नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकामा छोरी जीवन बीमा कार्यक्रम शुरू भएको छ । चालू आर्थिक वर्षदेखि सो कार्यक्रम लागू भएको गाउँपालिकाका प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गाउँपालिकाले ‘छोरी कल्याण कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम लागू गरेको हो । ‘कार्यपालिकाको बैठकबाट पास भएको कार्यविधिअनुसार छोरी जीवन बीमा कार्यक्रम लागू भएको छ,’ प्रशाकीय अधिकृत डाँगीले भने । यसलाई प्रभावकारी कार्यान्वयन गराउन गाउँपालिकाका सबै वडामा पत्राचार गरेको भन्दै उनले सबै वडामा २०७९ साउनयता जन्मेका छोरीहरूले बीमाको सेवा पाउने बताए । अधिकृत डाँगीले छोरी जीवन बीमा कार्यक्रमका लागि रू. १० लाख बजेट विनियोजन भएको जानकारी दिँदै छुट्ट्याइएको रकम अपुग भए अन्य रकमसमेत विनियोजन हुने उल्लेख गरे ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूलाई गाउँपालिकाका तर्फबाट वार्षिक पाँच हजारका दरले जीवन बीमाको प्रिमियम पर्ने गरी आउने बीमांक रकम बराबरको जीवन बीमा गरिनेछ । यसअघि सो गाउँपालिकाको १२औं गाउँसभाले ‘गाउँपालिका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम’ पारित गरेको थियो । उक्त कार्यक्रम अन्तर्गत केही दिनअघि बसेको गाउँपालिकाको बैठकले छोरी जीवन बीमा कार्यक्रमका साथै गाउँपालिकाका अध्यक्षसँग छोरी कल्याण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । रासस