काठमाडौं । विश्व शेयर बजार बुधवार ओरालो लागेको छ । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ को नीतिगत बैठकको निर्णयको पखाईमा लगानीकर्ताहरुले लगानी थाँती राखेपछि एशियादेखि यूरोपसम्मकै शेयर बजारहरु ओरालो लागेका हुन् ।
बुधवार जापानबाहिर एशिया–प्रशान्त क्षेत्रको एमएससीआईको बृहत शेयर परिसूचक १ प्रतिशतले घटेको थियो । अघिल्लो दिनको कारोबारमा अमेरिकी शेयर बजारमा सेल–अफ देखिएपछि सोको प्रभाव एशिया र यूरोपको शेयर बजारमा पोखिएको हो ।
यद्यपि, शेयर फयूचरहरुले भने बुधवार अमेरिकी शेयर परिसूचकहरु थेरै बढेर खुल्ने देखाएका छन् । बुधवारको कारोबारमा जापानमा निक्केई २२५ परिसूचक १ दशमलव ३६ प्रतिशतले घटेर २७ जार ३१३ दशमलव १३ अंकमा आएको छ ।
अष्ट्रेलियामा पनि एएसएक्स परिसूचक पनि १ दशमलव ५९ प्रतिशतले घटेर ६ हजार ६८२ दशमलव ३ अंकमा समेटिएको थियो । हङकङमा हाङशेङ १ दशमलव ६७ प्रतिशतले घटेर १८ हजार ४६७ दशमलव ३२ मा आउँदा चीनमा साङहाई कम्पोजिट इक्डेक्स शून्य दशमलव १७ प्रतिशतले घटेको थियो ।
दक्षिण कोरियामा कोस्पी पनि शून्य दशमलव ८७ प्रतिशतले घटेर २ हजार ३४७ दशमलव २१ अंकामा ओलियो । ताइवान, भारत, बैंकक, इन्डोनेशिया, लगायत यस क्षेत्रका अन्य प्रमुख शेयर बजार पनि रातोमै थिए । सिंगापुरमा भने बजार हरियोमा थियो ।
उता यूरोपमा पनि यो समाचार तयार पार्दा खेरि बजार मिश्रीत थियो । बेलायतमा फुट्सी शून्य दशमलव १५ प्रतिशत बढेर ७ हजार २०३ दशमलव १७ अंकमा थियो । फ्रान्सको क्याक४० र जर्मनीमा डीएएक्स भने ओरालो लागेका थिए ।
यो समाचार तयार पार्दाखेरि क्याक४० शून्य दशमलव ७ प्रतिशत तल झर्दै ५ हजार ९३७ दशमलव ५८ मा आएको थियो । डीएएक्समा पनि शून्य दशमलव ८६ प्रतिशतको कमीसहित १२ हजार ५६१ दशमलव ५२ कायम भएको थियो ।