काठमाडौं । दशैं नजिकिएसँगै बजारमा अधिकांश तरकारीहरुको मूल्य बढेको छ । विशेषगरि आलु, गोलभेडा, घिरौंला, भन्टा, बन्दा, काउली तथा अन्य हरियो तरकारीको मूल्य अस्वभाबिक रुपमा बढेको पाइएको छ ।
यसरी दैनिक उपभोग्य हरियो तरकारीमा अस्वभाबिक मूल्य बढ्नाले उपभोक्ता मारमा परेका छन । पछिल्लो एक महिनामा आकासिएको तरकारीको मूल्यका कारण उपभोक्तामा खरिद गर्नै नसक्ने अवस्था आएको छ ।
कालिमाटी तरकारी तथा फलफूल बजारबाट ८४ प्रकारका तरकारीहरू विक्री हुने गरेकोमा दैनिक मूल्यसुचिअनुसार यी मध्ये अधिकांश तरकारीको भाउ बढेको देखिन्छ । दैनिक रुपमा भन्सामा पाक्ने आलु, लसुन, गोलभेडा जस्ता तरकारीको मूल्य थोकमै बढेको छ ।
कालिमाटी तरकारी तथा फलफूल बजारमा भदौ ७ गते २० रुपैयाँ प्रतिकिलो थोक मूल्यमा विक्री भएको घिरौलाको मूल्य असोज ७ गते ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै, सोही दिन ९० रुपैयाँ प्रतिकिलोमा विक्री भएको काउली एक महिनामै ३० रुपैयाँले बढेर १२० रुपैयाँ प्रतिकिलो पुगेको छ । २० रुपैयाँ किलोको भन्टा पनि ३० रुपैयाँले बढेर ५० रुपैयाँ थोक मूल्य पुगेको छ ।
रातो आलुको मूल्य ६० रुपैयाँबाट बढेर ६८ रुपैयाँ पुग्दा, मुडे आलु ५४ देखि ६४ रुपैयाँ किलो पुगेको छ । त्यसैगरी, भारतीय गोलभेडा गत महिना ५० रुपैयाँ प्रतिकिलो थियो भने यो महिना १० रुपैयाँले बढेर ६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, एक महिनाअघि प्रतिकिलो १२० रुपैयाँ थोकमा विक्री भएको सुकेको लसुनको मूल्य अहिले १५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
प्याजको मूल्य भने यो महिना घट्दो क्रममा देखिएको छ । भारतीय सुकेको प्याज अघिल्लो महिना प्रतिकिलो ३८ रुपैयाँ रहेकोमा यो महिना २ रुपैयँले घटेर ३६ रुपैयाँमा आएको छ । त्यसैगरी, नेपाली सानो गोलभेडाको मूल्य भने स्थिर छ ।
उपभोक्ता मूल्य भने खुद्रा व्यापारीले तोके अनुसार थोक मूल्यको तुलनामा १० देखि २०/२५ प्रतिशतसम्म महँगो हुने गरेको छ ।