कुनै पनि जलविद्युत् आयोजनामा भारतीय लगानीको पुनरवलोकन गर्नुपर्छ भनेर हामीले आवाज उठाएका हौं । अन्य वैदेशिक लगानीका आयोजनामा अवरोध पुर्याएका छैनौं । भारतीय आयोजनामा अवरोध पुर्यायो भन्ने कुराचाहिँ बाहिर बसेर यथार्थ नबुझ्नेहरूले हामीलाई लगाएको आरोप मात्र हो । हामीले नेपाली जलविद्युत्मा वैदेशिक लगानी हुँदा त्यसलाई राष्ट्रिय हितअनुकूल बनाउन पनि भारतीय लगानीलाई पुनरवलोकन गर्नुपर्छ भनेका हौं । नेपालमा प्रस्तावित वैदेशिक लगानीका आयोजनाहरू निर्यातका लागि मात्र जलविद्युत् उत्पादन गर्ने उद्देश्यले सञ्चालन हुन लागेजस्तो देखिन्छ । यस्तो लगानीले देशलाई कुनै फाइदा नहुने हुँदा निर्यातमुखी योजनालाई निरुत्साहित गर्न हाम्रो पार्टीले भारतीय लगानीको जलविद्युत् आयोजना पुनरवलोकन गर्नुपर्छ भन्ने माग अगाडि सारेको हो । यसले न कुनै लगानीमा बाधा पार्नेछ न त जलविद्युत् उत्पादनमा नै । तर, अहिले भएका भारतीय लगानीका सबै ठूला जलविद्युत् आयोजनाहरू राष्ट्रिय हितविपरीत छन् भन्ने हाम्रो ठम्याइ हो । आन्तरिक खपतका लागि विद्युत् उत्पादन गर्ने आयोजनाहरूमा लगानीको प्राथमिकता दिने कुरामा हामीले विशेष जोड दिइरहेका छौं । जसले घरेलु खपतका लागि लगानी गर्छन् त्यस्ता उद्योगलाई हाम्रो पार्टीले सदैव स्वागत गर्छ । आन्तरिक लगानी वृद्धिका लागि पनि हाम्रो यो कदम उचित छ भन्ने हाम्रो पार्टीलाई लागेको छ । हामी जलविद्युत्को क्षेत्रमा आपूर्ति व्यवस्थालाई सुदृढ गरी तीव्र लगानी वृद्धि गराउन चाहन्छौं ।
(एनेकपा माओवादीको जलस्रोत तथा ऊर्जा विभाग प्रमुख लीलामणि पोख्रेलसँगको कुराकानीबाट)
वर्ष ६ अंक १९, शुक्रवार, ९ असोज, ०६७