ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

फस्टाउँदो धुवाँरहित उद्योग

२०७९ असोज, ५  
लेख | दृष्टिकोण
Image Not Found
author avatar एमके कुलुङ

विश्वभरि पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिइएको छ । नेपालको धुवाँरहित उद्योगअन्तर्गत होटेल, मोटेल, कटेज, रिसोर्ट, मचान, गेस्ट हाउस, लज, घर–वास (होमस्टे) आदिलाई लिन सकिन्छ ।

हालसम्म स्वदेशी तथा विदेशी होटेलहरूले नेपालको होटेल उद्योगमा १८/१९ देखि २१/२२ खर्ब नेपाली रूपैयाँ लगानी गरिसकेका होलान् भनी अनुमान गर्न सकिन्छ ।

तर, समग्र पर्यटनअन्तर्गतको परिभाषा भने अलि बृहत् छ । जस्तै पदयात्रा, पर्वतारोहण, जलयात्रा, बरफ आरोहण, जंगल सफारी, निकुञ्ज घुम्ने, बन्जी जम्पिङ, चरा अवलोकन, माछा मर्ने, शिकार खेल्ने, हट एयर बलुनिङ, जिप फ्लायर, चट्टान आरोहण, कायाकिङ, साइक्लिङ, मोटर बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, सांस्कृतिक भ्रमण, मेडिकल टुर, योग पर्यटन, गाउँ अवलोकन भ्रमण, शहर अवलोकन भ्रमण अर्थात् सिटी टुर, सम्पदा अवलोकन, मठमन्दिर, गुम्बा, चैत्य, छोर्तेन, मस्जिद आदि धार्मिकस्थलको अवलोकन र भ्रमण आदिलाई समग्र पर्यटनमा समेट्ने गरिन्छ ।    

होटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, घरवास (होमस्टे) आदिलाई पर्यटनको मेरूदण्डकै रूपमा लिनुपर्ने हुन्छ । किनभने, कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै उसलाई सबैभन्दा पहिले वास बस्ने व्यवस्था हुन जरूरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? कहाँ जाने भन्ने चिन्ता गर्छ । अथवा अर्को शब्दमा भन्नु पर्दा कुनै पनि मान्छेले आफ्नै देशभित्र आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै (आफन्त वा नातागोताकहाँ बाहेक) उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । अर्को महत्त्वपूर्ण कुरो, जसले एक रात आफ्नो घर वा देश छाडेर बाहिर रात बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य दुवै) मान्ने भन्ने संयुक्त राष्ट्रसंघसँग आबद्ध विश्व पर्यटन संगठन (यूएन डब्ल्यूटीओ) को मान्यता वा भनौं परिभाषा रहेको छ । आन्तरिक वा बाह्य पर्यटन बारेको परिभाषा हेर्दा भारतीय सीमाक्षेत्रका होटेल वा लजमा बसेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दिउँसो एकैछिन (४–५ घण्टा) नेपाल घुमेर वास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मावलम्बीहरू) पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? उनीहरूलाई पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।   

नेपालको होटेल उद्योगको कुरो गर्दा ‘दिन दुई गुणा रात चौगुणा’ले उन्नति/प्रगति भइरहेको देखिन्छ, कोरोना महामारी शुरू हुनु अघिदेखि नै । लगभग ४ वर्षअघि नै नेपालको होटेल उद्योगमा लगभग १० खर्ब नेपाली रुपैयाँ बराबरको लगानी भइसकेको थियो । यस सम्बन्धमा आर्थिक अभियान दैनिकको सहप्रकाशन, ‘बिजिनेश एज’मा सन् २०१७ को मे महीनामा प्रकाशित रिपोर्टअनुसार सन् २०१६ मा मात्रै स्वदेशी तथा विदेशी होटेल (चेन होटेल) होटेल व्यवसायीहरूले नेपालको होटेल उद्योगमा ६ खर्ब नेपाली रुपैयाँ लगानी गरेका थिए । त्यो आधारमा हेर्दा हालसम्म स्वदेशी तथा (विदेशी होटेल चेन) होटेलहरूले नेपालको होटेल उद्योगमा १८/१९ देखि २१/२२ खर्ब नेपाली रुपैयाँ लगानी गरिसकेका होलान् भनी अनुमान गर्न सकिन्छ । ३ वर्षअघि नै कैलाली जिल्लाको धनगढीलगायत विभिन्न स्थानमा होटेल उद्योगमा लगभग ९ अर्ब नेपाली रुपैयाँ लगानी भएको भनी समाचार आएको थियो । अझै पनि नेपालका पर्यटकीय सम्भावना रहेका विभिन्न क्षेत्र र ठाउँमा होटेल खोल्ने क्रम जारी रहेको छ । कोरोना महामारीपछि पर्यटन उद्योग कसो नतंग्रेला भनी नेपालको होटेल उद्योगमा विदेशी लगानी (चेन होटेलको रूपमा) पनि भित्रिरहेकै देखिन्छ । स्वदेशी लगानीकर्ताले पनि कोरोनापछिको सम्भावनालाई ध्यानमा राखेर होटेलमा लगानी गर्ने क्रम रोकिएको छैन ।

सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लाको माथिल्लो भेगमा रहेको हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल ‘मुक्तिनाथ’को भ्रमण गरेपछि भारतीय हिन्दू धर्मावलम्बीको घुइँचो लाग्न थालेको थियो । तर, कोरोना महामारीका कारण यो क्रम रोकिएको छ । यसरी भारतीय हिन्दू धर्मावलम्बीलगायत अन्य देशका पर्यटकको चाप बढ्न थालेपछि मुुस्ताङ जिल्लाको मुक्तिनाथलगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटेल खुल्ने क्रम बढ्दो क्रममा रहेको छ । सन् २०१५ ताका मुक्तिनाथ क्षेत्र वरिपरि १५ ओटा पर्यटकीय स्तरका होटेल थिए भने हाल यस्ता होटेलको संख्या २३/२४ पुगेको छ ।

सन् १९९३/९४ तिर यो पंक्तिकार टे«किङ मजदूरका रूपमा पहिलोपटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईओटा मात्रै साधारण (पर्यटक बस्नलायक) होटेल देखेको थियो । त्यो बेला थोराङपास ट्रेकिङ रूटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रूटहरूमा होटेल वा लज हुन्थेन । होटेल वा लज उपलब्ध नहुने भएकैले प्रायः क्याम्पिङ टेक गर्ने प्रचलन रहेको थियो । मुक्तिनाथ दर्शन गर्न आउने धेरैजसो भारतीय र नेपाली हिन्दू तीर्थयात्रीहरू पाटी, पौवा, धर्मशालामा वास बस्थे भने यूरोप, अमेरिकालगायत देशका पदयात्री चाहिँ क्याम्पिङ (पाल टाँगेर) गरेर बस्थे ।

३ वर्षअघि (कोरोना महामारी शुरू हुनुअघि) को तथ्यांकअनुसार नेपालको होटेलसँग वार्षिक २५ लाख विदेशी पर्यटक धान्न सक्ने बेड क्षमता रहेको छ । यसबीचमा केही नभए तापनि १९/२० हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हेर्दा हाम्रो मुलुकमा होटेल क्षेत्रले अपेक्षा गरेभन्दा छिटो प्रगति गरेको मान्न सकिन्छ । त्यहीअनुसार विदेशी पर्यटक नेपाल भ्रमणमा आएनन् भने होटेलमा लगानी गरेका लगानीकर्ताले कहिले नाफा कमाउलान् ?, सञ्चालन खर्च उठाउनै कठिन पर्ने देखिन्छ । धेरैजसो लगानीकर्ताले आफ्नै पकेटको पैसाभन्दा पनि बैंक तथा वित्त कम्पनीहरूसँग ऋण लिएर लगानी गरेका छन् । सहरबजारमा खुलेका ‘होस्टेल’ र ‘होमस्टे’हरू तारे होटेलका लागि प्रतिस्पर्धीका रूपमा रहेका छन् । काठमाडौंलगायत सुविधा सम्पन्न क्षेत्रमा ‘होस्टेल’ र ‘होम स्टे’हरू चलाउन दिनु हुँदैन’ भनी ठूला/तारे होटेलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बद्ध निकायले ध्यान दिने र सम्बोधन गर्ने हो कि ? नीति निर्माताहरूले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।

लेखक पर्यटनकर्मी हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement