ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रूपान्तरण हुँदै दशैं

२०७९ असोज, १३  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar देवेन्द्र अर्याल ‘आँसु’

महान् पर्व दशैंका विविध आयाम छन् । यसलाई धार्मिक, सांस्कृतिक, पौराणिक, जैविक, सामाजिक आदि दृष्टिले विश्लेषण गर्न सकिन्छ । खासगरी दशैं शक्ति उपासनाको महान् पर्व हो । दशैं पर्व आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि शुरू हुन्छ र पूर्णिमाका दिनसम्म अर्थात् १५ दिनसम्म विशेष धुमधामले मनाइन्छ ।

मातृशक्ति पूजनका रूपमा दशैं
मातृशक्तिको विशेष आराधना गरिने पर्व हो, दशैं । काठमाडौं हनुमानढोका दरबार क्षेत्रकोे तुुलजा भवानीको मन्दिरमा नवमीको दिनमा मात्र मेला लाग्छ । तुलजाको पर्व विशेष, दैनिक र वार्षिक गरी तीन प्रकारले परम्परागत पूजा गरिन्छ । यी सबै पूजा गुठी संस्थानबाट नै सञ्चालित हुन्छन् । बडादशैंको अष्टमी र नवमीका दिन तुलजा भवानीको भव्य रूपमा पूजा गरिन्छ । यो मन्दिर सर्वसाधारण भक्तजनलाई नवमीका दिन १ दिन मात्र खुला गरिन्छ । ९ दिनसम्म मातृशक्तिका रूपमा विभिन्न नौ देवीको पूजा हुन्छ ।

संस्कृति, मेला र परम्पराका रूपमा दशैं
पिङ हाल्ने, खेल्ने र मनोरञ्जन गरी आपसी सद्भाव साट्ने पर्वका रूपमा हिन्दूले दशैँलाई लिन्छन् । त्यसैले नवरात्र पर्वभरि पिङ खेलेर रमाइलो गर्नु, सद्भाव वृद्धि गर्नु र आफ्नो कलासंस्कृति संरक्षणका लागि उल्लेखनीय पाइला चाल्नु यस पर्वको महत्त्वपूर्ण सन्देश नै हो । पिङ हाल्ने र खेल्ने संस्कृति हिजोआज क्रमश: कम हुँदै गएको छ । वर्षमा १ दिन भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताका आधारमा पिङ हाल्ने र खेल्ने चलन लोकमा चलेको पाइन्छ ।

दशैंमा चङ्गा उडाएर मनोरञ्जन लिने गरिएको पाइन्छ । तर, हिजोआज यो परम्परा हराउँदै गएको पाइन्छ ।

मिथिलाञ्चलमा दुर्गापूजाका अवसरमा गाउँगाउँमा रामलीला प्रदर्शन गरिन्छ । साथै, नौटङ्की, कठपुतलीहरू पनि यस अवसरमा देखाउने गरिन्छ । यस अवसरमा लोकनृत्य झिझिया पनि प्रस्तुत गरिन्छ । झिझियामा देवस्तुति र बोक्सीलाई गाली गर्ने खालका गीतहरू गाइन्छ भने सती स्त्रीहरूको प्रशंसा पनि गरिन्छ ।

सप्तमीका दिन घरघरमा फूलपाती भित्र्याइन्छ । यसमा केरा, दारिम, कुभिन्डो, धानको बोट, हलेदोको बोट, बेल, अशोक, जयन्ति, कचु नामका नौ वनस्पति पर्छन् । यस प्रकारको कृत्यले मानवजीवन र प्रकृतिसँगको निकटता सहजै बोध हुन्छ । मानव र प्रकृति एकअर्काका पूरक हुन् भन्ने तथ्यलाई पनि यस चाडले बोध गराउँछ । त्यस्तै घटस्थापना गर्दा जौको जमरा राखिन्छ । यसलाई आयुर्वेदिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । जौको अङ्कुर सेवन स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

दशैंको पुस्तान्तरण
दशैंलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकका फरकफरक दृष्टिले विश्लेषण गर्न सकिन्छ । बालबालिकाको उमेरगत स्वभावैले यो पर्वलाई विशेष रोचक र आकर्षक मानिन्छ । बालबालिकाको दृष्टिमा दशैं बढी कौतुहल, जिज्ञासा र मनोरञ्जनको पर्वका रूपमा लिन सकिन्छ । हुनेखाने परिवारका लागि दशैं सहज हुने गरेको छ भने आर्थिक अवस्था कम हुनेका लागि दशैँ आर्थिक बोझ र झन्झटका रूपमा लिन सकिन्छ । ज्येष्ठ नागरिकका लागि भने यो पर्व प्रत्येक वर्ष बढ्दै गएको महँगीको ग्राफ हेरेर आफ्नो जमानामा यस्तो हुन्थ्यो भन्दै विश्लेषण गरेर बित्छ ।

आर्थिक दृष्टिमा दशैं
दशैं पर्वभित्रको आर्थिक पक्षलाई सहज रूपमा विश्लेषण गर्न कठिन छ । खसी, बोका, भेडा, च्याङ्ग्रा, कुखुरा, हाँस, राँगाको व्यापार स्वाभाविक रूपमै यस बेला बढेको पाइन्छ । आर्थिक दृष्टिकोणले पनि बढी पैसा खर्च हुने चाडका रूपमा दशैंलाई लिइन्छ । दशैं कसैका लागि दशा बन्न नहुने हाम्रो पुरातन भनाइमा दशैं पर्वभित्र अन्तर्निहित आर्थिक पाटोको जटिलता सहजै बोध गर्न सकिन्छ ।

मासु र खेलबाडपछि दशैंमा मदिराको पनि राम्रै व्यापार हुने गर्छ । शहरीकरण र विदेशी सभ्यता र संस्कृतिका कारण मदिरा सामाजिक ड्रिङ्क भइसकेको छ । साथीभाइहरू जम्मा भएर तास खेल्नु, मदिरा पिउनु हाम्रा चाडबाडभित्रका रूपान्तरित पक्ष हुन् । विदेश गएर आएका भाइसाथीहरूले उपहारका रूपमा विदेशी ब्रान्डका मदिरा दिने चलन पनि नेपाली संस्कारका रूपमा विस्तार हुँदै छ । यस प्रकारको चालचलन र गतिविधिलाई हाम्रो संस्कृतिभित्र मौलाएको परसंस्कृति ग्रहणको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।    

बडादशैंमा सामान किन्नेको बजारमा भीड नै लाग्छ । लत्ताकपडा, घरायसी सामग्री, विद्युतीय सामान, कम्प्युटर, ल्यापटप, मोबाइल, सवारीसाधनको किनबेचले बजार रामै्रसँग तात्ने गर्छ । दशैंका अवसरमा विविध सामग्री किनमेल गर्ने चलन बढ्दा अन्य समयको भन्दा दशैंमा २ तिहाइ खर्च बढी हुने आर्थिक प्रक्षेपण पनि पाइन्छ । यस अवसरमा ससाना सामानदेखि गाडी, घरसमेत किन्ने प्रवृत्ति पनि विकास भएको छ । उपहार दिन केही सामान किन्न परे पनि मानिसले यस पर्वलाई नै महत्त्वपूर्ण अवसरका रूपमा लिने गरेको समेत पाइन्छ ।

दशैं सामाजिक सद्भावको पर्व हो । यसमा संलग्न रहने धार्मिक पक्षलाई पन्छाएर हेर्ने हो भने यसमा कुनै जाति, धर्म र सम्प्रदाय विशेषको मात्र नभई सबै नेपालीको आपसी सद्भाव, मेलमिलाप र पुनर्मिलनको महान् राष्ट्रिय पर्व बन्ने गुण र चरित्र रहेको छ । अहिले सिङ्गो मुलुक विजयादशमीको शुभकामना आदानप्रदान गर्नमा व्यस्त छ । संसारभरि छरिएर रहेका नेपाली मनहरू आपसी सद्भाव, शान्ति र नेपालीमात्रको समुन्नतिको कामनामा प्रार्थनारत छन् । यो महान् पर्व हिजोको जस्तै फेरि पनि मैत्री र भ्रातृत्वको पर्याय बनोस् । हाम्रा पर्वहरू क्रमश: डिजिटिलाइजेशन हुँदै गएका छन् । शुभकामना आदानप्रदान पनि सामाजिक सञ्जालबाट हुने गरेका छन् । आपसी भेटघाटबाट टाढा रहेर पनि मानिसले सामाजिक सञ्जालबाट नै बलियो सम्बन्ध स्थापित गरिरहेका छन् । समाज रूपान्तरणसँगै दशैं पनि क्रमश: रूपान्तरण हुँदै गएको छ ।

लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटारमा अध्यापन गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro