ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निदाउनै लागेका बेला मोबाइलमा आएको सन्देशले ज्यान जोगियो

२०७९ असोज, २  
समाचार सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

कञ्चनपुर । भदौ ३१ गते राति ११ बजेर ३० मिनेटको समय कञ्चनपुरको वनहरा शिविरका रञ्जित रावतले बिर्सन्नन् । त्यही रातिको समय झोपडीमा निदाउनै लागेका रावतको मोबाइलमा एउटा सन्देश आयो । त्यही सन्देशले शिविरका सबै जनाको ज्यान जोगायो ।     

रञ्जितको मोबाइलमा जल तथा मौसम विज्ञान विभागबाट सन्देश आएको थियो । ‘पछिल्लो तीन घण्टामा कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भएकाले नदीमा आकस्मिक बाढी आई खतरा आसपास पुगिसकेकाले सतर्कता अपनाऔं’ भन्ने सन्देश उनले मोबाइलमा  पढे  ।     

सन्देश पढ्नासाथ सुतेकी श्रीमतीलाई उठाएर सन्देश सुनाए । ‘सन्देशमा भने झैँ ठूलो वर्षा भइरहेको थियो’, रावतले भने, ‘बाहिर हेरें वनहरा नदीको पानी झोपडी भित्रै आइपुगेको थियो, हतारमा श्रीमतीलाई आवश्यक सामान बोकेर भाग्नका लागि तयार पारें, शिविरका अन्य बासिन्दालाई बाढी आएको कुरा ठूलो आवाजले कराएर सुनाएँ, सबैजना वन क्षेत्रमा भाग्यौं, त्यो सन्देश नआएको भए ठूलो दुर्घटना निम्तिन्थ्यो ।’     

नदीको बाढी शिविरमा छिरेपछि लत्ताकपडा, भाँडाकुँडा, खाद्य सामग्री सबै झोपडीमै छाडेर एक सरो लुगामा सबै भागेर ज्यान जोगाएको उनी बताउँछन् । ‘शिविरमा बाढी पसिसकेकाले भाग्नका लागि आवाज आयो’, गौरे दमाईंले भने, ‘सुतेका मात्रै थियौ, लत्ताकपडा केही बोक्नै पाएनौँ ।’     

उनले रातिका समयमा शरीरमा एकसरो कपडा मात्रै लगाएर सामुदायिक वन क्षेत्रमा भागेको सुनाए । ‘पानी छातीसम्म पुगिसकेको थियो, बाँचिएला भन्ने आशा नै थिएन, जसोतसो कम पानी भएको ठाउँमा पुगेपछि अब बाँचिन्छ झैँ लाग्यो’, उनले भने, ‘वनको माथितर्फ लाग्यौँ, त्यतिबेला शिविरका अरू पनि आइपुगे, पानीमा भिज्दै उभिएरै रात कटायौं ।’     

उनी अहिले पनि शिविरमा फर्केर जान डराउँछन् । वर्षा भएपछि अझै पहिला जस्तै बाढी आउने डर उनको मनमा खेल्ने गरेको छ । शिविरमा पानी पसेपछि वन क्षेत्रमा रातिको समयमा बालबालिकालाई काखीमै च्यापेर भिज्दै रात काटेको कुरा मथुरादेवी सार्की बताउँछिन् ।     

शिविरकी कलावती दमाईं पनि एकसरो लुगामै छिन् । रातिमा बालबालिका पानीमा भिजेपछि बिरामी पर्न थालेको उनले बताइन् ।

‘शिविरमा बाढी पसेको हल्लाखल्ला हुन थालेपछि सबैभन्दा पहिला गाईवस्तुलाई फुकाएर जंगलतर्फ भगाउँदासम्म झोपडीमा घुँडासम्म पानी पुगिसकेको थियो’, स्थानीय दलबहादुर बोहराले भने, ‘झोपडीमा सुतेकालाई उठाएर भाग्न भन्यौँ, त्यसपछि एकसरो लुगामै जंगलै जंगल पानीमै भागेर ज्यान जोगायौं ।’     

शिविर रहेको पश्चिमतर्फ वनहरा नदी, दक्षिणतर्फ नदीले नै बनाएको नाला छ, उत्तरतर्फ घना वन क्षेत्र छ । बिहानको ५ बजेपछि जनप्रतिनिधिसहित सुरक्षाकर्मी आएर सुरक्षित स्थानमा ल्याएर राखेको उनी बताउँछन् । सुरक्षाकर्मीको उद्धार टोलीले शिविरमा पुगेर बग्नबाट बाँकी रहेका सामान जोगाएको उनले बताए ।     

विस्थापित परिवारको झोपडीमा अहिले घुँडासम्म हिलो छ । बस्न सक्ने अवस्था छैन । विस्थापित परिवारलाई शुक्लाफाँटा नगरपालिका–११ को वडा कार्यालयले सरस्वती माध्यमिक विद्यालयमा तत्कालका लागि बस्ने र खाने व्यवस्था मिलाइएको छ ।     

शिविरमा २८ परिवारको बसोबास रहेको छ । शिविरका बस्दै आएका बासिन्दालाई नेपाल रेडक्रस उपशाखा झलारीले कम्बल उपलब्ध गराएको छ भने झलारी पिपलाडी उद्योग वाणिज्य संघले राहत सामग्री वितरण गरेको छ । शिविरमा बसोबास गर्दै आएका बासिन्दाले सुरक्षित स्थानमा बसोबासको व्यवस्था गरिदिनका लागि आग्रह गरेका छन् । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)