ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यतीको नयाँ विमानले शुरु गर्‍यो व्यावसायिक उडान, पहिलो उडान विराटनगर        

२०७९ असोज, १४  
बजार
Tvs Raider Image Not Found

काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले शुक्रवारबाट व्यावसायिक उडान शुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले व्यावसायिक उडान शुरु गरेको हो ।     
     
नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर शुक्रवार बिहान ८ः२० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी दिए ।     
     
सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ । ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो । एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा ८ हजार २७३ साइकल र १० हजार २९१ घण्टा मात्र उडान गरेको प्रवक्ता बर्तौलाले जानकारी दिए।     
     
एटिआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो । कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरि ७२–६०० सिरिजका विमानहरूको उत्पादन शुरु गरेको हो ।     
     
नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान गरेको विमान हो । विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ । एटिआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ । एक उडानलाई एक साइकल गणना गरिन्छ ।     
     
‘नेपालीको महान् पर्व वडादशैंको शुभसाइत पारेर हामीले उडान शुरु गरेका छौँ, यसले दशैंको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौं’, प्रवक्ता बर्तौलाले भने । उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानुकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले बताएको छ ।     
     
सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिँदै आएको छ भने अन्तरराष्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro