ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

उद्यमशीलता विकासका आधार

तालीमले दिलाउँछ व्यावसायिक शीप

२०७९ असोज, १६  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found
author avatar मधुसूदन पौड्याल

हामीले विगत अंकमा औद्योगिक संस्कार निर्माणको प्रथम पाइला स्वरूप सामाजिक परिचालनको माध्यमबाट सम्भावित उद्यमीहरूको खोजतलास, पहिचान, छनोट र समूह  निर्माणको काम कसरी पूरा गर्ने भन्ने विषयमा चर्चा गरेका थियौं । प्रस्तुत अंकमा यसरी छनोट भएका सम्भावित उद्यमी वा भर्खरै व्यवसाय शुरू गर्न लागेका उद्यमीको लागि उद्यमशीलता विकास भनेको के हो यसमा के कस्ता शीपहरूको आवश्यकता पर्दछ र तिनको विकास कसरी गरिन्छ भन्ने विषयमा चर्चा गर्नेछौं ।

उद्यमशीलता विकास भनेको नयाँ व्यवसायी वा भर्खरै उद्यम व्यवसायमा लागेका व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालनमा आइपर्ने वा सामना गर्नु पर्ने यावत् पक्षको साधारण शीप र ज्ञानबाट परिपोषित गर्नु हो ।

उद्यमशीलता विकास भनेको नयाँ व्यवसायी वा भर्खरै उद्यम व्यवसायमा लागेका व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालनमा आइपर्ने वा सामना गर्नु पर्ने यावत् पक्षको साधारण शीप र ज्ञानबाट परिपोषित गर्नु हो । यसको फलस्वरूप व्यवसायीमा नयाँ विचार, नयाँ जोश, जाँगर र नवीनतम प्रयोग गर्ने क्षमताको सञ्चार हुन्छ । नयाँ कार्यशैली अपनाएर नयाँ वस्तु उत्पादन गर्ने वा सेवा सञ्चालन गर्ने क्षमताको विकास हुन्छ । व्यवसायीले परम्परागतभन्दा फरक तरिकाले सफलतापूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्न सक्दछन् । उनीहरूको व्यावसायिक मूल्य र मान्यता नै फरक हुन्छ । संक्षेपमा भन्नु पर्दा उनीहरूमा व्यवसायमूलक मनोभावना विकसित हुन्छ ।

उद्यमशीलता विकास गर्दा धेरै  प्रकारका शीप र ज्ञान सिकाउनु पर्ने हुन्छ । यस्ता शीपहरू अलग अलग पनि सिकाउन सकिन्छ तर लघु उद्यम विकास कार्यक्रमले अपनाएको मेड मोडेलले भने अन्तरराष्ट्रिय श्रम संगठनले तयार पारेका तालीम प्याकेज प्रयोग गरेको हो । यस्तो तालीम लिन उद्यमीमा विशेष शैक्षिक योग्यताको आवश्यकता पर्दैन । सामान्य साक्षरले पनि लिन सक्छन् । उद्यमको प्रारम्भदेखि २–३ वर्ष पछिसम्म क्रमैसँग सिकाइने प्याकेज हुन्– सम्भाव्य उद्यमी तालीम (टोपे), उद्यम व्यवसाय प्रारम्भ तालीम (टोसे), उद्यम व्यवसाय सुधार तालीम (टोई), उद्यम व्यवसाय विस्तार तालीम (टोजे) । यस्ता तालीम प्याकेजहरू सहज गुजारा गर्न, रोजगारी बढाउन, लघुउद्यमी सिर्जना गर्न र गरीबी निवारण गर्न तयार पारिएका हुन् । कुनै व्यक्तिलाई उद्यमीको रूपमा स्थापित गर्न यी कुरा ज्यादै उपयोगी छन् ।

उद्यमी विकासका लागि सिकाउनु पर्ने प्रमुख शीपहरूमा समूहमा काम गर्ने क्षमता (टीम वर्क), सञ्चार शीप, समस्या समाधान गर्ने शीप, नेतृत्व लिने शीप, रचनात्मक चिन्तन, उद्देश्यकेन्द्रित क्षमता, व्यावसायिक योजना बनाउने शीप, लगनशीलता तथा धैर्य अँगाल्ने क्षमता, व्यवस्थापन क्षमता, कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, व्यापारिक शीप, जोखिम उठाउने क्षमता आदि धेरै शीपहरू हासिल गर्नुपर्ने हुन्छ । यी मध्ये केही प्रमुख खुबीहरू संक्षेपमा चर्चा गरौं ।

समूहगत कार्य क्षमता भनेको व्यावसायिक संगठनको उद्देश्य सफलतापूर्वक हासिल गर्न उद्योगमा आबद्ध सहकर्मी सदस्यहरूसँग मिलेर काम गर्ने शैली हो । एउटा उद्यम व्यवसाय सञ्चालन गर्दा धेरै प्रकारका कामदार/कर्मचारीहरूको आवश्यकता पर्दछ र सबैले सुसंगठित रूपमा होस्टेमा हंैसे गरेर काम गर्नु पर्दछ । कामदार कर्मचारीको समूह पनि सामाजिक प्रणालीको सानो एकाइ भएकाले अलग अलग व्यक्तिले छुट्टाछुट्टै रूपमा गरेको कामको जोडभन्दा समूहगत रूपमा गरेको कामको परिमाण बढी हुन आउँछ ।

सञ्चार भनेको एक व्यक्तिसँग भएको सूचनाको जानकारी प्रष्ट र प्रभावकारी रूपमा अन्य अपेक्षित व्यक्तिहरूसम्म पुर्‍याउने खुबी र कला हो । सञ्चारका प्रकार, माध्यम, स्वरुप र तरिका फरक फरक हुन्छन् । जस्तो प्रत्यक्ष वा परोक्ष, मौखिक वा लिखित, टिभी रेडियो जस्तै एकोहोरो वा टेलिफोन, नेट, प्रत्यक्ष वार्ता जस्तै दोहोरो पनि हुन सक्छ । विभिन्न व्यक्तिको अरूसँग बोल्ने समूहलाई सम्बोधन गर्ने उद्घोषण नेट वा पावर प्वाइन्ट प्रस्तुत गर्ने, पत्राचार गर्ने, प्रतिवेदन पेश गर्ने आदि शैली र खुबी फरक हुन सक्छ । व्यक्तिको यस्तै सञ्चार खुबीले संगठनमा ठूलो प्रभाव पार्दछ । त्यसैले बोल्नेको पीठो बिक्ने नबोल्नेको चामल पनि नबिक्ने भनिन्छ ।

समस्या समाधान गर्नु भनेको व्यवसाय सञ्चालनमा अवरोध पुर्‍याउने कुनै समस्या पहिचान गर्नु, सम्भावित समाधानका उपाय निकाल्नु र तिनको कार्यान्वयन गर्नु हो । यो आफैमा एउटा महत्त्वपूर्ण व्यावसायिक शीप हो र यो गर्दा अन्य धेरै व्यावसायिक शीपहरू जस्तो अनुसन्धान, समूहगत कार्य, निर्णय प्रक्रिया, सञ्चार, प्राविधिक शीप आदि खुबीको पनि प्रयोग गर्नु पर्ने हुन्छ । समस्या समाधान गर्दा चाल्नु पर्ने कदममा क्रमशः समस्याको पहिचान गर्ने समाधानको उद्देश्य निर्धारण गर्ने, समस्याका कारण पत्ता लगाउने, समाधानका उपाय निकाल्ने, कार्ययोजना बनाउने र त्यसको कार्यान्वयन तथा अनुगमन गर्ने काम पर्दछन् ।

व्यावसायिक नेतृत्व प्रदान गर्ने भनेको सम्बन्धित उद्यम व्यवसायीमा आफ्ना सहकर्मी वा अनुचरको काम, व्यवहार र आचरणलाई प्रभाव पारी सही ढङ्गले व्यावसायिक उद्देश्य हासिल गर्न वा गराउन सक्ने खुबी हो । सफल नेतृत्वमा हुनुपर्ने व्यक्तिगत खुबीमा बुद्धिमत्ता, निष्पक्षता, सहानुभूति, नैतिकता, दूरदर्शिता, आवेग नियन्त्रण, कर्तव्य परायणता जस्ता गुण हुनुपर्दछ । त्यस्तै अपेक्षित व्यावसायिक खुबीमा पेशागत ज्ञान, कानुनी ज्ञान, सञ्चारशीप, संगठनात्मक क्षमता र मानवीय सम्बन्ध जस्ता शीप हुनु पर्छ । थोरै खुबीहरू मान्छेमा जन्मजात पनि हुन्छन् तर धेरै खुबी र शीप तालीमबाट आर्जन गर्न सकिन्छ ।

नेतृत्वमा हुनुपर्ने अर्को खुबी हो रचनात्मक चिन्तन । त्यो भनेको नयाँ सोच राख्नु, नयाँ कुराको अभ्यास र प्रयोग गर्नु र परम्परागत रूपमा भइरहेको भन्दा फरक कार्यशैली अपनाउनु हो । पुरातन सोच र शैलीले नयाँ पुस्ताको चाहना र खाँचो पूरा गर्न सक्दैन । रचनात्मक क्षमता भएका व्यक्तिले मात्र असफलतालाई सफलतामा रूपान्तरण गर्न सक्छन् ।

व्यवस्थापकीय शीप भनेको व्यावसायिक स्रोत साधनको विवेकपूर्ण परिचालन गरेर अपेक्षित उद्देश्य हासिल गर्न सक्ने खुबी हो । व्यवसायलाई लक्ष्यतर्फ गतिशील बनाउने कला र विज्ञान पनि हो । लुथर मुलिकले प्रतिपादन गरेको व्यवस्थापनका छ प्रमुख कार्य हुन् – कार्य योजना बनाउनु, जनशक्ति तथा स्रोत साधनलाई सुसंगठित गर्नु, सुपरिवेक्षण गर्नु, कामदार कर्मचारीलाई निर्देशित गर्नु, नियन्त्रण गर्नु र आफ्नो सुपरिवेक्षक वा सरोकारवाला एकाइलाई कार्य प्रगतिको प्रतिवेदन दिनु र बजेटिङ लगायत आर्थिक व्यवस्थापनको काम गर्नु । व्यवस्थापकीय शीपहरूमा समूहगत कार्य, समस्या समाधान, सञ्चार, उत्प्रेरणा नेतृत्व जस्ता काम पनि पर्दछन् । छोटकरीमा भन्नु पर्दा व्यवस्थापनलाई संगठनको व्यवस्थापक वा उद्यमीले कामदार कर्मचारीलाई काममा क्रियाशील बनाएर व्यावसायिक उद्देश्य हासिल गर्ने कला हो ।

आर्थिक व्यवस्थापन सम्बन्धी शीप भनेको सामान्य अर्थमा व्यवसाय सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने र उपयोग गर्ने विधि भन्ने बुझिन्छ । यो पनि  व्यवस्थापनकै विशिष्ट कार्य हो । यसका प्रमुख तीन चरण हुन्छन् । पहिलो चरण हो : आर्थिक स्रोत जुटाउनु । यो काम कि त स्वलगानीबाट हुन्छ कि त ऋण लगानीबाट । स्वलगानी भनेको उद्यमीले नगदको रूपमा गर्ने लगानी हो । शेयर होल्डरले शेयरको रूपमा गर्ने लगानी पनि हो । अर्को स्रोत हो ः ऋण लगानी । त्यो बैंक ऋण पनि हुन सक्छ वा डिबेञ्चर पनि हुन सक्छ । दोस्रो चरण हो : जुटेको स्रोतको विवेकपूर्ण प्रयोग । अर्थात् बजेटद्वारा निर्दिष्ट काममा खर्च गर्ने, लाभांश बाँड्ने वा पुनर्लगानी गर्ने आदि । तेस्रो चरण हो : आर्थिक नियन्त्रण तथा अनुशासन । यसमा विनियोजित रकम अनुशासित रूपले उपयुक्त प्रयोजनमा खर्च भए नभएको, खर्चको मितव्ययिता, कार्यदक्षता र औचित्य रहे/नरहेको, लेखा परीक्षण गर्नु पर्नेमा गरे/नगरेको, सम्बन्धित अधिकारीसमक्ष आर्थिक प्रतिवेदन पेश भए/नभएको जस्ता कुराहरू हेरिन्छन् । आर्थिक प्रशासनभित्र पर्ने मुख्य क्रियाकलापमा बजेट तयारी, आयव्यय निर्धारण, लेखापालन, वासलात तयारी, विभिन्न खातापाता, आर्थिक प्रतिवेदन तयारी आदि पर्दछन् ।

कर्मचारी व्यवस्थापनमा कामदार कर्मचारीको भर्नादेखि सेवा निवृत्तिसम्मका यावत् क्रियाकलाप पर्दछन् । उद्योग व्यवसायमा कामदार कर्मचारीको भूमिका र किसिमबारे पहिलेका अंकमा चर्चा भइसकेको छ । उनीहरूको जिम्मेवारी तोक्नु, उत्प्रेरणा जगाउनु, क्रियाशील बनाउनु, उपयोग गर्नु, वृत्तिविकासको अवसर दिनु र सन्तुष्ट राख्नु कर्मचारी व्यवस्थापनभित्रका कामहरू हुन् ।

उद्योग व्यवसायको सन्दर्भमा विक्रय भन्नाले  उत्पादित वस्तु वा सेवालाई उचित मूल्य लिएर क्रेता, उपभोक्ता, वितरक वा एजेण्टलाई हस्तान्तरण गर्ने क्रिया हो । मूल्यको भुक्तानी प्रायः नगदमा र कहिलेकाहीं जिन्सीमा पनि हुन सक्छ । व्यवसायको सफलता धेरै हदसम्म विक्रय–कलामा भर पर्छ । जे जस्तो तरिकाले वस्तु विक्री गरे पनि विक्री गर्नु पहिले व्यापक रूपमा बजार र उपभोक्ताको सर्वेक्षण तथा अनुसन्धान गर्नु पर्छ । उपभोक्ताको उमेर, लिङ्ग, समुदाय, पेशा, रुचि आदि कुराहरूको राम्रो जानकारी लिनुपर्छ । व्यापार गरिने वस्तु र सेवाको विषयमा राम्रो जानकारी हुनुपर्छ । विक्रेताको व्यक्तित्व र प्रस्तुति पनि ग्राहक अनुकूल हुनुपर्छ । राम्रो प्रतिभा र तार्किक क्षमता हुनुपर्छ । वस्तु वा सेवाले बजारमा प्रतिस्पर्धा गर्ने आधार मूल्य, गुणस्तर वा अन्य विशेषता प्रष्ट पार्नुपर्छ । ग्राहकको विचार बुझेर वस्तु वा सेवाको आवश्यक सुधार गर्दै जानुपर्छ । उद्यमी सधैं लगनशील र धैर्य रहनु पर्छ । फरक परिस्थितिको सामना गर्नु परे पनि अथवा विभिन्न प्रतिकूलता र बाधाअड्चन आइपरे पनि हिम्मतका साथ काममा लागिरहनु पर्छ । असफलता र विपत्तिमा पनि उद्यमीले आफ्नो मनोबल र उत्साह गिर्न दिनु हुँदैन, सधैँ उद्देश्यमुखी रहनु पर्छ । यही त हो व्यावसायिकताको विकास ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro