ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाक्नै लागेको धानबाली बाढीले नष्ट

२०७९ असोज, ४  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार रातिको अविरल वर्षापछि आएको बाढीले धानबाली नष्ट गरेको छ । खेतमा लगाइएको धानबालीमा क्षति पुर्‍याएपछि यहाँका किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै लागेको खेतीमा बाढीले क्षति पुर्‍याएपछि किसान निराश बनेका हुन् । लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान लगाएका थिए । शुक्रवार रातिदेखि अविरल वर्षा परेपछि दोदा नदीमा आएको बाढीले उनको धानखेतीमा क्षति पुगेको छ ।

बाढीले घरभित्र भण्डारण गरिएको अन्न पनि बगाएको उनले बताए । ‘आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ,’ उनले भने, ‘नदीले ल्याएको बालुवाले सबै पुरिदिएको छ ।’  धानको बाला टुसाउँदै गर्दा बाढीले खेतमै नष्ट गरिदिएको उनको गुनासो छ । ‘धानको बाला लागिरहेका थिए । केही ठाउँमा त पाकेर दशैंतिर काट्ने बेला हुन्थ्यो,’ उनले भने, ‘तर बाढीले सबै सखाप पारेको छ ।’

उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । ‘११ जनाको परिवार पाल्न घरभित्रै राखेको अन्न र खेतमा लगाएको बाली डुबाउँदा मन कुँडिएको छ,’ उनले भने, ‘वर्षभरि खान पुग्ने सबै अन्न नष्ट भयो, अब के गर्ने ?’ घरभित्र बाढीले बालुवा थुपारेकाले त्रिपाल टाँगेर बसिरहेको उनले बताए ।

लालझाडी गाउँपालिकाका ६ ओटै वडामा बाढीले खेतीपातीमा ठूलो क्षति पुर्‍याएको कृषि शाखा प्रमुख हजमिला लावडले बताए । ‘बाढीले धान, उखु, बदाम, सखरखण्डलगायत बालीमा ठूलो क्षति पुर्‍याएको छ,’ उनले भने, ‘हामी क्षतिको विवरण संकलन गरिरहेका छौं ।’

वर्षभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित देखिन्छन् । ‘धान खेत नै बालुवाले ढाकेको छ,’ उनले भने, ‘अनिकाल लाग्ने भयो, अब कसरी परिवार पाल्ने ?’ एकान्त टोलमा उनले १५ कट्ठा जग्गामा लगाएको धानखेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ । धानसँगै बदाम, मास र तिल पनि बाढीले पुरिदिएको छ । २०६४ सालयता यस किसिमको बाढी आफूहरूले कहिल्यै नदेखेको उनको भनाइ थियो । दोदा, बनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरका पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी र कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनाली नष्ट गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर विष्टले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)