ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

देश टाट पल्टिएपछि के हुन्छ ?

जनताले भोग्नुपर्छ थुप्रै सास्ती

२०७९ असोज, ५  
लेख | दृष्टिकोण
Image Not Found
author avatar प्रकाश भण्डारी

हुन त कुनै पनि देश टाट पल्टनै सक्दैन भन्ने सिद्धान्त छ । यो सिद्धान्तअनुसार यदि कुनै देशले विदेशी तथा स्वदेशी ऋणको भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुनु भनेको टाट पल्टेको अवस्था नभई ऋण तिर्न असमर्थ भएको अवस्था मात्र हो । यसै परिप्रेक्ष्यमा यो आलेखमा पनि देश टाट पल्टेको भन्ने सन्दर्भलाई आर्थिक तथा वित्तीय दायित्व निर्वाह गर्न असमर्थ हुने अवस्थाका रूपमा मात्र इंगित गर्न खोजिएको छ ।

विदेशी ऋण चुक्ता गर्न असमर्थ हुने अवस्थाका अतिरिक्त मुद्रास्फीति नियन्त्रणभन्दा बाहिर गई अत्यधिक हुनु, खाद्यान्न तथा लत्ताकपडाको मूल्य आकाशिएर सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्नु आदि कारणले अर्थतन्त्र संकटमा पर्छ ।

सन् २००१ मा ८१ अर्ब डलर बराबरको ऋण चुक्ता गर्न असमर्थ भएपछि अर्जेन्टिनाले आफू टाट पल्टेको घोषणा गर्‍यो । तर, यसरी टाट पल्टेको घोषणा गर्दैमा त्यो मुलुकको सार्वभौमिकता खतरामा परेन । वास्तवमा त्यो एक प्रकारको व्यावसायिक दिवालियापन थियो, सार्वभौमिकताको दिवालियापन थिएन ।

जब सन् २००९ मा ग्रीसले पनि आफूलाई टाट पल्टेको घोषणा गर्‍यो । उसलाई पनि अन्तरराष्ट्रिय जगत्ले वित्तीय रूपमा विक्षिप्त मुलुकका रूपमा ग्रहण गर्न थाल्यो । यसबाट मुक्ति पाउन ग्रीसले अन्तरराष्ट्रिय मुद्राकोष, यूरोपेली केन्द्रीय बैंक तथा यूरोपेली आयोग जस्ता मौद्रिक उद्धारकर्ताहरूसँग गरेको याचनापछि करीब २४० अर्ब यूरो बराबरको सहयोग प्राप्त गरेपछि उसले आफ्नो अर्थतन्त्रलाई पुनर्जागरण गर्न सफल भएको थियो । अन्तरराष्ट्रिय मुद्राकोषको ऋण चुक्ता गर्न विफल हुने पहिलो विकसित मुलुक पनि ग्रीस नै हुन पुग्यो । त्यसैगरी अठारौं र उन्नाइसौं शताब्दीभरिमा स्पेन पनि १५ पटक यस्तो ऋण चुक्ता गर्न विफल भएर टाट पल्टेको थियो । इतिहासमा रूस सन् १९९८ मा, उरुग्वे २००३ मा, इक्वेडर २००८ मा टाट पल्टिसकेका छन् ।

मुलुक किन र कसरी टाट पल्टन्छ ?
विदेशी ऋण चुक्ता गर्न असमर्थ हुने अवस्थाका अतिरिक्त मुद्रास्फीति नियन्त्रणभन्दा बाहिर गई अत्यधिक हुनु, खाद्यान्न तथा लत्ताकपडाको मूल्य आकाशिएर सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्नुजस्ता आदि कारणले कुनै पनि देशले आफ्नो अर्थतन्त्रलाई सम्हाल्न नसक्ने अवस्था आउँछ । त्यस्तो अवस्थामा त्यस्ता देशले आफूलाई ‘टाट पल्टेको’ घोषणा गर्न सक्छन् । जस्तो केही महिनाअगाडि यस्तै परिस्थिति उत्पन्न भएपछि श्रीलंकाले आफूलाई टाट पल्टेको घोषणा गरेको थियो ।

त्यसैले कुनै पनि देश कसरी टाट पल्टने रहेछ भनेर बुझ्न श्रीलंकालाई नै हेरे पुग्छ । अहिले श्रीलंका जुन आर्थिक संकटमा चलिरहेको छ त्यसको पछि धेरै कारण रहेका छन् । यीमध्ये महत्त्वाकांक्षी रूपमा धान्नै नसक्ने गरी सरकारले गरेको सार्वजनिक खर्चलाई एक प्रमुख कारणको रूपमा लिन सकिन्छ । एकातिर उच्च सरकारी खर्च र अर्कोतिर त्यही खर्चको जोहो गर्न भनेर लिएको विदेशी ऋणका कारण श्रीलंका ऋणको पासोमा बाँधिदै गएको देखिन्छ । विशेष गरी चीनसँगको ऋण पासोमा परेर पनि श्रीलंका अहिले टाट पल्टने अवस्थामा पुगेको बताइन्छ । एकातिर खर्च तथा ऋणको मात्रा अत्यधिक रूपमा बढ्नु र अर्कोतिर त्यसको आपूर्ति हुने राजस्वको दरमा कटौती गर्नुले पनि श्रीलंकाली अर्थतन्त्र दुईतर्फी मारमा परेको देखिन्छ । फेरि जैविक कृषिको नाममा सञ्चालित अभियानको कारण कृषि उत्पादकत्वमा आएको ह्रासले अर्थतन्त्रलाई थप धराशयी बनायो । परिणामस्वरूप त्यहाँको मुद्रास्फीति ११ दशमलव १ प्रतिशतभन्दा माथि पुगी सर्वसाधारणलाई खाद्यान्न किन्न नै धौधौ भएपछि त्यसको व्यवस्थापनको जिम्मा सैनिकलाई सुम्पनुपर्नेसम्मको अवस्था आयो ।

आन्तरिक उत्पादन कम भएपछि र कोभिडका कारण पर्यटन उद्योगमार्फत आर्जन गर्न सकिने विदेशी मुद्रामा तीव्रतम ह्रास आएपछि सञ्चित विदेशी मुद्राको भण्डार अहिले दैनिक उपभोग्य वस्तुसमेत आयात गर्न असमर्थ हुने गरी पूरै रित्तियो । यी सबै कारणले गर्दा श्रीलंकाले आफूलाई टाट पल्टेको घोषणा गर्‍यो । उसको यो अवस्थाको अध्ययनबाट कुनै पनि देश कसरी र किन टाट पल्टने रहेछ भनेर सजिलै बुझ्न सकिन्छ ।

कतिपय देशमा राजनीतिक खिचातानीले पनि आर्थिक दुरवस्थालाई निम्त्याएको देखिन्छ । युक्रेनको रूससँगको विवादले उसको अर्थतन्त्र निकै धराशयी भएको अहिलेको ज्वलन्त उदाहरण हो ।

कुनै पनि देशका लागि अहिले विदेशी लगानी एक महत्त्वपूर्ण आर्थिक मेरूदण्डका रूपमा रहेको हुन्छ । तर, विभिन्न कारणले यसलाई आकर्षित गर्न नसक्दा वा नीतिगत कारणले लगानी फिर्ता गर्नुपर्ने अवस्थाको सृजनाले पनि कतिपय मुलुक आर्थिक रूपमा टाट पल्टिएका उदाहरण देखिन्छ ।

उच्च भ्रष्टाचार, गैरजिम्मेवार राजनीति, नातावाद, कृपावाद, महत्त्वाकांक्षी योजनाजस्ता आदि कारणले पनि कुनै देशलाई टाट पल्टने अवस्थामा पुर्‍याउन सक्छन् । साथै, उच्च विदेशी ऋण अर्को महत्त्वपूर्ण कारण हो ।

टाट पल्टिएपछिका दुष्प्रभाव
विशेष गरी खराब मौद्रिक नीतिलाई यसका लागि बढी जिम्मेवार मानिन्छ तापनि कुनै पनि देश टाट पल्टनुको पछाडि धेरैओटा आर्थिक तत्त्वले भूमिका खेलिरहेका हुन्छन् । फेरि विगतमा लिएको ऋण तथा ब्याज चुक्ता गरेको इतिहासका आधारमा पनि देशहरूको वित्तीय अनुशासनबारे मूल्यांकन हुने भएकाले यदि विगत सकारात्मक छैन भने उद्धारकर्ता निकायहरूबाट अपेक्षित सहयोग प्राप्त गर्न नसक्ने कारणले पनि देशहरू समस्याग्रस्त हुन सक्छन् ।

व्यावसायिक व्यक्ति वा फर्महरूले ऋण चुक्ता गर्न नसकेपछि धितोमा रहेको सम्पत्तिमाथि ऋणदाताको स्वामित्व हुने जस्तो प्रावधान देशको हकमा भने लागू हुँदैन र नभएको पैसा चुक्ता गर्न कुनै पनि देश बाध्य पनि हुँदैन । तर, आफ्नो देशबाहिर स्वामित्वमा रहेको सम्पत्ति भने ऋणी देशले गुमाउन पनि सक्छ । जस्तो कि अर्जेन्टिना जब २०१२ मा टाट पल्टियो, उसको घानामा आफ्नो जल सेनाले तालीमका लागि उपयोग गर्ने गरी राखेको जहाज जफत गरियो ।

देश टाट पल्टेपछि त्यसले बैंकिङ क्षेत्रमा संकट निम्त्याउने कुरा त झन् निर्विवाद छ । त्यसैले यस्तो संकटबाट उन्मुक्ति पाउन ग्रीकमा सन् २०१५ मा करीब २० दिन सम्पूर्ण बैंक बन्द गरिनुका साथै विदेशमा रकम स्थानान्तरण माथि पनि पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो । पछि बैंक खुलेपछि पनि प्रतिदिन ५० यूरोभन्दा बढी रकम निकाल्न नपाउने नियम लगाइयो ।

टाट पल्टेको मुलुकले पुनः सहज रूपमा कर्जा पाउने अवस्था रहँदैन । यस्तो कर्जा सुविधाबाट वञ्चित भएपछि ऊ आर्थिक संकटको भुमरीमा देश फस्न सक्छ । पाएको ऋण पनि जोखिमका कारण ऋणीले उच्च ब्याज लगाउने सम्भावना रहन्छ । न्यून क्रेडिट रेटिङका कारण विदेशी लगानी पनि ठप्प हुन सक्छ ।

श्रीलंकामा आज मानिसहरू पेट्रोलदेखि लिएर दैनिक उपभोग्य आवश्यकताका वस्तुहरूसमेत किन्न नपाउने अवस्थामा छन् । बढ्दो बेरोजगारीको मार पनि जनताले नै बेहोर्नुपर्छ । यसरी देश टाट पल्टिएपछि जनता चरम आर्थिक संकटमा हिँड्नुपर्ने स्पष्ट छ ।

लेखक बैंकर हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement