ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बाल्टिक सागरमा ग्यास चुहावट, रुसले ऊर्जा संघर्ष चर्काउन खोजेको आरोप      

२०७९ असोज, १२  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

कोपेनहेगन । नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मंगलवारदेखि डेनमार्कस्थित  बाल्टिक सागरमा ग्यास चुहावट भएको छ ।

रुस–युक्रेन युद्ध शुरु भएपछि रुस र यूरोपबीच चुलिएको ऊर्जा संघर्षमा यी दुवै पाइपलाइन केन्द्रविन्दुमा छन् । चुहावटले २०० देखि १ हजार  मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले बताएको छ।     

सबैभन्दा ठूलो चुहावटले शून्य दशमलव ६२ माइल व्यासमा फोकाहरू फैलिएको छ भने सबैभन्दा सानोले करीब २०० मिटर (६५६ फीट) व्यासको घेरा सृजना गरिरहेको सेनाले डेनिस टापुको चुहावटको तस्वीर सार्वजनिक गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ ।  

रुसबाट ती दुवै पाइपलाइनमार्फत यूरोपमा प्राकृतिक ग्यास आपूर्ति हुने गरेको छ । रुसी बन्दरगाह सेन्ट पिटर्सबर्गबाट नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ गरी दुई ओटा पाइपलाइन प्रणालीमार्फत जर्मनीसम्म ग्यास आपूर्ति हुन्छ । बाल्टिक समुद्र हुँदै जाने करीब १ हजार २०० किलोमिटर लामा ति पाइपलाइनका तीन ओटा स्थानमा चुहावट भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

नर्ड स्ट्रिम–१ को दुई अलग - अलग  स्थानमा ग्यास चुहावट भइरहेको छ । नर्ड स्ट्रिम–२ को भने एक स्थानमा चुहावट भइरहेको छ ।  ‘समुद्रमा उठेको ग्यासको फोका हेर्दा पाइपलाइनमा ठूलो प्वाल परेको हुने आकलन गर्न सकिन्छ’, डेनिस विद्युत् प्राधिकरण प्रमुखले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, ‘चुहावट केही दिन या सातासम्मै हुनसक्छ ।’

रुसद्वारा निर्मित ती दुवै पाइपलाइन प्रणाली अहिले चालू अवस्थामा भने छैनन् । नर्ड स्ट्रिम–१ अन्तर्गत पनि दुई ओटा समानन्तर पाइपलाइन छन् । रुसले यो पाइपलाइन मर्मतका लागि भन्दै गत अगस्टदेखि बन्द गरेको छ । तर, दुवै पाइपलाइनमा ग्यास भने रहेको बताइएको छ ।

नर्ड स्ट्रिम–२ का सञ्चालकले पाइपलाइनमा ग्यासको दबाब घटेको सूचना जारी गरेता पनि त्यसको केही घण्टापछि नै ग्यास चुहावट भएको थियो  । उक्त सूचनापछि डेनिस अधिकारीहरूले बोर्नहमको तटीय क्षेत्रमा रहेका पानीजहाजहरूलाई सतर्कता अपनाउन भनेका छन्। चुहावट भएको क्षेत्रबाट ५ नटिकल माइल वरपर पानीजहाज लैजान निषेध गरिएको छ । ग्यास चुहावटको कारण हालसम्म खुलेको छैन ।

पाइपलाइन सञ्चालक कम्पनी नर्ड स्ट्रिम एजीले समुद्रमुनि पाइपलाइनमा अभूतपूर्व क्षति भएको बताएको छ । कम्पनीले दुवै पाइपलाइन प्रणालीलाई पुनः यथास्थितिमै सञ्चालन गर्न कति समय लाग्छ भन्ने यकिन नभएको पनि स्पष्ट पारेको छ । चुहावटबारे जर्मन, डेनिस र स्विडिस अधिकारीहरूले छानबिन शुरु गरेका छन् ।

युक्रेनमाथि युद्ध शुरु गरेपछि त्यसको विरोधमा पश्चिमा मुलुकहरुले रुसमाथि विभिन्न खाले प्रतिबन्ध लगाउँदै आएका छन् । जसको विरोधमा रुसले यूरोपमा ग्यास आपूर्ति कम गर्दै आएको छ । बाल्टिक सागरमा भएको ग्यास चुहावटलाई कतिपय यूरोपियन सञ्चारमध्यमहरुले अपुष्ट स्रोत उल्लेख गर्दै रुसले पाइपलाइनमा तोडफोड गरी यूरोपलार्इनै तर्साउन खोजेको आरोप लगाएका छन् । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro