ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

भारतलाई भारी छूटमा पाम आयल बेच्दै इन्डोनेशिया, नेपालमा सस्तिएला खाने तेलको भाउ ?

२०७९ असोज, ४  
अन्तरराष्ट्रिय उपभोक्ता
Image Not Found

जर्कार्ता । इन्डोनेशियाले आफूसँग थुप्रिएर बसेको पाम तेल स्टक घटाउन भारी छूटमा तेल बेचिरहेको छ ।

पाम आयल उद्योगका अधिकारीहरुले बताएको भन्दै रोयटर्सले सोमवार छापेको समाचार अनुसार प्रतिस्पर्धी देशहरुको तुलनामा इन्डोनेशियाले अहिले भारतलाई भारी छूटमा पाम तेल बेचिरहेको छ । भारतमा चाडपर्व नजिकिँदै गइरहेको समयमा खाने तेलको माग बढिरहेको छ । 

इन्डोनेशियाले पाम तेलको निर्यात महसुलमा छूटको म्याद बढाएर अक्टोबर ३१ सम्म पुर्याएको छ । मेमा घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्ने भन्दै त्यहाँ पाम तेलको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । तर सोको तीन हप्ता नबित्दै प्रतिबन्ध फुकाइएको थियो । यसबीच थुप्रिएको सञ्चिति कसरी घटाउने भन्ने पिरलो अहिले पाम तेल उत्पादकहरुलाई छ । 

भारत विश्वको सबैभन्दा ठूलो खाने तेल आयातकर्ता हो । इन्डोनेशियाले छूटमा तेल बेच्न थालेपछि भारतले खरिदारी बढाएको छ । भारतको माग बढेसँगै पाम आयल फयूचर्सले टेवा पाएको छ भने भट्मास र सूर्यमुखी तेलको आयात घट्ने जोखिम बढेको छ । 

मूल्य आकर्षक रहेको अनि चाडपर्वको मौसम नजिकिँदै गर्दा माग बढेको समयमा भारतले इन्डोनेशियासँग आक्रामक रुपमा पाम तेल किनिरहेको वनस्पति तेल ब्रेकरेज र परामर्शदाता कम्पनी सनभिन ग्रूपका प्रमुख कार्यकारी सन्दिप बाजोरियाले भनेका छन् । 

अगष्टदेखि नोभेम्बरको बीच भारतले करीब २० लाख टन पाम आयल आयात गर्ने अपेक्षा गरिएको छ । यो भनेको भारतले अप्रिलदेखि जुलाईसम्मको चार महीनामा इन्डोनेशियाबाट आयात गरेको पाम आयलको तुलनामा झन्डै तेब्बर हुनेछ । यो वर्षको शुरुमा इन्डोनेशियाले निर्यात प्रतिबन्ध चर्काएको बेलामा भारतले पाम तेलको सञ्चिति बढाएको थियो । 

भारत सरकारले स्थानीय स्तरमा खाने तेलको मूल्य घटाउन खोजिरहेको छ । तर यस प्रक्रियामा भारतको पाम तेल माग बढेर विश्व बजारको भाउ बढिरहेको छ । अहिले प्रति टन खाने तेलको भाउ ७ हजार ६२८ मलेशियाली रिंगिटको कीर्तिमानी उचाईमा छ । मलेशिया विश्वको दोस्रो ठूलो पाम आयल उत्पादक हो ।

विश्वको खाने तेल बजारमा इन्डोनेशियाको पकड खस्काउन र आफ्नो पकड बलियो बनाउन मलेशियाले माप तेलको साथसाथै भट्मास र सूर्यमुखीको तेल पनि बेच्दै आएको छ । तर पाम आयलको तुलनामा भट्मासको तेल र सूर्यमुखी तेलको भाउ निकै महँगो छ । सस्तोमा पाम तेल पाएपछि पछिल्लो समय भारतले भट्मास र सूर्यमुखी तेलको माग घटाएको छ ।

स्थानीय स्तरमा खाने तेलको भाउ बढेर कीर्तिमानी स्तरमा उक्लिएपछि इन्डोनेशियाले मूल्य नियन्त्रण गर्न र घरेलु स्तरमा आपू्ूर्ति सुनिश्चित गर्न मेमा प्रतिबन्धको घोषणा गरेको थियो । तर सो निर्णयको प्रभाव उल्टो देखियो । पाम बजारमा इन्डोनेशियालाई उछिनेर मलेशिया अगाडि पुग्यो । प्रतिबन्धका कारण साना किसानहरु मरमा परे । पाम आयल थुप्रिएर बस्यो । 

निर्यात प्रतिबन्धका कारण पाम खेति गर्ने किसानहरु मरमा परेपछि इन्डोनेशिया सरकारले तीन हप्ता नपुग्दै निर्यातमा लगाएको बन्देज फुकायो । प्रभाव कम गर्न सरकारले मध्य–जुलाईमा निर्यात शुल्कमा छूट दिएरै भएपनि तेलको विक्री बढाउन शुरू गर्यो । अहिले इन्डोनेशियाका पाम तेल विक्रेताहरुले छूट दिएरै भएपनि गुमेको बजार फिर्ता लिने कठिन प्रयास गरिरहेका छन् ।

कीर्तिमानी उच्च विन्दुबाट अहिले पाम तेल फयूचर्स करीब आधाले घटिसकेको छ । प्रतिस्पर्धी तेलको तुलनामा पाम आयल झन भारी छूटमा विक्री भइरहेको छ । इन्डोनेशियाले सेप्टेम्बरका लागि भारतलाई लागत, बीमा र ढुवानी (सीआईएफ)समेत गरेर एक टन पाम आयल ९४० डलरमा दिइरहेको छ । एक टन कच्चा भट्मासको तेलको मूल्य १ हजार २८८ डलर पर्छ । 

प्रतिबन्धपछि तेल किन्न मलेशियातिर लागेका ग्राहकहरुलाई पुनः आफूतिर फर्काउन इन्डोनेशियाली उत्पादकहरुले भारी छूट दिइरहेका छन् । अहिले भारतका लागि मलेशियाको भन्दा इन्डोनेशियाका तेल व्यापारीको आकर्षणा उच्च छ । अहिले मलेशियाको तुलनामा इन्डोनेशियाबाट भारतले प्रतिटन ५ डलर सम्म छूट पाइरहेको छ ।

निर्यात शुल्क पहिलो पटक हटाउँदा जुलाई–अगष्टको बीचमा यो छूट १५ डलरसम्म थियो । गएको महीना भारत भ्रमणमा आउँदा इन्डोनेशियाका व्यापार मन्त्री जुक्लिफ्ली हसनले भारतलाई आफ्नो देशबाट थप पाम आयल किन्न अनुरोध गरेको बताइएको छ । 

निर्यात छूट र भारतको उच्च मागबीच इन्डोनेशियाको स्टक पनि विस्तारै सामान्य स्तरमा फर्किरहेको छ । तर एक पटक स्टक घटेपछि यसले पुनः निर्यात महसुल लगाउन थाल्नेछ । इन्डोनेशियाले पाम आयलमा लगाएको करबाटै राजस्वको ठूलो हिस्सा संकलन गर्छ । असीमित समयसम्म निर्यात छूट दिन सक्ने अवस्थामा उ छैन । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement