ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

प्रभु ! लोकतन्त्र बचाउनुस्

२०७९ असोज, ७  
तीतो मीठो
author avatar मदन लम्साल

सरकारले चुनाव एकै चरणमा हुने भने भने पनि वास्तविक चुनाव दुई चरणमा नै हुने देखिन्छ । पहिले उम्मेदवारहरू भोटरका चरणमा पुग्छन् । चुनाव जितिसकेपछि भोटरहरू नेताका चरणमा ।

नेताजीसँग प्रत्येक प्रश्नको जवाफ हुन्छ । सर्वसाधारण राष्ट्रसँग प्रेम गर्छन् । नेता राष्ट्रिय सम्पत्तिसँग ।

तर, यता शहरका गल्लीगल्लीमा अहिले विविध फोहोर सडेका छन् । १० कक्षा फेलहरू नेतागिरीमा अघि बढेका छन् । सन्त्री बन्ने आश नभएकाहरू मन्त्री बनेका छन् । प्रतिदिन सभा, सम्मेलन गोष्ठीमा गएर दिनभरि देश देश भन्न भ्याउँछन् । राति राति विदेशी भ्याउँछन् र  भित्रभित्रै देशलाई शेष पारिसकेका हुन्छन् । दुर्योधनले त एक अबला नारीको सारी तानेका थिए । नेताजीले त जनताका शरीरमा बाँकी एउटा लगौंटी पनि तान्न थाल्या छन् ।

विद्वान्हरू आफ्नो विज्ञताको विषयमा घण्टा दुई घण्टा बोल्लान् । नेताजी बिहानदेखि रातिसम्म विनाविषय नै बोल्छन् । त्यति मात्र होइन, कतिखेर चिल्लो लगाएर बोल्ने, कतिखेर पुच्छर लुकाउने, कतिखेर भुक्ने, कतिखेर फुक्ने, कतिखेर गर्जने, कतिखेर टोक्ने, कतिखेर बोक्ने, कतिखेर अंकमाल गर्ने, कतिखेर पछाडिबाट छुरा रोप्ने, कसरी आफ्नो बाटोमा ल्याउने, कतिखेर आफ्नो बाटोबाट पन्छाउने यी सबै ट्रिक जान्दछन् ।

के सोच्या तपाईंहरूले नेताजीलाई ? नेता बन्नु भनेको कुनै मजाक हो र ? त्यसै नेता बाँसजस्ता अग्ला बनेका हुन् र ? कठिन साधनापश्चात् नै नेताले सिद्धि प्राप्त गरेका हुन्छन् । त्यसैले नेता सिद्धपुरुष हुन्छन् । नेताजीले अलि घुरेर हेरे भने चेकबुकको हस्ताक्षर उड्न बेर लाग्दैन । औंलाले ईशारा गर्नासाथ हावा आफ्ना बाटो बदल्न बाध्य हुन्छ । नेताको ईशारामा देशले बाटो बदल्ने त कुनै नयाँ कुरै भएन । जनताहरू त कुन खेतका मुला हुन् र ?

नेताजीसँग प्रत्येक प्रश्नको जवाफ हुन्छ । सर्वसाधारण राष्ट्रसँग प्रेम गर्छन् । नेता राष्ट्रिय सम्पत्तिसँग । देश सेवाको भाव त नेताहरूमा यति भरिएको छ कि पार्टीले टिकट नदिए पनि जसरी पनि आफ्नो टिकटको बन्दोबस्त ब्रिफकेससँग साटेर वा ढाँटेर मिलाउन सक्ने क्षमता हुन्छ, हार्न वा जित्नका लागि भन्दा पनि देश सेवाका लागि ।

नेताजीले जे जे वाचा गरेका थिए, सो पूरा गरे पनि नगरे पनि त्यो तपाईंको मतलवको कुरा होइन । जब चुनावमा उम्मेदवारी दिन चुनाव आयोगमा नेता जान्छन् के उनीहरूलाई पछिल्लो वाचा पूरा गरेको छ वा छैन भनेर कसैले सोध्छ र ? पार्टीले सोध्छ ? चुनाव आयुक्तले सोध्छन् ? त्यति शक्तिशालीहरू कसैले नसोध्ने कुरा तपाईं को हो र यो सोध्ने ?

हिजो नेताले भनेका थिए कि गरीबी हटाउँछु भनेर । हटाए ? तर गरीबी घट्यो कि घटेन भनेर गरीबलाई नसोध्नु । नेताजीलाई नै सोध्नु । कि तथ्यांक खोज्नु । किनकि तथ्यांक महत्त्वपूर्ण हो । गरीब त आउँछन्, जान्छन् ।

मान्छेहरू नेताहरूलाई हाम्रा नै राम्रा भन्नेतिर लागेर पक्षपात गरिरहेको आरोप लाउँछन् । तर नेताजीहरूले मान्छेदेखि सडकसम्म कतै पक्षपात गरेको देखिन्न । कुनै सडक २० वर्ष अगाडि बनेको रहेछ, २ वर्ष पहिले वा २ महीना पहिले, मर्मत सम्भार गराइरहन्छन् । यहाँसम्म कि कुनै सडक कहिल्यै बनेको रहेनछ भने पनि त्यसको समेत मर्मत गराइदिन्छन् । चल्दै नचलेको वा हुँदै नभएको बिजुली गाडीमा समेत गाडीको मर्मत गरेर, पेट्रोलियम भरेर बिल बनाउने त सामान्य कुरा नै भयो ।

याद गर्नुस्, भाषणमा लादेर जुन सडक र नहरको लहर नेताले तपाईं हाम्रो क्षेत्रमा पठाएका थिए, त्यो अहिलेसम्म आइपुगेको छैन । सुनेका छौं यसपालि नेताले नदी नै पठाएका छन् रे । नेताका यी इमानदार प्रयास बेलाबेलामा पत्रिकाहरूका हेडलाइन बनेर छाएका पनि छन् । त्यसैले हाम्रा आमा, दिदीबहिनीहरू गाग्रो बोकेर पानी लिन आएका छन् । तर पानी आएको छैन अब के गर्ने होला ? कुर्ने कि फिर्ने ? कि अझै पनि नेताकै झोला भिर्ने ?

ती नेताहरू, ती दलहरू देशमा विकासको उज्यालो छर्ने वाचा गरिहिँड्छन्, जसको हातमा एउटा थोत्रो लालटिन मात्र छ ।

हाम्रा नेताहरू लोकतन्त्र आफैले ल्याएको र त्यो पनि अमेरिका वा बेलायतकै जस्तो भनेसरी फुर्ती लाउँछन् र यहाँको सँग त्यहाँको लोकतन्त्रको तुलना गर्न खोज्छन् । तर त्यता र यतामा कति फरक छ भने उता युवाहरू सरकार चलाउँछन्, वृद्ध नेताहरूलाई पेन्सन दिन्छन् । हाम्रो देशमा वृद्धहरू सरकार चलाउँछन्, युवाहरूलाई टेन्सन दिन्छन् । नेताहरूको अगाडि यो कुरा मेन्सन नगर्नुस् है, तपाईंमाथि अरिंगालहरूको विनाकाममा एटेन्सन आउन बेर लाग्दैन ।

नेताहरू विकासका लागि सधैं ठोस कदम उठाउने भन्छन् । तर पछि फाइलहरूको कदम यति ठोस हुन्छ कि विकासको कदम उठ्नै सक्तैन । नेताजीहरूले कहिले हो चिडियाखाना खोल्ने कुरा गर्‍या पनि सुन्या थिएँ । उहाँहरू हुँदाहुँदै फजुल खर्च किन गरिरहन पर्‍या छ र ? ती नेताहरू, ती दलहरू देशमा विकासको उज्यालो छर्ने वाचा गरिहिँड्छन्, जसको हातमा एउटा थोत्रो लालटिन मात्र छ ।

हे बूढा नेता नामक साहुजीहरू ! भलै यो देश तिमीहरूका लागि केवल ढुँगा, माटो र बालुवा होला, हाम्रा लागि नेपाल आमा हो । समय कसैका लागि पनि रोकिँदैन । समय शाश्वत छ । समय चलिरहन्छ । समयभन्दा ठूलो कोही छैन, केही छैन । नेताजी ! जब तिम्रो समय थियो, तब तिमीसँग देशका लागि समय थिएन । आज तिमीसँग समय छ, तर अब तिम्रो समय रहेन र रहनु हुन्न ।

सर्वसाधारणसँग पनि मेरो एउटा अपिल छ । ‘विगतमा तपाईंले जजसलाई जिताउनुभयो, तिनले तपाईंलाई लोप्पा ख्वाए । कृपा गर्नुस् अबको पालो तिनलाई जिताउनुस्, जसले आफू हारेर पनि जनतालाई, देशलाई जिताउँछ ।’

हे पशुपतिनाथ ! अब त तपाईंकै सहारा छ । यो देश समस्यै समस्याबाट पीडित भो । तपाईं नै केही चमत्कार देखाउनुस् । भोटिङ मेशिनबाट होस् वा मतपत्रबाट, भ्रष्ट नेता यो दलको होस् कि त्यो दलको, यिनीहरूलाई हराउनुस् । प्रभु ! यो देशको लोकतन्त्र बचाउनुस् !

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement