ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेपाललमा वार्षिक १० लाख टन फोहोर उत्पादन, ल्याण्डफिल साइट र नदी किनारमा फालिने हिस्सा बराबरी जस्तै

२०७९ असोज, ३  
समाचार विविध र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा शहरी क्षेत्रबाट मात्रै वार्षिक १० लाख टन फोहोर उत्पादन हुने सरकारी अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार यसरी उत्पादन हुने फोहोर मध्ये सबैभन्दा बढी आवासीय क्षेत्रबाट हुने गरेको छ ।

यसरी उत्पादन हुने फोहोर सबै ल्याण्डफिल साइटमा व्यवस्थापन भने हुँदैन । विभागका अनुसार ल्याण्डफिल साइट र नदि किनारमा फालिने फोहोरको परिमाण करीब उस्तै उस्तै छ ।

हरेक वर्ष उत्पादन हुने फोहोरमध्ये ३ लाख १५ हजार ६९ टन (३१.५१ प्रतिशत) फोहोर नदी किनार तथा बगरमा फाल्ने गरिन्छ भने ३ लाख ८९ हजार ९८३ टन (३८.९९ प्रतिशत) फोहोर भने ल्यान्डफिल साइटमा जम्मा हुने गरेको छ । यस्तै २२ हजार ७५ टन (२.२१ प्रतिशत) फोहोर जलाइन्छ भने ८ हजार ६९० टन (०.८७ प्रतिशत) फोहोर पुनः प्रयोगमा जान्छ । बाँकी २ लाख ६४ हजार १८३ टन (२६.४१ प्रतिशत) फोहोरको व्यवस्थापनबारे भने प्रतिवेदन मौन छ ।

विभागले नेपालमा अहिलेसम्म फोहोरमैला उत्पादन तथा उपयोगसम्बन्धी पूर्वअध्ययन प्रतिवेदन, प्रकाशित प्रतिवेदन तथा अनुसन्धानमुलक लेखहरुको अध्ययन गरी उपलब्ध तथ्यांक तथा सूचना संकलन गरी सिस्टम अफ इन्भारोमेन्टल अकाउन्टिङ (एसईईए) ढाँचा अबलम्बन गर्दै राष्ट्रिय फोहोरमैला लेखा पद्दती तयार गरेको छ । सोही ढाँचामा आधारित रहेर देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको फोहोरमैला व्यवस्थापनका तथ्यांकलाई अध्ययनमा समेटेको विभागले जनाएको छ ।

अध्ययन अनुसार नेपालमा धेरै मात्रामा फोहोर अग्र्यानिक वस्तुमार्फत उत्पादन हुन्छ । यसमा कृषिजन्य वस्तुबाट हुने फोहोरको मात्रा धेरै हुने गरेको छ । यसबाहेक प्लाष्टिक, पेपर उत्पादन, मेटल, ग्लास, रबर तथा लेदर, टेक्सटायल बढी मात्रामा उत्पादन हुने फोहोर हो ।

अध्ययन अनुसार नेपालमा सबैभन्दा धेरै फोहोर आवासीय क्षेत्रबाट उत्पादन हुन्छ । आवासीय क्षेत्रबाट वार्षिक ३ लाख ८६ हजार ६९० टन फोहोर उत्पादन हुने विभागको तथ्याङ्क छ । त्यस्तै व्यापारिक क्षेत्रबाट २ लाख ४५ हजार ८८४ टन र शैक्षिक संस्थाबाट १ लाख ३ हजार २४४ टन फोहोर उत्पादन हुन्छ । त्यस्तै औद्योगिक क्षेत्रबाट मात्र ९४ हजार ३९२ टन फोहोर उत्पादन हुने तथ्यांक छ । स्वास्थ्य सेवा क्षेत्रबाट १ लाख १ हजार ५०७ टन फोहोर उत्पादन हुने गरेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement