ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशकै ठूलो ग्यास आयातकर्ता कम्पनीको राष्ट्रियकरण गर्दै जर्मनी

२०७९ असोज, ६  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

डेसलडफ (जर्मनी) । जर्मनीले देशको सबैभन्दा ठूलो ग्यास आयातकर्ता कम्पनीको राष्ट्रियकरण गर्ने भएको छ । त्यहाँको सरकारले बुधवार बताएअनुसार युनिपरको राष्ट्रियकरणको लागि उसले सहमति जनाएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि रुसमाथि पश्चिमी देशहरुले प्रतिबन्ध लगाएपछि रुससँगको यूरोपेली देशहरुको सम्बन्ध कटु बनेको छ ।

यूरोपेली देशहरुले ग्यास र तेलका लागि रुसमाथिको निर्भरता कम गर्दै लैजाने योजना ल्याएका छन् भने रुसले पनि यूरोपतर्फको आपूर्ति घटाएको छ । यस्तोमा ऊर्जा अभाव हुन नदिन जर्मन सरकारले ग्यास उद्योगका हस्तक्षेप विस्तार गरिरहेको छ । सरकारले युनिपरसँग जुलाईमै उद्धार प्याकेजमा सहमति गरेको थियो ।

सरकारले कम्पनीमा ८ अर्ब यूरो बराबरको लगानी प्रवाह गर्नेछ । यसबापत युनिपरमा सरकारले ९९ प्रतिशत स्वामित्व पाउनेछ । अहिले सो कम्पनी फिनल्यान्डस्थित फोर्टमको नियन्त्रणमा छ । फोर्टममा फिनल्यान्ड सरकारको सबैभन्दा धेरै स्वामित्व छ ।

जर्मनीको ग्यास बजारमा युनिपरको भूमिका निकै ठूलो भएकोले यो सम्झौता आवश्यक भएको जर्मन अर्थमन्त्री रोबर्ट हबेकले भनेका छन् । यद्यपि यो सम्झौता कार्यान्वयनमा आउनु अघि यसलाई यूरोपेली परिषद्ले अनुमोदन गर्नु पर्नेछ । रुसले युक्रेनलाई समर्थन गर्ने देशहरुलाई दिँदै आएको प्राकृतिक ग्यास आपूर्ति कटौती गरेपछि युनिपरको घाटा चुलिएको छ ।

जाडो बढ्दै गइरहेको समयमा ग्यास आपूर्ति अभावबीच घरहरुलाई तातो बनाउन, बिजुली उत्पादन गर्न र कारखानाहरु चलाउन आवश्यक इन्धनको मूल्य बढेको छ भने व्यवसाय नै बन्द हुने, कोटा प्रणाली लागू गर्नु पर्ने वा मन्दी नै निम्तने जोखिम उच्च छ । जाडो यामका लागि इन्धनको आपूर्ति सुरक्षित गर्न यूरोपेली देशहरुलाई अहिले प्राकृतिक ग्यास भन्डारण भर्ने लगायत भ्याइ नभ्याइ छ ।

गएको हप्ता मात्रै जर्मनीले रुसको नियन्त्रणमा रहेको तीन ओटा तेल प्रशोधन केन्द्रहरु आगामी वर्ष देखि लागू हुने गरी आफ्नो नियन्त्रणमा लिएको छ । यीमध्ये दुई प्रशोधन केन्द्र रुसको सरकारी तेल कम्पनी रोसनेफ्टको हो । जर्मनको तेल प्रशोधन क्षमतामा रोसनेफ्टको हिस्सा झन्डै १२ प्रतिशत छ । 

रुसले नोर्ड स्ट्रिम १ पाइपलाइनबाट आउने आपूर्ति रोकेको भएपनि जर्मनीले हिउँदमा हुने इन्धनको माग पूरा  गर्न आफ्नो ग्यास भन्डारण क्षमताको ९० प्रतिशतभन्दा धेरै ग्यास जम्मा गरेर राखेको छ । गर्मीयामको तुलनमा अहिले ग्यासको थोक मूल्य आधा घटेको छ । समग्रमा आफूहरुले इन्धनको आपूर्तिको समस्या अलि राम्रैसँग समाधान गरेको हबेक भन्छन् ।

तर युनिपरका लागि भने अवस्था अति नै नाटकीय र खराब रहेको उनको भनाइ छ । जर्मनीको ग्यास बजारको लागि युनिपरको महत्वलाई हेरेर नै घरेलु स्तरमा आपूर्ति सुरक्षित गराउन सरकारले यसलाई राष्ट्रियकरणको लागि रोजेको  बताइएको छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)