ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विद्यार्थी संगठनहरूले गरे विरोध प्रदर्शन

२०७९ असोज, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आज पनि विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलका विद्यार्थी संगठनहरूले बिहीवार माइतीघर मण्डलामा संयुक्तरूपमा विरोध प्रदर्शन गरेका हुन् । 

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन संयुक्तरूपमा बिरोध प्रदर्शनमा सहभागी छन् । 


विरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको आरोप लगाए । उनले बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताए । 

त्यस्तै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको शुरु भएको बताइन् । उनले राष्ट्रपतिलाई शीतल निवासमा बस्ने अधिकार नरहेको भन्दै शीतल निवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन् । उनले नेकपा एमाले निर्वाचन बिरोधी शक्ति भएको आरोप लगाइन् । 

नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाए । उनले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्नु नमिल्ने बताए । उनले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाए । 

नागरिकता विधेयक प्रमाणीकरण नगरिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले भोलि बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने बताएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)