चितवन । चितवनका दुग्ध उत्पादक किसानहरूले दूध आयात अनुमति फिर्ता नलिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघले मंगलवार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी सरकारको निर्णय नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अधयक्ष रत्नमणी न्यौपानेले यहांँका किसान देशलाई चाहिने दूध उत्पादन गर्न सक्षम रहेको भन्दै अनुमति फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।
भारतबाट गुणस्तरहीन दूध ल्याई दूध डेरी र उपभोत्ताबीच द्धन्द्ध सिर्जना गरेको उनीहरुको आरोप छ ।
विगत लामो समयदेखि प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः शुरू गर्ने सरकारको निर्णयले किसानहरू विस्थापित हुने भन्दै गलत निर्णय तत्काल सच्याउन उनीहरूले माग गरेका छन् ।
डेरीहरूले किसानको बक्यौता नतिर्दै आयात अनुमति दिंँदा उनीहरूको लाखौ रुपैयाँ डुब्ने जोखिम बढेको पनि उनीहरूको भनाइ छ ।
सरकारले बि. सं. २०७५ सालबाट दूध आयातमा रोक लगाएको थियो । तर अहिले बिचौलियालाई पश्रय दिन आयात अनुमति दिएको भन्दै निर्णय कार्यान्वयन भए चरणबद्ध आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।
आयात अनुमति दिने निर्णय नसच्चिए चितवनबाट नै आन्दोलनका कार्यक्रम शुरू गरिने उनीहरुको भनाई छ ।
‘हामी अझैपनि निर्णय सच्चिन्छ भन्ने आशमा छौं' संघका सचिव किशोर बगालेले भने, 'नसच्चिए भारतबाट आएको दूध नारायणीमा बगाइदिन्छौं ।’
सरकारले आयातलाई अनुमति दिनुभन्दा किसानलाई उत्पादन वृद्धितर्फ प्रोत्साहन गर्नुपर्ने उनीहरुको माग छ ।
‘आयात बन्द गरोस यसको सट्टा पांँच हजार गाई पाल्न प्रोत्सान गरोस हामी उत्पादन बढाउन तयार छौं ।’ बगालेले भने ।
केरा किसान, माछा किसान पनि आयात रोक्न सडकमा रहेको भन्दै आफूहरु पनि दूधको आयात रोक्न सडकमा बस्न तयार रहेको उनीहरुको भनाइ छ ।
चितवनमा अहिले ६८ हजार भन्दा बढी दुधालु गाई र भैसी पालिएका छन् । यसबाट दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यस मध्ये ४५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्की लगायतका जिल्लामा जाने गरेको संघले जानकारी दिएको छ ।