कास्की । पोखरा महानगरपालिकाले फेवाताल किनारामा अवैध संरचना निर्माणमा प्रयोग भएको रेडीमिक्स्चर नियन्त्रणमा लिएको छ । महानगरले फेवातालको मापदण्डभित्र पर्ने क्षेत्रमा कुनै पनि नयाँ संरचना निर्माण नगर्न दिएको निर्देशन विपरीत लेकसाइड खहरेस्थित एक घरको तला ढलानमा प्रयोग भइरहेको ग १ क ४८२२ नम्बरको रेडीमिक्स्चर नियन्त्रणमा लिएको हो । केही दिनअघि महानगरका प्रमुख धनराज आचार्यले फेवातालको ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना निर्माण नगर्न आग्रह गरेका थिए । तर, स्थानीय दीपेन्द्र महर्जनले अदालत र महानगरको निर्देशन विपरीत घरको तेस्रो तला ढलान गरेको पाइएपछि निर्माणमा प्रयोग भएको रेडीमिक्स्चर नगर प्रहरीले नियन्त्रणमा लिएको हो । महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली सो स्थानमा पुगेको थियो ।