ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नदी किनारमा उभिएका १० शहर : करोड घटीमा जग्गा पाउनै मुश्किल, मिटरकै २० लाखसम्म !

२०७९ असोज, ११  
घरजग्गा समाचार विविध र यो पनि विकास
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पश्चिम नेपालमा दर्जनौ बजार नदी किनारमा बसेका छन् । सुदूरपश्चिम प्रदेशको दार्चुलादेखि गण्डकी प्रदेशको बागलुङसम्म दर्जनौ शहर नदी किनारमा अवस्थित छन् ।

पहाडी भूभाग भएकाले ती शहर/बजारमा थप वस्ती विस्तारको सम्भावना निकै कम छ । एकतिर नदी र अर्कोतिर पहाडले च्यापेका ती ठाउँहरूमा सीमित जग्गा भएकै कारण जग्गाको मूल्य काठमाडौंभन्दा महँगो भइसकेको छ ।

सरकारले तोकेको न्युनतम मूल्याङ्कन नै रोपनीको २० लाख देखि पौने २ करोड रुपैयाँ हाराहारी भएका ती ठाउँमा चलनचल्तीको मूल्य कैयौं गुणा बढी छ । जग्गाको उपलब्धता घट्दै गएपछि त्याहाँ जग्गा किनबेचको शैली पनि फेरिएको छ ।

अर्थात जग्गाको क्षेत्रफल वर्गमिटर, धुर वा आना नभएर हातको आधारमा नापिन्छ । एक हात लम्बाइ र एक हात चौडाइ भएको जग्गाको मूल्य १० लाख रुपैयाँसम्म पर्छ । १० हात लम्बाइ र १० हात चौडाइ भएको जग्गाको मूल्य १ करोड रुपैयाँ पर्छ । १० हात भनेको करीब ५ मिटर लम्बाइ बराबर हो । यसरी एउटा ठिक्कको घडेरी किन्न पनि यी मध्ये धेरै ठाउँमा १ करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ । जुन काठमाडौंका काठ क्षेत्रमा पाइने घडेरी जग्गाको मूल्यभन्दा बढी हो ।

१. खलंगा, दार्चुला

भारत र चीनसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशको पनि सुदूर जिल्ला दार्चुलाको सदरमुकाम हो खलंगा बजार । यो बजार महाकाली नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ६७ लाख ५० हजार रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ सामान्य ठाउँमा पनि रोपनीको डेढदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गरेको छ । 

महाकाली नदी किनारमा अवस्थित दार्चुला सदरमुकाम खलंगा बजार । तस्वीर : सामाजिक सञ्जाल

२. चैनपुर, बझाङ

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको सदरमुकाम हो चैनपुर बजार । यो बजार सेती नदीको किनारमा अवस्थित छ । यहाँ सरकारी मूल्याङ्कन अनुसार १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ५८ लाख ८० हजार रुपैयाँ रहेको छ । चलनचल्तीमा भने यहाँ पनि रोपनीको १ करोड घटिमा किनबेच हुँदैन ।

सेती नदीको किनारमा अवस्थित बझाङ सदरमुकाम चैनपुर बजार । तस्वीर : रासस

३. दिपायल, डोटी

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो डोटी । नेपालमा संघियता कार्यान्वयन हुनुअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय निर्देशनालयहरू रहेको ठाउँ हो दिपायल । अहिले दिपायल सिलगढी नगरपालिकामा पर्ने यो ठाउँ सेती नदीको किनारमा अवस्थित छ । डोटीको सदरमुकाम समेत रहेको यहाँ एक रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ९६ लाख रुपैयाँसम्म रहेको छ । चलनचल्तीको मूल्य यहाँ पनि डेढदेखि २ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

सेती नदीको किनारमा अवस्थित डोटी सदरमुकाम दिपायल बजार । तस्वीर : हेमन्त राई

४. साँफेबगर, अछाम

सुदूरपश्चिमकै पहाडी जिल्ला अछामको प्रमुख व्यापारिक क्षेत्र हो साँफेबगर । मध्यपहाडी राजमार्गले समेत छुने यो बजार बुढीगंगा नदीको किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन २८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ पनि ५० लाख देखि १ करोड रुपैयाँसम्म नै रहेको छ ।

बुढीगंगा नदी किनारमा अवस्थित साँफेबगर बजार । तस्वीर : सामाजिक सञ्जाल

५. चन्दननाथ, जुम्ला

कर्णाली प्रदेशको उत्तरी जिल्ला जुम्लाको सदरमुकाम हो चन्दननाथ नगरपालिका । यो तिला नदीको किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन ८८ लाख ७ हजार रुपैयाँसम्म रहेको छ । चलनचल्तीमा भने यहाँ पनि डेढदेखि २ करोड रुपैयाँ घटिमा १ रोपनी जग्गाको किनबेच हुँदैन ।

तिला नदी किनारमा अवस्थित जुम्ला सदरमुकाम खलंगा । तस्वीर : लेकाली युवा क्लव जुम्ला

६. राकम कर्णाली, दैलेख

कर्णाली प्रदेशमै पर्ने दैलेखको राकम कर्णाली उदाउँदो बजार क्षेत्र हो । मध्यपहाडी राजमार्ग र जुम्ला सुर्खेत राजमार्गसँग जोडिएको राकम बजार कर्णाली नदी किनारमा अवस्थित छ । यहाँ एक रोपनी जग्गाको सरकारी मूल्याङ्कन करीब २० लाख रुपैयाँ छ । तर चलनचल्तीमा भने यहाँ पनि एक करोड रुपैयाँ घटिमा घडेरी जग्गा किन्न सकिन्न । यहाँ एक हात जग्गाकै १० लाख रुपैयाँसम्म मोलमोलाई हुने गरेको छ ।

कर्णाली नदी किनारमा अवस्थित दैलेखको राकम बजार । तस्वीर : बीर्ख बडुवाल

७. दुनै, डोल्पा

कर्णाली प्रदेशको हिमाली जिल्ला हो डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार ठूलीभेरी नदीको किनारमा अवस्थित छ । यो सुन्दर नगरीमा जग्गाको मूल्य अन्य ठाउँमा जस्तो महँगो छैन । यहाँ प्रतिरोपनी जग्गाको न्युनतम मूल्याङ्कन करीब १८ लाख रुपैयाँ रहेको छ । तर यहाँ जग्गाको किनबेच निकै कम हुने हुँदा चलनचल्तीको मूल्यमा धेरै ठूलो अन्तर भने नरहेको मालपोत कार्यालयको भनाइ छ । यहाँ चलनचल्तीमा पनि प्रतिरोपनी ३० देखि ३५ लाख रुपैयाँमा जग्गा किनबेच हुन्छ ।

ठूलीभेरी नदी किनारमा अवस्थित डोल्पा सदरमुकाम दुनै बजार । तस्वीर : पदम बिक

८. कुश्मा, पर्वत

गण्डकी प्रदेशमा पर्ने पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार कालिगण्डकी नदी किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन १ करोड ३ लाख रुपैयाँ रहेको छ । चलनचल्तीमा यहाँ १ रोपनी जग्गा २ देखि ३ करोड रुपैयाँसम्म पर्छ ।

कालिगण्डकी नदी किनारमा अवस्थित पर्वत सदरमुकाम कुश्मा बजार । तस्वीर : हिमाल सञ्चार

९. बागलुङ बजार, बागलुङ

गण्डकी प्रदेशमा पर्ने बागलुङ जिल्लाको सदरमुकाम हो बागलुङ बजार । यो पनि कालिगण्डकी नदीको किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको सरकारी मूल्याङ्कन नै पौने २ करोड रुपैयाँ भन्दा बढी छ । अर्थात चालू आर्थिक वर्ष २०७९/८० का लागि मालपोत कार्यालयले तोकेको न्युनतम मूल्याङ्कनमा प्रतिरोपनी १ करोड ८३ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ । चलनचल्तीमा यहाँ २ देखि ५ करोड रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।

कालिगण्डकी नदी किनारमा अवस्थित बागुलङ बजार । तस्वीर : रासस

१०. बेनी, म्याग्दी

गण्डकी प्रदेशमा पर्ने म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार । यो बजार पनि कालिगण्डकी नदीकै किनारमा अवस्थित छ । यहाँ १ रोपनी जग्गाको न्युनतम मूल्याङ्कन १ करोड ५८ लाख रुपैयाँ छ । चलनचल्तीमा भने यहाँ प्रतिरोपनी २ देखि ५ करोड रुपैयाँसम्मा कारोबार भइरहेको पाइन्छ ।

कालिगण्डकी नदी किनारमा अवस्थित म्याग्दि सदरमुकाम बेनी बजार । तस्वीर : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [1]
User Image

ramram

[Oct 11, 2022 08:50am]

santan ko sixa ra subidha ka lagi gaun bata sahar ma migrate hune ko larko xa . tara anusasan ma kami kulat kusangat le garda santan ko vabisya barbad vayeko herna abisapta parents ko sankhya pani badhdaixa. sahar ko mahango jiban ma janu aghi dherai pataK Sochaun.



   

TVCNepali Patro