काठमाडौं । वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिककबाट वागमती नदीमा सफा पानी बग्ने भएको छ ।
काठमाडौं उपत्यकाकै (काठमाडौं, ललितपुर र भक्तपुर) आकर्षक वागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि वागमती नदीमा पठाउने तयारी भइरहेको छ ।
समुन्द्री सतहबाट दुई हजार ८० देखि ९० मिटरको उचाईमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मान्ने गरिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो ।
उपत्यकाको उत्तरपश्चिम चुचुरो मुलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात् १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम शुरु गरिएको थियो ।
यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षा याममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधले सुख्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले वागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ ।
आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले काठमाडौं उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थलाई मध्यनजर गरेर धाप निर्माण गरेको बताए ।
उनले वागमतीमा पानीको वहाव र पानीको गुणस्तर बढाउनको लागि विभिन्न स्थानमा धापहरुको निर्माण गरी स्नानयोग्य बनाउने उद्देश्यले धाप निर्माण गरेको बताए । धापबाट वागमतीमा पानी पठाइसकेपछि नुहाउनयोग्य बनाउनको लागि ४५० लिटरजति सफा पानी मिसाउनुपर्ने जायिकाको अध्ययनले देखाएको पनि उनले बताए ।
एशियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान शुरु भएको थियो । उनले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको बताए । शुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भनेपनि अहिले त्यो भन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको उनको भनाइ छ ।
उनले धाप क्षेत्र पर्यटन प्रवद्र्धनको लागि पनि मुख्य स्थल बन्ने अध्ययनले देखाएको बताए । जसकरण पनि पर्यटन गुरुयोजना बनाएर नै काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ । भ्याट बाहेक ४५ करोड रुपैयाँ र भ्याटसहित जोड्दा ५१ करोड रुपैयाँ बढी रकममा धाप निर्माण शुरु गरिएको थियो ।
उनले अक्टोबर १५ पछि वागमतीमा धापको पानी प्रवाह गर्ने योजना रहेको उल्लेख गरे । ८ महिना ४० लिटर बगाउनसक्ने अनुमान गरेर धाप निर्माण गरेपनि नागमति धाप निर्माण नहुँदासम्म योजना अनुसारको पानी प्रवाह गर्न नसकिने बताए ।
उनले वागमती ड्याम नबनुन्जेलसम्म ४० लिटर मात्रै पठाउनसक्ने र सिमित पानीले अनुभव गर्नसक्ने गरेर वागमतीमा पानी प्रवाह नहुने बताए । धापबाट पठाएको पानी पशुपति आर्यघाटमा आम सर्वसाधारणहरुले पनि प्रयोग गर्ने गरेर पठाउनुपर्ने उनको भनाइ छ ।
पशुपति क्षेत्र विकास कोषसँग पनि समन्वय गरेर पशुपतिनाथ मन्दिर परिसरमा वर्षको २७ दिन, विशेष पर्वहरुमा ४ सय लिटर नै पानी पठाउने बारेमा सहमति भएको उनको भनाइ छ ।
प्रमुख इन्जिनियर छतकुलीले धाप ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययनको काम पनि भइरहेको बताए । धाप ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा वागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत निकाल्ने उद्देश्य रहेको छ भने वागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ ।
प्रस्तावित नागमति बाँध ९० मिटर अग्लो हुनेछ र यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्नेछ । यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनःभरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्नेछ ।
सुन्दरीजलबाट नागमति ड्याम पुग्न पाँच किलोमिटर मात्र छ । यी दुई बाँधको आकर्षणले गोकर्णेश्वर नगपालिकाको पर्यटन व्यवसाय फस्टाउने अनुमान छ ।