काठमाडौं । दशैंको लागि नयाँ लत्ताकपडा किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने काठमाडौंमा अहिले दशैं तिहारलाई लक्षित गरी ७० प्रतिशतसम्म छुटमा सामानहरू विक्रीमा राखिएको छ ।
दशैंको बेला सबैभन्दा बढी भीडभाड हुने न्यूरोड, असन, सुनधारा लगायतका बजारमा त छँदै थियो, भीआईपीहरूको किनमेल हुने ठाउँ भनेर परिचित दरवारमार्ग, ठमेल लगायतका ठाउँमा पनि दशैं तिहारको लागि भारी छूटमा सामानहरू विक्री भइरहेका छन् ।
दशैं आउन १ हप्ता मात्रै बाँकी रहँदा पनि व्यापार नबढेपछि अहिले व्यवसायीहरूले छुटमाथि छुटका अफरहरू सार्वजनिक गरिरहेका छन् । गत हप्तासम्म २० प्रतिशत छुट अफर दिनेले अहिले ४० प्रतिशत पुर्याएका छन् । ५० प्रतिशत छुट अफर ल्याएका पसलले ७० प्रतिशतको सम्म छुट अफर ल्याएका छन् ।
ठमेल स्थित छायाँ सेन्टरमा हरेक शुक्रवार लाग्ने बजार पनि सुनसान । फोटो : सुनिल शर्मा/अभियान
विगतका वर्षहरूमा यतिबेलासम्म राम्रै व्यापार हुने गरेकोमा अहिले भने दशैंको लागि किनमेल गर्ने आधा समय सकिँदासम्म पनि बजारमा चहलपहल नबढेपछि व्यवसायीहरू छूटमाथि छूट अफर ल्याउन बाध्य भएका हुन् । छूट अफरले पनि मान्छे भने तान्न नसकेको व्यवसायीहरूले बताइरहेका छन् ।
दशैंलाई लक्षित गरेका ल्याएका सामान विक्री नभएमा व्यवसायीलाई झन ठूलो समस्या निम्तिन्छ । त्यहि भएरपनि अहिले धेरै ठाउँका व्यापारीहरू धमाधम छूट दिएर सामान वेचीरहेका छन् ।
दशैंको किनमेलका लागि असनबजार पुगेकी कैलालीकी नमिता पुनले पसलेसँग राम्रै मोलमोलाई गरेर सामान किन्न पाएको बताइन् । विगतमा दशैं अघि किनमेल गर्न जाँदा बाटोमा हिड्ने ठाउँ समेत नहुने र पसलमा हुने ठूलो भीडका कारण बार्गेनिङ गरेर मूल्य घटाउन समेत पाइएको थिएन । अहिले भने सबैजसो पसलहरू खाली खाली भएको मौकामा ग्राहकको बार्गेनिङ पावर बढी चलेको उनको भनाइ छ ।
ठमेल बजारमा ग्राहकको पर्खाइमा बसेका पसलहरू । फोटो सुनिल शर्मा / अभियान
बिहीवार मात्रै न्यूरोडबाट सपिङ गरेर फेर्केकी सुर्खेतकी शर्मिला शाहीले पनि पसलेसँग चर्को मोलमोलाई गरेर सामान किन्न पाएको बताइन् । निश्चित मूल्य तोकेर बाटोमा राखिएका सामानमा मानिसको भीड भएपनि पसलहरू भने खाली खाली नै रहेको उनको अनुभव छ ।
विगतमा जस्तो व्यापार नहुँदा किन्ने मान्छेले पनि धेरै बार्गेनिङ गरेको व्यवसायीहरूले पनि स्वीकारेका छन् । असनमा जुत्ता पसल चलाउँदै आएका सन्तोष थापाले एक जोर जुत्तामा १०० रुपैयाँ नाफा नआउँदा पनि बेच्नुपरेको बताए । व्यापार नै नभएको बेला पसलमा जुत्ता राख्दा ऋणको ब्याज मात्रै थपिने भएकाले पनि किन्ने मान्छे आउँदा १००/५० रुपैयाँ मात्रै नाफा आएपनि दिनुपरेको उनको भनाइ छ ।