टीकापुर । कैलालीमा बाढीपछि सयौं परिवार थातथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उचाइमा रहेका घर तथा विद्यालयमा आश्रय लिएका छन् । यसरी आश्रय लिएर बस्नेमध्ये गर्भवती तथा सुत्केरीलाई बढी समस्या भएको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई वर्ष मुनिका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरू राम्ररी सुत्न पाएका छैनन् । बालबालिका र आमाहरूलाई थप समस्या भएको छ ।
भजनीकी मनीषा धमालाको बच्चा अहिले सात महिनाको छ । बसेको घर बाढीले डुबाएपछि उनी बच्चा बोकेर ज्यान जोगाउन हुलाकी सडकमा आइन् । बाढीले घर डुब्न थालेपछि एकसरो लुगामा बच्चा बोकेर भागेकी उनलाई सडकमा बच्चा स्याहार्न समस्या भएको छ । ‘आफ्नो दूधसँगै घरमा पटकपटक जाउलो, लिटो र थप खानेकुरा खुवाउँथे, यहाँ त आफैं भोकै छु’, उनले भनिन्, ‘पेटभरि पानी खान पनि पाइएको छैन । गर्मी तथा वातावरण नमिलेर बच्चाले रोएर सताएको छ ।’
दीपा सुनार र उनको एक वर्षको बच्चाको पनि दुई दिनदेखि सडकमै बास छ । ‘घरमा थप खानेकुरा खान्थ्यो, यहाँ त केही पाएको छैन, बच्चा रातभर रोएको छ’, उनले भनिन्, ‘यहाँ सडकमा आमाले त खान पाएका छैनौं, बच्चाको बारेमा कसले सोच्छ । बच्चालाई तयारी लिटो कसैले सहयोग गरेको भए पनि हुन्थ्यो ।’
अञ्जली विक बाढी घरमा पसेपछि भिज्दै सडकसम्म आइन् । भिज्दै आएकाले होला उनको नौ महिनाको बच्चा बिरामी भइसकेको छ । उनको बच्चालाई रुघाखोकी शुरू भएको छ । ‘घाँटीसम्म पुग्ने पानी भएपछि भाग्यौं, बच्चा भिजेर निथ्रुक्कै भएको थियो’, उनले भनिन्, ‘लौ न सरकार भएको महसुस गराइदिनुपर्यो । हामी त बर्बाद भयौं ।
भजनीको सोनाहाफाटा खल्लाटोलकी सानु पाण्डेको दुई वर्षको बच्चा छ । घरमा छिनछिनमा खानेकुरा खाने सानुको बच्चाले शनिबार बिहानदेखि चाउचाउ र चिउरा मात्रै खान पाएको छ । ‘हामी त दुःखसुख सहन सक्छौं, बच्चाले सहन सकेको छैन, घर जाऊँ भन्छ, घर बाढीमा डुबेको छ’, उनले भनिन्, ‘लुगा पनि सबै भिजेका छन्, अझै पानी रोकिएको छैन । घरमा के के बग्यो थाहा छैन ।’
भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी शुरूदेखि नै सडकमा खटिसकेको जानकारी दिए । ‘हामी बाढीमा भिजेकामा ज्वरो, रुघाखोकी र पखालाजस्ता समस्या भयो भन्ने खबरपछि हुलाकी सडकमै सेवा दिइरहेका छौं, स्वास्थ्य चेकजाँच र औषधि वितरण भइरहेको छ’, उनले भने, ‘यहाँ आएपछि गर्भवती, सुत्केरी र साना बच्चा पनि रहेछन्, उनहरूका लागि केही गर्न सकिएको छैन । अब हामी पोषणमा समेत ध्यान दिन्छौं ।’
हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरूका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताइन्।
‘सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा आवश्यक पर्छ’, उनले भनिन्, “महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय एवं पानीको व्यवस्था जस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔं ।’
यसका साथै विपद्का समयमा हुन सक्ने लैंगिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौं परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन् । -रासस