ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

दशैंको मुखमा साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीसँग सकियो चिनी मौज्दात

२०७९ असोज, ६  
उपभोक्ता
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सरकारी कम्पनीसँग सहुलियत दरको चिनी नहुँदा दशैंको मुखमा उपभोक्ता बजारबाट महँगो मूल्यमा चिनी किन्न बाध्य भएका छन् । दशैं, तिहार र छठजस्ता ठूला पर्वका बेला उपभोक्तालाई दैनिक उपभोग्य सामानमा छूट दिने र बजार मूल्य नियन्त्रण गर्न भूमिका खेल्ने सरकारी कम्पनीहरूले यस वर्ष पनि चिनी ल्याउन नसक्दा उपभोक्ता महँगो मूल्यमा चिनी किन्न बाध्य हुनुपरेको हो ।

सरकारी अनुदानको चिनी किनबेचको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चिनी मौज्दात सकिएको छ । यी दुवै कम्पनीलाई भन्सार छूटमा ३० हजार मेट्रिक टन चिनी ल्याउने अनुमति दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३ महीनाअघि अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । साल्ट ट्रेडिङलाई २० हजार र खाद्यलाई १० हजार मेट्रिक टन चिनी आयातमा भन्सार छूट दिन अर्थलाई आग्रह गरिएको थियो । 

तर, अर्थबाट उक्त पत्रको जवाफ अहिलेसम्म आएको छैन । गतवर्ष पनि अर्थ मन्त्रालयकै लापरबाहीले भन्सार छूटको चिनी आयात गर्न नसक्दा चाडपर्वमा उपभोक्ताले महँगोमा चिनी किन्नुपरेको थियो ।

साल्ट ट्रेडिङले भन्सार छूटमा आयात गरेको चिनी उपभोक्तालाई प्रतिकिलो ७९ रुपैयाँमा विक्री गर्छ । तर, अहिले कम्पनीको गोदाम खाली हुँदा उपभोक्ताले बजारबाट किलोमा २६ रुपैयाँ बढी तिरेर चिनी किन्नु परेको छ । ‘पटकपटक फलोअप गर्दा पनि अनुमति नपाएपछि फलोअप नै गर्न छाडिसक्यौं,’ साल्ट ट्रेडिङका सहमहाप्रबन्धक कुमार राजभण्डारीले आर्थिक अभियानसँग भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीले पनि अर्थ मन्त्रालयबाट भन्सार छूटको सहमति नपाउँदा खरीद प्रक्रिया अन्योलमा परेको बताइन् । ‘हामीले निरन्तर फलोअप गरिरहेका छौं । तर, अर्थबाट यस सम्बन्धमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन । दशैंलाई नभए पनि तिहार र छठलाई सहुलियत दरको चिनी उपलब्ध गराउन सकिन्छ कि भनेर हामी लागिपरेका छौं,’ उनले भनिन् ।

दशैं शुरू हुन अब ५ दिनमात्रै बाँकी छ । यस्तो बेलामा सरकारले उपभोक्तालाई राहत दिनुपर्ने हो । तर, बजारको महँगीमा सरकार रमिते मात्रै बनेको देखिन्छ । दशैं, तिहार, छठजस्ता ठूला चाडपर्वका बेला मुलुकमा करीब ७० हजार मेट्रिक टन चिनी माग हुने सरोकारवाला बताउँछन् । यही बेला सरकारी स्वामित्वका कम्पनीका गोदाम खाली छन् । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधर तिहारसम्ममा चिनीको मूल्य अझ माथि पुग्ने अनुमान गर्छन् । जथाभावी मूल्यवृद्धि रोक्ने काम सरकारको हो । सरकारले नै चिनी किन्न नसकेपछि ठूला व्यापारीले अराजक हुन कोसिस गर्नसक्ने उनको धारणा छ ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement