ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बैंकको निक्षेपमा लगातार वृद्धि

२०७९ असोज, १२  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा देखिएको वृद्धि असोजको पहिलो साता पनि कायमै रहेको छ । निक्षेप आकर्षित गर्न बैंकहरूले शुरू गरेको लामो अवधिको मुद्दती निक्षेप योजना, असोजमा भएको ब्याजदर वृद्धि तथा विप्रेषण आप्रवाह सकारात्मक हुँदा बैंकहरूको निक्षेपमा लगातार वृद्धि भएको हो ।

नेपाल बैंकर्स संघका अनुसार असोज पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब १४ करोड रुपैयाँले बढेको छ । भदौ मसान्तसम्ममा बैंकहरूमा कुल ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज ७ गतेसम्ममा बढेर ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षमा भदौको पहिलो सातासम्म निक्षेप निरन्तर घटेको थियो । भदौ दोस्रो सातायता भने लगातार बढिरहेको छ । भदौ महीनाभरिमा बैंकहरूको निक्षेप ५२ अर्ब रुपैयाँले वृद्धि भएको संघले जानकारी दिएको छ ।

बैंकहरूको निक्षेप बढ्नुको कारण नयाँ–नयाँ निक्षेप योजना, ब्याजदर र रेमिट्यान्स वृद्धिलाई मानिएको छ । पछिल्लो समय बैंकहरूले शुरू निक्षेपको १० गुणासम्म दिनेगरी २१ वर्ष अवधिसम्मको मुद्दती योजना सार्वजनिक गरेका छन् । मुद्दती निक्षेप योजनामा बैंकबीच प्रतिस्पर्धा चलिरहेको छ ।

यसैगरी नेपालीहरूको ठूलो चाड दशैंका कारण रेमिट्यान्स आप्रवाह सकारात्मक भएको, आन्तरिक बजारको चहलपहल बढ्न थालेकाले पनि निक्षेप वृद्धि भएको बैंकरहरू बताउँछन् । डलरको मूल्यवृद्धि हुँदासमेत रेमिट्यान्समा सकारात्मक प्रभाव परेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले भद्र सहमति गरी ६ महीनासम्म स्थिर राखेको ब्याजदर असोज १ गतेदेखि बढाएका छन् । बैंकहरूले भद्र सहमति तोडेर राष्ट्र बैंकको निर्देशनअनुसार ब्याजदर तोकेका हुन् ।

राष्ट्र बैंकको निर्देशनमा अघिल्लो महीना कायम ब्याजदरमा १० प्रतिशतसम्म तलमाथि गर्न पाउने व्यवस्था छ । उक्त प्रावधानअनुसार बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२ दशमलव १३, संस्थागत मुद्दती निक्षेपको १० दशमलव १३ र रेमिट्यान्स मुद्दती निक्षेपमा १३ दशमलव १३ प्रतिशतसम्म पुर्‍याएका छन् । ब्याजदर वृद्धिको प्रभावसमेत बैंकको निक्षेपमा देखिएको छ ।

निक्षेप बढे पनि बैंकहरू कर्जा प्रवाहमा भने संयमित देखिएका छन् । असोज पहिलो साता बैंकहरूको कर्जा प्रवाह ४ अर्ब रुपैयाँले मात्र बढेको छ । भदौ महीनाभर पनि १३ अर्ब रूपैयाँ मात्र कर्जा विस्तार भएको थियो ।

बैंकहरूले राष्ट्र बैंकले लागू गरेको निक्षेप–कर्जा अनुपात (सीडी रेशियो) तथा पूँजी पर्याप्तता अनुपातका कारण कर्जा विस्तार गरेका छैनन् । राष्ट्र बैंकले बैंकहरूको सीडी रेशियो ९० प्रतिशतभित्र कायम राख्नुपर्ने व्यवस्था गरेकोमा असोज पहिलो सातासम्म औसत अनुपात ८७ दशमलव २१ प्रतिशत छ । सीडी रेशियो कायम गर्न नसक्ने बैंकहरूलाई बढी भएको रकममा हर्जाना लगाउने व्यवस्था छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro