ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तथ्यांकीय प्रयोजनमैत्री वस्तु वर्गीकरण

अन्तरराष्ट्रिय अभ्यासलाई नेपालले पनि अनुसरण गर्नुपर्छ

२०७९ असोज, ६  
लेख | दृष्टिकोण
Image Not Found
author avatar कृष्णराज बजगाईं

वस्तु वर्गीकरणमा प्रचलनमा रहेको एचएसकोड अन्तरराष्ट्रिय व्यापारको सम्पर्क भाषाका रूपमा परिचित छ । यस वर्गीकरणका विभिन्न किसिमका प्रयोजनमध्ये तथ्यांकीय प्रयोजन पनि महत्त्वपूर्ण पक्षका रूपमा रहेको छ । विभिन्न देशले मुलुकको वैदेशिक व्यापार नियमनमा एचएस वर्गीकरणलाई भन्सार राजस्व र तथ्यांकीय प्रयोजनलक्षित गरी विभिन्न व्यवस्था गरेका छन् । विश्व भन्सार संगठनले पनि एचएस वर्गीकरणमा तथ्यांकीय प्रयोजन महत्त्वपूर्ण पक्षका रूपमा रहेको उल्लेख गरेको छ ।

विश्वका विभिन्न देशले एचएसकोड वर्गीकरणमा न्यासनल ट्यारिफ लाइन (भन्सार महसुल दरबन्दी)मा प्रयोगमा आउने ८ अंकको कोडिङमा देशको आवश्यकता अनुसार दुई–दुई अंक थप्दै तथ्यांकीय प्रयोजनको स्तम्भमा विस्तृत वर्गीकरण गर्ने गरेका छन् । यसको ज्वलन्त उदाहरणका रूपमा संयुक्त राज्य अमेरिका (अमेरिका) र टर्कीलाई लिन सकिन्छ ।

अमेरिकामा अन्तरराष्ट्रिय व्यापारको प्रयोजनका लागि गरिने वस्तु वर्गीकरण संयुक्त राज्य अन्तरराष्ट्रिय व्यापार कमिशन (यूएसआइटिसी) ले गर्ने गर्छ । उक्त कमिशनले जारी गरेको ट्यारिफ सेड्युलमार्फत नै अमेरिकाको अन्तरराष्ट्रिय व्यापार सञ्चालन हुने गरेको छ । उक्त ट्यारिफ सेड्युलको संरचनामा ६ अंकीय कोड विश्व भन्सार संगठनबाट जारी गरिएको सूचीअनुसार तय गरिएको हुन्छ, थप दुईओटा अंक भन्सार दरको प्रयोजनका लागि लागू गरिएको छ ।

अमेरिकाबाट जारी ट्यारिफ सेड्युलको मुख्य विशेषता भनेको मौसम, आकार, प्रयोजन र गुणका आधारमा भन्सार दरहरू तय हुने गरी वस्तुहरूको वर्गीकरणको व्यवस्था हुनु हो । उदाहरणका लागि टमाटरको वर्गीकरणलाई लिन सकिन्छ । टमाटरका लागि भन्सार महसुल प्रयोजनका लागि ०७१०९०४०, ०७१०९०४५, ०७१०९०५० गरी ३ ओटा एचएसकोडको व्यवस्था गरिएको छ । मार्च १ देखि जुलाई १४ तथा सेम्टेम्बर १ देखि नोभेम्बर १४ सम्म अमेरिका भित्रिने टमाटरका लागि एचएसकोड ०७१०९०४० अन्तर्गत राखी प्रतिकेजी २.९ सेन्ट भन्सार दर कायम गरिएको छ । जुलाई १५ देखि अगस्त ३१ सम्म संयुक्त राज्य अमेरिका भित्रिने टमाटरका लागि एचएसकोड ०७१०९०४५ अन्तर्गत राखी प्रतिकेजी २.१ सेन्ट भन्सार दर कायम गरिएको छ । यस्तै गरी नोभेम्बर १५ देखि फेब्रुअरी महीनाभरि अमेरिका भित्रिने टमाटरका लागि एचएसकोड ०७१०९०५० अन्तर्गत राखी प्रतिकेजी २.१ सेन्ट भन्सार दर कायम गरिएको छ ।

काँक्रोको आयातमा अमेरिकाको ट्यारिफ सेड्युलमा भन्सार मौसमी तथा तथ्यांकीय प्रयोजनको सम्मिश्रण रहेको पाइन्छ । डिसेम्बर १ देखि फेब्रुअरी महीनाभरि अमेरिका भित्रिने काँक्रोमा ०७०७००२० एचएसकोडअन्तर्गत प्रतिकेजी ४.२ सेन्ट भन्सार कायम गरिएको छ । मार्च १ देखि अप्रिल ३० सम्म अमेरिका भित्रिने काँक्रोमा ०७०७००४० एचएसकोडअन्तर्गत प्रतिकेजी ५.६ सेन्ट भन्सार कायम गरिएको छ । मे १ देखि जुन ३० सम्म वा सेम्टेम्बर १ देखि नोभम्बर ३० सम्म अमेरिका भित्रिने काँक्रोमा ०७०७००५० एचएसकोडअन्तर्गत प्रतिकेजी ५.६ सेन्ट भन्सार कायम गरिएको छ । यस एचएसकोडअन्तर्गत तथ्यांकीय प्रयोजनका लागि थप दुई अंक प्रत्ययका रूपमा जोडी दुईओटा थप वर्गीकरण गरिएको छ गुणका आधारमा । ०७०७००५०१० कोड ग्रीन हाउसमा उत्पादित काँक्राका लागि व्यवस्था गरिएको छ भने ०७०७००५०९० कोड ग्रीन हाउसबाहेक उत्पादित काँक्राका लागि व्यवस्था गरिएको छ । जुलाई १ देखि अगस्त ३१ सम्म अमेरिका भित्रिने काक्रोमा ०७०७००६० एचएसकोडअन्तर्गत प्रतिकेजी १.२ सेन्ट भन्सार कायम गरिएको छ । यस वर्गीकरणअन्तर्गत तथ्यांकीय प्रयोजनका लागि दुई अंकका प्रत्यय थपी थप ३ ओटा वर्गीकरणको व्यवस्था गरिएको छ । ०७०७००६०१० यस अवधिमा ग्रीन हाउसमा उत्पादित काँक्रोलाई छुट्याइएको छ भने यस अवधिमा ग्रीन हाउसबाहेक १५ इन्चसम्म लामो र १ हजार पाउन्ड वा त्योभन्दा बढी बल्क परिमाण भएको उत्पादित काँक्रो आयात प्रयोजनका लागि ०७०७००६०३० को व्यवस्था गरिएको छ । यसैगरी त्योभन्दा लामो र कम बल्क परिमाणमा भित्रिने काँक्राका लागि ०७०७००६०५० कोडको व्यवस्था गरिएको छ । (स्रोत : हार्मोनाइज्ड ट्यारिफ सेड्युल अफ युनाइटेड स्टेट अफ अमेरिका, रिभिजन, १२ ( २०२१)

यसरी एउटा काँक्रोलाई तथ्यांकीय प्रयोजन, मौसमी, गुण र परिमाण प्रयोजनका आधारमा ९ ओटा कोडको व्यवस्था गरिएको छ । चियाको वर्गीकरण गर्दा पनि यही पद्धतिको अनुसरण गरिएको छ, जो यसप्रकार रहेको छ ।

टर्कीको व्यापार मन्त्रालयको वेबपेजमा प्रकाशित सूचनाका आधारमा हेर्दा टर्कीले अमेरिकाको भन्दा एक तह माथि अंकहरू थपेर १२ अंकीय कोडको आफ्नै विशिष्ट व्यवस्था गरको पाइन्छ । कस्टम ट्यारिफ स्टाटिस्टिक्स पोजिसनअनुसार पहिलो ६ अंक विश्व भन्सार संगठन सृजित वर्गीकरणलाई अनुसरण गरिएको छ । त्यसपछिको सातौं र आठौं कोड चाहिँ यूरोपेली संघका सदस्य देशहरूले लागू गरेको कोडअनुसार व्यवस्था गरिएको छ नवौं र दशौ अंक चाहिँ देशको कर प्रणालीको आवश्यकतालाई दृष्टिगत गरी नेशनल सबहेडिङको प्रयोजनका लागि अंगीकार गरिएको छ । यस्तै ११औं र १२औं अंक चाहिँ तथ्यांकीय प्रयोजनका कोडहरूमा रहेका छन् । सेन्थेटिक कपडाका लागि टर्कीले जारी गरेको १२ डिजिटमा रहेको वर्गीकरण ५४.०७.६१.९०.९०.११ हो ।

उपर्युक्त उदाहरणहरूलाई दृष्टिगत गर्दै नेपालले पनि मौसम, आकार, मूल्य, प्रयोजन र गुणलाई आधार मानी वस्तुहरूको वर्गीकरण गर्नु आवश्यक देखिन्छ । नेपालमा वस्तु उत्पादन हुने मौसम र नहुने मौसमका लागि अलगअलग कोडको व्यवस्था हुनुपर्छ । नश्ल सुधारिएका अधिक र हीन आकार बनाइएका वस्तुहरूका लागि पनि अलगअलग कोडहरू राख्ने परिपाटीको थालनी गरिनुपर्छ । आयातमा वस्तुहरूको मूल्यअनुसार अलगअलग भन्सार महुसल लाग्ने गरी मूल्यका आधारमा पनि सम्भव भएका वस्तुहरूको वर्गीकरण हुन जरुरी छ । यस्तै प्रयोजन (अन्तिम उपभोग या कच्चापदार्थ ) हरूका लागि पनि अलगअलग कोडहरूको व्यवस्था हुन पनि जरुरी छ । यस्तै अग्र्यानिक, रैथाने उत्पादन, मौलिक उत्पादन र त्यसका आधुनिक उत्पादनहरूका लागि पनि अलगअलग कोडहरूको व्यवस्था गर्नु जरुरी छ । यसअतिरिक्त भन्सार दर प्रयोजनबाहेक तथ्यांकीय प्रयोजनका लागि ८ अंकमा नवौं र दशौं अंक थपी वस्तु वर्गीकरणलाई थप वैज्ञानिक बनाउनु जरुरी छ । तथ्यांकमैत्री कोडहरूको व्यवस्था हुन सकेको खण्डमा यसले नेपालको वैदेशिक व्यापारको वास्तविक तस्वीर दर्शाउन मद्दतसमेत मिल्ने देखिन्छ ।

लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement