ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

स्वास्थ्य अधिकार र डेंगी महामारी

२०७९ असोज, १६  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar डा. माधव अधिकारी

नेपालको संविधानले व्यवस्था गरेको संघीय स्वरूप, भौगोलिक एवम् जनसंख्याको अनुपात अनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्ने तथा आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गर्ने सरकारको नीति छ । यसका लागि गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु, सबैका लागि स्वास्थ्य बीमा लागू गर्नु र चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुका साथै डेंगीजस्ता महामारीको प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता यस लेख तयार पारुन्जेल डेंगी पुष्टि हुनेको संख्या २९ हजार नाघिसकेको छ । हालसम्म देशभरका ७६ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको पाइन्छ । वीर अस्पतालमा सय जनाको डेंगी परीक्षण हुँदा आधाभन्दा बढीलाई डेंगी पोजिटिभ हुने गरेको जानकारी आएको छ । तीव्र रूपमा यसरी डेंगीका बिरामी बढ्दै जाने हो भने यो महामारी हुनसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा ख्याल राख्नु आवश्यक छ । डेंगी लामखुट्टेको एक प्रजातिको टोकाइबाट सर्ने भाइरल रोग हो । एडिस नामक लामखुट्टेका प्रजातिहरू बढ्दै गएको र मानिसको आवतजावत तथा देशभित्रिने क्रम बढेसँगै डेंगीको संक्रमण बढेको पाइन्छ । नेपालमा यो लामखुट्टेको माध्यमबाट सर्ने डेंगी भाइरसका चार प्रजाति छन् । तीमध्ये डेंगी भाइरस–१ को संक्रमण धेरै छ । नेपालमा पहिलोपटक सन् २००४ सालमा देखिएको थियो । सन् २०१९ मा १४ हजार ६६२ संक्रमण देखिएको थियो । विश्वमा यो रोगबाट मृत्यु हुने सरदर वार्षिक १ प्रतिशतभन्दा कम छन् । काठमाडौँ उपत्यकामा डेंगी बढ्न सहयोग पुर्‍याउने कारणमा फोहोरमैलाको अव्यवस्थापन, अव्यवस्थित बसोवास आदि पर्दछन् ।

एडिस एजिप्टी नाम गरेको लामखुट्टेको पोथी प्रजाति डेंगी सार्ने मुख्य माध्यम हो । दिनमा मानिसको रगत चुसेर बाँच्ने यो प्रजातिले मानिसको शरीरको प्राकृतिक गन्धबाट आकर्षित भई धेरैमा रोग सार्ने गर्छ । यस प्रजातिले टोकेपछि मानिसको रगतमा भाइरस जम्मा गर्दछ र शरीरमा फैलिन्छ । साथै, रगत चुसिसकेपछि सफा पानी तथा भाँडावर्तनमा अण्डा पार्दछ । एक पटकमा यसले अनगिन्ती अण्डा पार्दछ । निर्जलीकरण प्रतिरोधात्मक भएको यस प्रजातिको संख्या तीव्र गतिमा बढ्छ । संक्रमित व्यक्तिको रगत चुस्दा भाइरस नबोकेको लामखुट्टेमा भाइरस प्रवेश गरी संक्रमण बढ्छ । मानिसमा एक पटक संक्रमण भएपछि सो प्रजातिको भाइरसबाट जीवनभरलाई इम्युनिटी मिल्छ । तसर्थ चार प्रजातिको भाइरसले एक व्यक्तिमा चारपटक संक्रमण गर्न सक्छ ।

डेंगी लागेको २ देखि ७ दिनमा यसका लक्षणहरू देखापर्दछन् । उच्च ज्वरो प्रमुख लक्षण हो । टाउको दुख्ने, मांसपेशी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाक लाग्ने, ग्रन्थी सुन्निने, पेट दुख्ने, गिँजाबाट रगत आउने, छातीमा पानी जम्ने, छटपटी हुने आदि यसका लक्षण हुन् । रगत धेरै खेर गएमा कलेजो तथा अन्य अंगले काम नगरी हृदयाघात भई बिरामीको मृत्यु समेत हुन सक्छ । त्यसैले यस रोगको रोकथाम गर्नु अति आवश्यक छ । यसका लागि लामखुट्टेको प्रजनन रोकथाम गर्नुपर्छ । घरवरपर लामखुट्टेको बसोबास हुन नदिनुपर्दछ । यसको लागि फोहोरमैलाको आवश्यक व्यवस्थापन गरी वातावरण सफा राख्नुपर्दछ । कीटनाशक प्रयोग गरेको झुल प्रयोग गर्ने, घरको कुनाकाप्चा तथा लामखुट्ट बसोवास गर्ने स्थानमा कीटनाशक औषधी छर्कने, पानी जम्न नदिने, आफ्नो सुरक्षाको लागि रिपेलेन्टजस्तै लोसनहरूको प्रयोग गर्ने आदि काम गर्नुपर्छ ।  यो रोग फैलाउने लामखुट्टे बिहानदेखि बेलुका धेरै टोक्ने भएकाले होसियार हुनुपर्छ । डेंगीका लक्षण देखा पर्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्दछ । साथै, डेंगी प्रकोप नियन्त्रण गर्न स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सर्वसाधारण तथा आमजनतालाई डेंगीबाट बचाउन अति आवश्यक छ ।  

निष्कर्षमा डेंगीजस्ता विभिन्न महामारी तथा रोगको नियन्त्रणको लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति हुनु पर्दछ । स्वास्थ्य संस्था सेवाग्राहीको पहुँचमा हुनुपर्छ । औषधि, उपकरण, प्रविधि, प्रभावकारी स्वास्थ्य सेवा प्रणालीको विकास हुनु पर्दछ । आम नागरिकका लागि प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ । निःशुल्क औषधि बेलैमा उपलब्ध हुनु पर्ने, सो औषधि कति प्रकारको पाइन्छ सबै नागरिकलाई थाहा हुनु पर्ने तथा कमसेकम आवश्यक मापदण्ड अनुसार स्वास्थ्य संस्थाका भौतिक संरचनाहरू हुनु पर्दछ । यसो भएमा मात्र हाम्रो देशमा स्वास्थ्य संस्थाले आम नागरिकको स्वास्थ्यमा गहन भूमिका खेली डेंगी जस्ता विभिन्न महामारीहरूको नियन्त्रण भई स्वास्थ्य सेवा गुणस्तर हुनेछ । यसको लागि स्थानीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्न अति आवश्यक छ ।

लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro