ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पोषणयुक्त आहारमा जोड

२०७९ असोज, १४  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar रामप्रसाद गौतम

खाद्यान्न जीवनको त्यो अहम् अंश हो जुन नभए स्वस्थ र सुखी जीवनयापन सम्भव हुँदैन । साथै सम्पन्नशाली समाजको परिकल्पनासमेत गर्न सकिँदैन । त्यसैले संयुक्त राष्ट्रसंघले विश्व खाद्य कार्यक्रमअन्तर्गत विश्वभर जनतालाई पोषणयुक्त खाने कुरामा जोड दिएको छ ।

मानिसलाई आवश्यक पर्ने पोषणयुक्त खानाको उत्पादन सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । विज्ञानले मानव भोजनमा केके तत्त्व हुन्छन् जसले सन्तुलित आहारको रचना गर्छ भन्ने आधारभूत कुराहरू पहिचान गरेको छ ।

मानिसको आहारमा सबैभन्दा पहिलो क्यालोरी कार्बोहाइड्रेटबाट नै मिल्छ । यसैबाट शरीरलाई शक्ति मिल्छ । यो चिज राम्रोसँग शरीरले पचाउन सक्नुपर्छ । यदि यो पचेन र जम्मा मात्र भयो भने यसले शरीरमा बोसो जमाउँछ । त्यसलाई फ्याट भन्ने गरिन्छ । चिल्लो पदार्थ मानिसलाई आवश्यक छ । यसमा सबैभन्दा बढी ऊर्जा पनि हुन्छ । १ ग्राम घ्यूमा ९.२ किलो क्यालोरी शक्ति हुन्छ । शरीरले पचाउन नसकेको र जम्मा भएको कार्बोहाइड्रेट र बाहिरी घ्यू, बटर आदि बढी भएर मानिस मोटो हुँदै जाने समस्या देखापर्छ ।

 भोजनमा कार्बोहाइड्रेट, चिल्लो र प्रोटिन सन्तुलित हुन जरुरी छ । प्रोटिनले बच्चालाई बढ्न सहयोग गर्छ । साथै कोषिका वृद्धि गर्ने काम पनि गर्छ । कार्बोहाइड्रेटमा कार्बन, हाइड्रोजन र अक्सिजन समावेश हुन्छ । त्यसमा नाइट्रोजन पनि मिलेपछि प्रोटिन बन्छ । यसको काम ऊर्जा दिनु होइन, वृद्धि गर्न सहयोग गर्नु हो । प्रोटिन बालक र वृद्ध सबैलाई आवश्यक छ । यसको आपूर्ति पनि सन्तुलित भोजनबाट प्राप्त हुन्छ ।

मानव पोषणको अर्को महत्त्वपूर्ण चिज हो भिटामिन । यो पनि कार्बोनिक वस्तुबाट नै प्राप्त हुन्छ । भिटामिन धेरै प्रकारका हुन्छन् । यी सबैले मानव शरीरको रक्षा गर्ने काम गर्छन् भिटामिन ए जुन पहेंलो फलफूलमा पाइन्छ यो महत्त्वपूर्ण रोग प्रतिरक्षी भिटामिन हो । भिटामिन ‘बी’का विभिन्न स्वरूप छन् यो छालासम्बन्धी रोग हुन नदिन आवश्यक हुन्छ । भिटामिन ‘सी’ अमिलो पदार्थजस्तै अमला कागती आदिमा पाइन्छ यसको कमीले स्कर्बी नामक रोग लाग्छ । मानिसको हाड बलियो बनाउन भिटामिन ‘डी’ आवश्यक पर्छ । यो भिटामिन सूर्यको किरणबाट प्राप्त हुन्छ । यसको कमीले गर्दा रिकेट्स नामक हातखुट्टा सुक्ने रोग लाग्छ । भिटामिन ‘ई’ शरीर आफै सृजना गर्छ । यसबाहेक कुनै अंकुरित जमराबाट यो शरीरले प्राप्त गर्छ ।

यसप्रकार विभिन्न भिटामिन, मिनरल, पानी, प्रोटिन, कार्बोहाइड्रेट फ्याटको आवश्यकता मानव शरीरलाई पर्छ । यी सबै चिज हामीले अन्न, फलफूल र तरकारीबाट प्राप्त गर्छांै । यी सबै चीज मानिसले खानाबाट प्राप्त गर्ने हो त्यसैले सन्तुलित खाना भनेको हरेक प्रकार अन्न, फलफूल, थोरै मात्रामा जे खाए पनि हुन्छ । चिकित्सकको सल्लाहअनुसार हाम्रो शरीरको मागअनुसार केही चिज बढी र केही कम खाने अवस्था आउन सक्छ ।

 मानव जीवनमा अजम्बरी त कोही छैन तर खानाको सन्तुलन मिलाउन सके दीर्घजीवन प्राप्त हुनेमा द्विविधा नराख्दा हुन्छ । विश्व खाद्य कार्यक्रमका अनुसार आज पनि ९६० मिलियन मानिस भोकै सुत्न बाध्य छन् । कोभिड–१९ महामारी पछिको ग्लोबल हंगर इन्डेक्सका अनुसार लाखौं मानिस विश्वभरमा भोकै सुत्न बाध्य भएका छन् । अक्सफामको प्रतिवेदनले पनि कोभिडपछि खान पाउने र नपाउने बीचको खाडल ज्यादै विकराल हुँदै गएको बताएको छ ।

एकातिर खाद्यान्नको समस्या र अर्कोतिर सन्तुलित भोजनको बढ्दो आवश्यकता बीच जैविक मल प्रयोग गरिएको अर्ग्यानिक खेतीको आवश्यकता बढेको छ । तर, हामी अन्धाधुन्ध रासायनिक मल, कीटनाशक औषधि, हार्मोन आदि प्रयोग गरी उत्पादन बढाउन लागेका छौं । त्यसले माटोको गुणस्तर घटाएको छ, मानिसको स्वास्थमा प्रतिकूल असर पारेको छ र वातावरण नै प्रदूषित भएको छ । अर्थात् माटोमा अत्यधिक संश्लेषणात्मक र कृत्रिम तत्त्व तथा यौगिकहरू प्रयोग गरिएका कारण माटो उर्वरताहीन हुँदै गएको छ । यसले ज्यादै ठूलो स्वास्थ संकट निम्त्याउन सक्छ । त्यसैले हामी सबै सचेत हुन ढिला गर्नु हुँदैन ।

यदि वातावरणमा व्यापक सुधार गर्ने, मानिसलाई माटो तथा आहार प्रदूषणबाट बचाउने हो भने अब प्राकृतिक खेती अर्ग्यानिक वा जैविक खेतीको अवस्थामा फर्किन जरुरी छ । अर्ग्यानिक खेतीले वातावरण प्रदूषण रोक्नुका साथै अन्नमार्फत मानव स्वास्थ्यलाई नकारात्मक असर पार्ने अनेक प्रकारका रोगबाट बचाउँछ ।

अर्ग्यानिक खेतीमा गाईभैंसीको मलमूत्र, कम्पोस्ट मल, वनस्पतिजन्य कीटनाशक औषधि, बिरुवाको पोषणका लागि जैविक उपाय, जैविक विविधताको प्रयोग, प्रत्येक वर्ष फरक बाली लगाउने, गड्यौंलायुक्त मलको प्रयोग आदि तरीका अवलम्बन गरी उत्पादन गर्ने र त्यस्तो शुद्ध खाद्यान्नबाट निर्मित भोजनबाट ८ अर्ब जनसंख्या भएको विश्व पोषणयुक्त आहार पुर्‍याउने काममा विश्व खाद्य कार्यक्रमले अथक प्रयास गरेको छ । यस वर्ष विश्व खाद्य कार्यक्रमकोे नारा नै ‘उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार’ भन्ने रहेको छ । यसका लागि प्रत्येक देशको सरकार, विभिन्न गैरसरकारी निकायलगायत हरेक नागरिक सचेत हुन जरुरी छ ।

आहार, विहार, आचार र विचारमा सबै मानव जातिले समुचित ध्यान पुर्‍याउन सक्ने हो भने सबै परिवारमा खुशी र सम्पन्नताको आधार तयार हुने हुँदा खाद्य संगठनको नाराअनुसार नै हरेक सरोकारवाला पक्ष आम मानवको समृद्ध जीवनका लागि उपयुक्त विधिबाट उत्पादन, परिपूर्ण पोषण, शुद्ध वातावरणसहित पारिवारिक खुसीयुक्त विश्वको निर्माण गरौं । भारतको सिक्किम राज्य पूर्ण अर्ग्यानिक खेतीयुक्त राज्य बनेको छ । अब विश्वले यो अभ्यास समय रहँदै सबैतिर शुरू गर्न अति आवश्यक छ । मानव जीवनलाई जतिसक्यो प्रकृतिअनुकूल बनाउनाले नै वातावरण र भोजन शुद्ध हुने आधार बन्नेछ ।

लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro