गोरखा । अर्थमन्त्री जनार्दन शर्माले गोरखाको पालुङटारलाई सूचना प्रविधिमा अघि बढाई स्मार्ट सिटी बनाउनुपर्ने बताएका छन् । यसका लागि संघीय सरकार र अर्थ मन्त्रालयबाट सहयोग गरिने उनले बताए ।
‘इतिहास र वर्तमानमा राजनीतिक उचाइ हासिल गरेको गोरखाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको छ,’ बुधवार जिल्लाको पालुङटारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने । त्यसका लागि ऐतिहासिक लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर पर्यटन विकास अगाडि बढाउनुपर्ने उनले बताए ।
‘स्मार्ट सिटीमा गरीबी र अभाव भन्ने हुँदैन,’ अर्थमन्त्रीले भने, ‘पालुङटारले समृद्धिको त्यो उचाइ पनि हासिल गर्नेछ ।’ अब आन्तरिक उत्पादन बढाएर आयात विस्थापन गर्नुपर्नेमा उनले जोड दिए । देशमा एउटा पनि मल कारखाना नभएको अवस्थामा जापानी कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भौगोलिक अवस्थिति र विद्युत् सुविधाका कारण आफूले यसै क्षेत्रलाई सिफारिश गरेको उनले बताए । दोस्रो लिगलिग पालुङटार महोत्सव उद्घाटनका लागि अर्थमन्त्री शर्मा बुधवार दिउँसो पालुङटार आएका थिए । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा शुरू भएको महोत्सव असोज ११ गतेसम्म चल्ने संघका अध्यक्ष मानबहादुर आलेले बताए ।