ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार दोस्रो महीना पनि खस्कियो राजस्व संकलन, 'एउटा प्वाल टाल्न खोज्दा अर्कोबाट चुहिँदै'

२०७९ असोज, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । आयातमा कडाइको सीधा असर सरकारले भन्सारबाट उठाउने राजस्वमा परेको छ ।

राजस्वमा मुख्य योगदान रहेको इन्धन र गाडी आयातमा कमी आएपछि वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेको छैन । 

आयातनिर्यात परिमाणका आधारमा सबैभन्दा ठूलो मानिएको वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को शुरूका २ महीनामा लक्ष्यभन्दा कम राजस्व उठाएको छ । प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार यो भन्सारले गत साउन र भदौमा लक्ष्यको ७९ प्रतिशतमात्रै राजस्व उठाएको छ । 

इन्धन र गाडीको आयात घटेपछि राजस्व प्रभावित भएको प्रमुख भन्सार अधिकृत बरुवालले बताए । ‘यो नाकामा सबैभन्दा बढी राजस्व आउने भनेको इन्धन र गाडीबाट हो । यी वस्तुकै आयात घटेपछि राजस्व अपेक्षाअनुसार उठ्न सकेन,’ उनले भने । 

सरकारले निजी प्रयोजनका कार जीप भ्यानजस्ता गाडी आयातमा कडाइ गरेको छ । बैंकहरूले पनि त्यस्ता गाडीमा कर्जा लगानी नगर्दा बजारमा माग घटेको छ । आयातकर्ताले भन्सारमा आइसकेका गाडीसमेत जाँचपास गराएका छैनन् । अहिले वीरगञ्जको एकीकृत जाँच चौकी भन्सारमा मात्रै १ हजार ८ सयभन्दा बढी गाडी थन्किएको नेपाल इन्टरमोडल यातायात विकास समितिको वीरगञ्ज कार्यालयका प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

चालू आवका लागि वीरगञ्ज भन्सारलाई दिइएको राजस्व लक्ष्यसमेत बढी भएको भन्सारका अधिकारीहरू बताउँछन् । सरकारले आयात नियन्त्रणको उपाय अपनाइरहेका बेला भन्सारको राजस्व लक्ष्य भने बढाएको थियो । गत आवमा २ खर्ब ४ अर्ब रुपैयाँ रहेको लक्ष्य बढाएर चालू आवका लागि २ खर्ब ६० अर्ब रुपैयाँ पुर्‍याइएको थियो । 

कति उठ्यो राजस्व ? 
वीरगञ्ज भन्सारले बितेको २ महीनामा २७ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा २१ प्रतिशत कम हो । यस अवधिका लागि भन्सारलाई ३४ अर्ब ४९ करोड रुपैयाँको लक्ष्य दिइएको थियो ।

गत आव २०७८/७९ को उक्त अवधिमा लक्ष्यभन्दा ७ प्रतिशत बढी राजस्व उठेको थियो । ती २  महीनामा वीरगञ्ज भन्सारले ३२ अर्ब ५५ करोड रुपैयाँ असुलेको तथ्यांक छ । 

घट्यो वैदेशिक व्यापार
वीरगञ्ज नाकाबाट चालू आवको २ महीनामा पोहोरको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार पनि घटेको देखिन्छ । कुल व्यापार १६ प्रतिशतले घटेको छ । 

यो वर्ष साउन र भदौमा १ खर्ब ७ अर्ब रुपैयाँको व्यापार भएको देखिन्छ । यो आकार गतवर्षको शुरूको २ महीनामा १ खर्ब २७ अर्ब रुपैयाँबराबर थियो । आयात ६ प्रतिशतले घट्दा निर्यातको मूल्यमा ६५ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष प्रशोधित खानेतेल निकासी भएकोमा यो वर्ष त्यसको निकासी खस्किएको छ । व्यापारघाटा ८ दशमलव ४ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)