कोलम्बो (श्रीलंका) । श्रीलंकालीहरूमाथिको महँगीको भार कम हुने संकेत देखिएकाे छैन । गत महीना त्यहाँको वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतभन्दा माथि उक्लिएको छ । सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अगष्टमा राष्ट्रिय उपभोक्ता मूल्य सूचक (एनसीपीआई) ७० दशमलव २ प्रतिशत रहेको छ । खाद्यान्न र इन्धनको भाउमा भएको वृद्धिका कारण महँगी अकासिएको हो ।
गत वर्षको सोही अवधिको तुलनामा खाद्यान्नको भाउ ८४ दशमलव ६ प्रतिशतले बढेको छ । गैर–खाद्य वस्तुको भाउ भने समीक्षा अवधिमा ५७ दशमलव १ प्रतिशतले बढेकाे छ । पछिल्लो समय बिजुलीदेखि औषधिसम्म सबैको भाउ बढेको छ । विदेशी मुद्राको चरम अभावबीच हालैका महीनाहरूमा श्रीलंकाको वित्तीय संकटमा चुलिएको छ । पछिल्लो समय त्यहाँ राजनीतिक उथलपुथले पनि कायमै छ ।
रुसले युक्रेनमा हमला गरेपछि विश्व बजारमा इन्धन र खाद्यान्नको भाउ बढ्दा श्रीलंकाको अवस्था झनै खराब बनेको छ । विदेशी मुद्राको अभावमा सरकारले इन्धन, मलखाद, औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्नसमेत सकेको छैन ।
गएको महीना नै श्रीलंकाली केन्द्रीय बैंकले मुद्रास्फीति ७० प्रतिशतको उच्च स्तरबाट ओर्लिने आशा गरेको थियो । तर, यसको ठिक उल्टो महँगी झनै चुलियो ।
अगष्टसम्मको तीन महीनामा अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले खुम्चिएको गएको हप्ता सार्वजनिक भएको एक तथ्यांकले देखाएको छ । श्रीलंका खाद्य मुद्रास्फीति सबैभन्दा उच्च रहेको विश्वका १० देशभित्र पर्दछ । खाद्यान्नको भाउ उच्च हुनुलाई अगामी केही समयसम्म श्रीलंकालीहरूको आर्थिक पीडाले निरन्तरता पाउने अर्थमा हेरिएको छ ।
यो महीनाको शुरुमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र श्रीलंकाबीच २ अर्ब ९० करोड डलरको कर्जाबारे प्राथमिक सम्झौता भएको छ । यो सम्झौता श्रीलंकाले अन्य निजी कर्जादाताहरूबाट ऋण पाउँछ कि पाउँदैन भन्नेमा पनि निर्भर छ । एजेन्सी