ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाग्लुङमा डेंगी संक्रमण बढ्दो : परीक्षणका लागि किट अभाव

२०७९ असोज, ४  
स्वास्थ्य र जीवन शैली गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

गलकोट । बाग्लुङमा डेंगी रोगको संक्रमण बढ्दै गएको छ । जिल्लामा डेंगीका लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गत भदौमा मात्रै २९ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । पर्याप्त रूपमा डेंगी परीक्षणका लागि किटको अभावले गर्दा धेरै शंकास्पद बिरामीको परीक्षणमा भने समस्या भएको छ ।     

जिल्लामा हालसम्म यो वर्षमा ३५ जनामा डेंगी संक्रमण पुष्टि भएकामा नौ जनाको अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने र एक जनाको जटिल अवस्थाका बीच थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक तथा निमित्त कार्यालय प्रमुख लक्ष्मी शर्माले जानकारी दिइन् ।

‘सुरुमा किट अभाव भएको थियो, अहिले केही मात्रमा किट आएको छ भने थप आउने क्रम जारी छ । तर डेंगीका बिरामी दिनानुदिन बढ्दै जाँदा पर्याप्त किट आवश्यक हुन्छ’, उनले भनिन्, ‘अहिले डेंगी लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र रगतमा शंकास्पद देखिएमा मात्रै किटको प्रयोगमार्फत परीक्षण गर्ने गरिएको छ ।’

स्वास्थ्य कार्यालयमा अहिले जम्मा ३० थान मात्रै किट रहेको छ भने थप २ सय किट आउने क्रममा रहेको छ । जिल्लामा डेंगी रोगको लक्षणसहितका बिरामीको संख्या ह्वात्तै बढेको धवलागिरि अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

‘अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिंग्टा लाग्ने बिरामीको संख्यामा वृद्धि भएको छ तर सबैमा डेंगी संक्रमण भने देखिएको छैन, हामीले रगतका माध्यमबाट र अत्यधिक शंकास्पदको किटको माध्यमबाट डेंगी परीक्षण गरेका छौँ’, उनले भने, ‘अस्पतालले पछिल्लो भदौ महिनासम्म डेंगीका जटिल प्रकारका नौ बिरामीको अस्पताल भर्ना गरेर उपचार गरिसकेको छ ।’

डेंगी नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बागलुङले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामट्टेको लार्भा नष्ट गर्नका लागि पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान प्रभावित भए पनि घाम लागेपछि निरन्तरता दिने तयारीमा स्वास्थ्य कार्यालय रहेको छ । यस्तै पालिका स्तरबाट पनि खोज र नष्ट गर अभियानलाई तीव्रता दिन थालिएको छ ।

डेंगी रोग रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्न थालिएको छ । अहिले सहरी क्षेत्रमा डेंगी सचेतनाका लागि माइकिङ गर्ने, पोष्टर तथा पम्पलेट टाँस्नेलगायतका काम गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)