहज रूपमा अगाडि बढाउन केही कठिनाइ पक्कै छन् । ती क्षेत्रमध्ये सिमेन्ट पनि एक हो । सिमेन्टतर्फ आत्मनिर्भरताको बाटोमा नेपाल अघि बढिसकेको छ । हामीले नेपाल सरकारलाई सिमेन्टको व्यवसाय प्रवर्द्धन गर्न बारम्बार भनिरहेका पनि छौं । अब स्वदेशमा सिमेन्टको खपत पनि बढाउनुपर्छ । साथै, निर्यात बढाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ । भारतकै कुरा गर्ने हो भने पनि अहिले विहार, उत्तरप्रदेश र बंगालमा कुनै पनि सिमेन्ट उद्योग नभएको अवस्था छ । नजीककोे सिमेन्ट उद्योग राजस्थानमा मात्र छ । हामीले उत्पादन गरेको सिमेन्ट त्यहाँ पठाउन सक्ने हो भने विद्युत् खपत बढ्छ, रोजगारी सृजना पनि हुन्छ । 

तपाईंको समूहका भावी योजना के - के छन् ?
अहिले मेरा दुई भाइ र छोरा (अमितकुमार मोर) ले राम्रोसँग व्यवसाय चलाइरहेका छन् । म सीएनआईको अध्यक्ष भएपछि व्यवसाय नै हेरिनँभन्दा पनि हुन्छ । उनीहरूलाई व्यवसाय नै हस्तान्तरण गरेको थिएँ । उनीहरूले ग्रूपलाई पनि चलाइरहेका छन्, मेरै वनस्पति घ्यू उद्योग पनि राम्रोसँग चलिरहेको छ । अझै नयाँ उद्योग कसरी सञ्चालन गर्ने भनेर जग्गा लिइसकेका छौं । कुन उद्योग गर्नेे भन्ने बारेमा अहिले टुंगो लागिनसके तापनि खाद्यान्न उद्योगतर्फ गृहकार्य भइरहेको छ । 

शिवम् सिमेन्ट उद्योग ६ ओटा ग्रूपबाट सञ्चालन भइरहेको छ ।

पारिवारिक व्यवसायमा पारिवारिक झमेला परेका र संघसंस्थामा नेतृत्व गर्दा आफ्नो व्यावसायिक स्वार्थ हेरेको आरोप लागेका उदाहरण छन् । तपाईंकोमा कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
यसमा मलाई के लाग्छ भने भिजन स्पष्ट भएको पारिवारिक पृष्ठभूमि हेर्नुु महत्वपूर्ण हुन्छ । म सीएनआईमा अध्यक्ष हुनेबित्तिकै मेरो जति पनि व्यक्तिगत व्यापार व्यवसाय थियो, त्यसलाई छाडेको थिएँ । छाड्न जरुरी नभए पनि मैले छाडेँ । पदमा रहँदा व्यक्तिगत स्वार्थ सिद्ध हुनेगरी वकालत गर्नुहुँदैन भन्ने मेरो मान्यता थियो । मेक इन नेपाल अवधारणा अगाडि ल्याउँदा मलाई थाहा थियो मैले प्रतिस्पर्धीहरूलाई ल्याउँदै छु । मैले त दुःखसुख, समस्या भोगेर, हारगुहार गरेर उद्योग व्यवसाय सञ्चालन गरेको थिएँ । तर अब आउनेलाई केही सहजीकरण गर्न वातावरण बनाइदिनुस्, केही नियम कानूनलाई खुुकुलो बनाइदिनुस् या फास्ट ट्र्याकमा काम गर्ने वातावरण बनाइदिनुस्, एकद्वार प्रणालीमा काम गर्ने वातावरण बनाइदिनुस् भनेर सरकारलाई भन्यौं । चार–पाँच वर्षदेखि सरकारले जलविद्युत् आयोजनाको पीपीए बन्द गरेको छ । ह्विलिङ चार्ज तिरेर आफैले विद्युत् प्रसारण गर्ने वातावरण बनाउनुपर्‍यो । विष्णु पौडेल अर्थमन्त्री हुँदा ह्विलिङ चार्ज तिरेर विद्युत् प्रसारण गर्न निजीक्षेत्रलाई दिने भन्ने बजेटमा आएको थियो । तर नियमावली र कार्यविधि अहिलेसम्म बनेको अवस्था छैन । त्यो चाँडोभन्दा चाँडो बनोस् भनेर आग्रह गर्छु । नयाँ प्रविधिअनुसार हामीले आफूलाई परिवर्तन गरेनौं भने पछाडि पर्छौं । उदाहरणका लागि बुटवल धागो, हेटौंडा कपडा, गोरखकाली रबर उद्योगहरू नै किन नहुन् । तिनीहरूलाई समयअनुसार नयाँ प्रविधि प्रयोग गरेर चलाउन सकेनौं । त्यसले गर्दा समस्या पर्‍यो । 


तपाईंको ग्रूप अन्तर्गतका उद्योग व्यवसायमा हालसम्म कति लगानी भइसकेको छ ? भन्न मिल्छ ?
यसको बारेमा त मलाई पनि थाहा छैन । हाम्रो समूहमा विकेन्द्रित संरचना छ । व्यवस्थापन अलग अलग किसिमको छ । विकेन्द्रित संरचना भएकै कारण हाम्रो प्रगति विस्तार भएको हो । हामी जुन अवस्थामा छौं, यो अवस्थामा आइपुग्न यसले उल्लेख्य भूमिका निर्वाह गरेको हो भन्ने लाग्छ । यसको सफल उदाहरणको रूपमा शिवम् सिमेन्टलाई लिन सकिन्छ । विकेन्द्रित संरचना भएकै कारण हामीले सफलता पाएका हौं । आफ्नो समूहलाई प्रगतितिर लैजाने हो भने विकेन्द्रित गर्नैपर्छ ।
तपाईंले व्यावसायिक यात्राको क्रममा रमेश गुप्ता र कमल बेगानीसँग मिलेर काम गर्नुभयो । तर अहिले व्यापारिक कारोबार आआफ्नै अलग किसिमले गरिहरनु भएको छ । त्यो समयको सहकार्यलाई कसरी सम्झिनुहुन्छ ?
बेगानीजीसँग मेरो सहकार्य दुई–तीन वर्षमात्र भयो । रमेश गुप्ताजीसँग भने मेरो लामो समय सहकार्य भयो । मेरो साथी वा आदरणीय जे भने पनि उहाँ नहुँदा मैले आज धेरै ठूलो चीज गुमाएको छु । हामीबीच अत्यन्त घनिष्ट सहकार्य थियो । हामीले उद्योग व्यवसायको कारोबार अलग - अलग रूपमा हेर्ने वातावरण सृजना गरेका थियौं । आज उहाँ हामीबीच हुनुहुन्न । हामीले दुई÷अढाई घण्टाको मिटिङबाटै तीनओटा कम्पनी सहज रूपमा बाँडफाँट गरेका हौं । त्यतिखेर हाम्रा तीनओटा उद्योग थिए– लुम्किनी विद्युत् उद्योग, गणपति वनस्पति उद्योग र न्यू प्लाष्ट उद्योग । शिवम् सिमेन्टमा भने उनीहरूको आफ्नै छुट्टै शेयर थियो । हाम्रो सल्लाहपछि नै आफ्नो रुचिअनुसार उनीहरूले लुम्बिनी विद्युत् उद्योग लिएर चलाइरहेका छन् । उहाँका दुईजना छोराहरूले अहिले त रमेश कर्प पनि शुरू गरेका छन् । यो देख्दा अहिले खुशी लाग्छ, अर्थात् हाम्रो व्यावसायिक यात्रा अत्यन्त सौहार्दपूर्ण थियो ।

तपाईंको ४० वर्ष लामो व्यावसायिक यात्राको क्रममा भोग्नुपरेका आरोहअवरोहको अनुभव सुनाइदिनुस् न । 

मैले विभिन्न फोरमहरूमा यसबारे भनेको छु । सन् १९८५–८६ मा शुरू भएको नबिल बैंकसँग मेरो पहिलेदेखि नै सम्बन्ध भयो । बारम्बार यो कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसँग कुराकानी हुन्थ्यो । त्यो बेलामा मैले उद्योग स्थापना गर्न खोजिरहेको थिएँ । मसँग ३ करोड रुपैयाँ थियो । बैंकका साथीहरूले नयाँ बैंक खोलौं, लगानी गर्नुस् भनेका थिए । बैंक स्थापना गर्न गृहकार्य पनि भयो । तर मेरो आँट पुगेन । अहिले सम्झँदा बैंकतर्फ लगानी गरेको भए हुने रहेछ भन्ने लाग्छ । अर्को कुरा, चीनमा उद्योग स्थापना गर्ने भनेर त्यहाँ गएर गृहकार्य पनि गरेँ । त्यतिबेला नेपालमा मार्बल कटिङ ब्लेड हवाईजहाजबाट मगाएर व्यापार गर्थें । जहाजबाट मगाउन सम्भव थिएन । किनकि त्यसको माग नेपालमा धेरै थियो र तुरुन्त विक्री गर्नुप्थर्यो । तर जहाजबाट मगाउँदा ढिलो हुन्थ्यो । त्यहाँ उद्योग स्थापना गर्नेबारे चिनियाँहरूसँग छलफल पनि भयो । उक्त क्रममा उनीहरूलाई त्यहाँ मार्बल कटर उत्पादन गर्ने २३ उद्योग स्थापना गर्न लगाएँ । उनीहरूले मलाई पनि लगानी गर्न भने । नेपाल फर्केर रमेश गुप्ताजीसँग छलफल पनि भयो । उहाँसँग छलफल गरेपछि थाहा भयो कि नेपालीले विदेशमा लगानी गर्ने कुरा असम्भव जस्तै रहेछ । नेपालकै कानूनले दिँदो रहनेछ । बांगोटिंगो तरीकाले चिनियाँको नाममा उद्योग स्थापना गर्ने सोच ठीक लागेन ।

नेपालमा उद्योग स्थापना गर्नुपर्छ भनेर तपाईंलाई प्रेरणा चाहिँ केले दियो ?
कुनै बेला भारतको दिल्लीबाट आग्रा जाँदै थिएँ । म र श्रीमती निजी गाडीमा सवार थियौं । म आफै सवारी चालक थिएँ । यात्राको क्रममा चिम्नीबाट धूँवा निस्किरहेकोे सानो सेतो रङको उद्योग देखें । त्यो देखेर मैले गाडी रोकें । र केही बेर त्यो उद्योगको बारेमा कौतुहलपूर्वक परैबाट हेरें पनि । त्यो हेरेको पाँच मिनेटपछि मलाई अब मैले पनि स्वदेशमा उद्योग स्थापना गर्नुपर्छ भन्ने कुरा अन्तरमनमा आयो । तर के उद्योग स्थापना गर्छु भन्ने चाहिँ मनमा थिएन । तर काठमाडौंमा आएको केही समयपछि उद्योग स्थापना गरें । त्यसभन्दा अघि म व्यापारमा संलग्न थिएँ । आग्रामा फुरेको त्यो आइडियाले काठमाडौंमा पहिलो उद्योग स्थापना गरेपछि म अहिलेसम्म पनि ट्रेडिङमा फर्कनु परेको छैन । 

वीरगञ्जबाट काठमाडौंसम्मको उद्यमशीलता यात्राको स्मरण गर्दा तपाईंको पुस्ता र अहिलेको नयाँ पुस्तामा के फरक देख्नुहुन्छ ?
हाम्रो पुस्ताको कुरा गर्नुहुन्छ भने हामी भित्री अन्तरमनदेखि नै यो काम गर्नुपर्छ भनेर स्वतः स्फूर्त भएर काम गर्दथ्यौं । तर आजका पुस्ताले भने तथ्यांक हेरेर काम गरिरहेका छन् । उनीहरू अध्ययन, खोज गर्छन् । अहिलेका व्यवसायीले विश्वको अर्थतन्त्रले के प्रभाव पारिरहेको छ, कहिले खरीद गर्ने वा कहिले विक्री गर्ने भनेर अध्ययन गरिरहेको पाउँछु । यो नै हाम्रो र अहिलेको पुस्ताको काम गर्ने तौर तरीकामा फरक छ । आज गूगलले सबै सम्भव गराइदिएको छ । यो हेर्दा त अवसर नै अवसर छ जस्तो लाग्छ । हाम्रो समयमा त यस्तो सुविधा कहाँ पाउनु ? हाम्रो पालामा टेलेक्स मेशिन मात्र थियो । त्यो पनि सहज रूपमा पाउने अवस्था थिएन । त्यसमा व्यापारको काम गर्नुपर्दा छोटो छोटो मेसेज लेखेर विदेश पठाउँथ्यौं । पछि फ्याक्स मेशिन आयो । अहिलेको पुस्तालाई काम गर्न प्रविधिले धेरै सहज तुल्याएको छ ।

(विस्तृत अन्तरवार्ताका लागि Youtube.com/c/NewBusinessAgeNepalमा जान सक्नुहुनेछ ।)

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement