ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विद्युतीय सवारीमा प्रोत्साहन

२०७९ असोज, ४  
लेख | दृष्टिकोण
Image Not Found
author avatar सुदर्शन अधिकारी

हाम्रो व्यापारघाटा दिनानुदिन बढ्दो अवस्थामा छ । व्यापारघाटा बढ्नुको मूल कारण इन्धन आयात नै हो । इन्धनको खपत कम गरी व्यापारघाटा कम गर्न हामीले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर ज्यादा मात्रामा विद्युतीय सवारीका साधनको प्रयोगमा जोड दिनुपर्छ । पछिल्लो समयमा विद्युत्को उत्पादन वृद्धि भएकाले छिमेकी देश भारतमा थोरै मात्र विद्युत् विक्री गर्दा पनि व्यापारघाटा कम गर्न सक्ने संकेत मिलेको छ । नेपालको विकासमा जलविद्युत् उत्पादन नै महŒवपूर्ण रहेको सन्दर्भमा सवारी प्रयोग गर्ने आम नागरिकले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनु सकारात्मक कदम हो । विद्युतीय सवारीको प्रयोगले वातावरणमा पनि सुधार आउने तथा व्यापारघाटासमेत कम गर्न सहयोग गर्ने भएकाले यो ज्यादा राम्रो कार्य मानिनेछ ।

राज्यले पछिल्लो समयमा देशका विभिन्न ५१ स्थानमा विद्युतीय सवारीसाधनका लागि भनेर चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । देशका प्रमुख शहर तथा राजमार्गमा चार्जिङ स्टेशनको व्यवस्था गरी सहजताका साथ विद्युतीय सवारीसाधन चलाउन सकिने वातावरणको सृजना गर्नेतर्फ गम्भीर रूपले कार्य सम्पादन गर्नु ज्यादै सकारात्मक कार्य सावित हुनेछ । इन्धनको मूल्यवृद्धिले सर्वत्र प्रभाव पार्ने भएकाले उपभोग्य वस्तुको मूल्यसमेत बढेको अवस्थामा इन्धनको खपत कम गरी विद्युतीय सवारीलाई प्राथमिकतामा राखेर कार्य गर्नु राष्ट्रहितमा छ ।

 राज्यले विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन निर्माण गरी उक्त प्रयोजनमा लाग्ने विद्युत् महसुलमा विशेष छूटको व्यवस्था गरेको छ तर यो पर्याप्त छैन । शुल्क सहुलियत दरमा उपलब्ध गराए विद्युतीय गाडीप्रति आकर्षण बढेर जान्छ । यसै पनि अहिले  विद्युतीय गाडीप्रतिको आकर्षण बढ्दो छ । निजीक्षेत्रबाट सञ्चालित विद्युतीय चार्जिङ स्टेशनमा तोकिएभन्दा बढी शुल्क लिइरहेको अवस्था छ जसको अनुगमन प्रभावकारी रूपमा गरिनु आवश्यक छ । यसका लागि निश्चित मापदण्ड र निर्देशिका नै आवश्यक हुन्छ । विद्युत् प्राधिकरणले पूर्वाधार विकास आयोजनाअन्तर्गत हाल सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला शहर पर्ने ५१ स्थानमा विद्युतीय सवारीसाधन छिटो चार्ज गर्न मिल्ने स्टेशन निर्माण गरिरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयका उपयुक्त स्थानमा चार्जिङ स्टेशन निर्माण कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । चार्ज गर्दा कारहरूमा प्रतिकिमी खर्च औसत ७० पैसा एसयूभीमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसमा रुपैयाँ २० पैसा लाग्नेछ । नेपालमा उपलब्ध सवारीसाधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज गर्न सकिन्छ । विद्युत् खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि प्राधिकरणले चार्जिङ स्टेशनको निर्माण गरिरहेको छ ।  

हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जोडिनेछ । उक्त स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिनेछ । यस व्यवस्थाबाट एकै पटक ठूला तीनओटा सवारीसाधन एकसाथ चार्ज गर्न सकिनेछ । यसरी चार्जिङको सहज व्यवस्था भएपछि विद्युतीय गाडीको प्रयोग झनै बढ्ने देखिन्छ ।

एशियाली विकास बैंकको आर्थिक सहयोगमा चार्जिङ स्टेशन निर्माण हुन लागेको हो । चार्जिङ स्टेशन सञ्चालनमा आएको ५ वर्षसम्म तिनको मर्मत सम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेशनको सफ्टवेयर राखिनेछ । ५१ ओटै स्टेशनको नियन्त्रण काठमाडौंबाट नै हुनेछ । सवारीसाधन चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिल भुक्तानी गर्न सक्नेछन् ।
काठमाडांै उपत्यकाभित्र साझा सेवा बल्खुमा दुई, ललितपुरको साझा यातायातमा दुई, नेपाल पुलिस क्लबमा एक र नेपाल विद्युत् प्राधिकरणमा एक चार्जिङ स्टेशन रहनेछन् ।

काभ्रे जिल्लाको बनेपामा रहेको साझा सेवामा पनि दुई चार्जिङ स्टेशन बन्नेछन् । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नवलपरासीको बर्दघाटस्थित इलाका प्रहरी कार्याल र कपिलवस्तुको गोरुसिंगेस्थित इलाका प्रहरी कार्यालयमा पनि दुई दुईओटा चार्जिङ स्टेशन राख्ने तयारी छ । दाङको लमही बसपार्क, बाँकेको कोहलपुरस्थित नेपाल एपीएफ स्कूल र सुर्खेतको नयाँ बसपार्कमा पनि दुई दुईओटा चार्जिङ स्टेशन राखिनेछ । यसैगरी रूपन्देहीको भैरहवा बसपार्क र कैलालीको सशस्त्र प्रहरी बल वैजनाथ वाहिनीमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । पोखराको पर्यटक बसपार्क र लेकसाइडमा पनि चार्जिङ स्टेशन बनाइनेछ । नुवाकोटको बसपार्कमा एउटा र हावा घरमा अर्को चार्जिङ स्टेशन निर्माण गरिनेछ । सिन्धुलीको सिन्धुलीगढी बसपार्क र खुर्कोट रिसोर्ट सेन्टर, महात्तरीको बर्दिबासस्थित इलाका प्रहरी कार्यालय र कञ्चनपुरको शैलेश्वरीस्थित सशस्त्र प्रहरी बलमा पनि चार्जिङ स्टेशन निर्माण भइरहेको छ । यसरी विद्युतीय सवारीको विकास र विस्तारमा राज्यले विशेष पहल गर्दा सर्वत्र सकारात्मक प्रभाव पर्न गई यसको प्रयोगमा आकर्षण बढ्न जान्छ ।

विद्युतीय सवारीको सकारात्मक प्रभाव भनेको इन्धन आयातमा कमी आउनु र वातावरण सुधारमा समेत प्रभावकारी योगदान पुग्नु हो । यसबाट एकातर्फ व्यापारघाटा कम भई ठूलो रकम विदेशिनबाट बच्छ भने अर्कोतर्फ वातावरणीय समस्या कम हुन्छ । वातावरण प्रदूषणले छातीको रोग, श्वासप्रश्वाससम्बन्धी रोग, मुटुरोग तथा छालाको क्यान्सरजस्ता अनेकौं रोगको जोखिम बढाउने उच्च सम्भावना रहन्छ । यसबाट आँखा पोल्ने, नाक पोल्ने तथा फोक्सोको क्यान्सरसमेत हुने चिकित्सकहरू बताउँछन् । घरायसी प्रयोगमा पनि विद्युतीय उपकरणहरूको प्रयोगमा जोड दिएर सकेसम्म विद्युत् खपतमा ध्यान दिई नागरिकका तर्फबाट पनि सरकारलाई सहयोग गर्ने दिशामा लाग्नुपर्छ ।

लेखक विश्वशान्ति कलेजमा समाजशास्त्र अध्यापन गर्छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement