काठमाडौं । नेपालीको मुख्य चाड दशैंको नजिकिए पनि वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । गएको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए । साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेको संख्या २१ प्रतिशतले बढेको छ ।
विभागका अनुसार श्रम स्वीकृति लिएकाहरूमध्ये ६८ हजार ८८४ जना पुरुष र ७ हजार ५१९ जना महिला छन् । उनीहरूले खाडी तथा युरोपेली मुलुकमा जानका लागि श्रम स्वीकृति लिएका हुन् । तीमध्ये सबैभन्दा धेरै ३५ हजार ३७२ जनाले मलेसियामा जानको लागि श्रम स्वीकृति लिएका छन् । त्यसैगरी, ११ हजार ७७५ जनाले कतारको लागि, ८ हजार ३६५ यूएईका लागि श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार श्रम स्वीकृति लिएकामध्ये उच्च दक्ष कामदारको संख्या १३, पेशागत कामदारको संख्या १४६, अर्धदक्ष कामदारको संख्या ५ हजार ९२ शीप भएका कामदारको संख्या ४६ हजार ६९ र शीप नभएका कामदारहरूको संख्या २५ हजार ८३ छन् ।